ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि भत्किएको भवनको भग्नावशेषबाट उद्धारकर्ताहरूले दुई अचेत व्यक्तिको उद्धार गरेका छन्।
अधिकारीका अनुसार अन्य चार जनाको खोजी कार्य शनिबार पनि जारी रहेको छ। एथेन्सका मेयर हारिस डुकासका अनुसार प्रारम्भिक अनुसन्धानले ठूलो मात्रामा ग्यास चुहावटका कारण विस्फोट भएको हुन सक्ने देखाएको छ। विस्फोटका कारण आसपासका भवनहरूमा पनि क्षति पुगेपछि ती भवन खाली गराइएको उनले बताए।
दमकल विभागका अनुसार एथेन्सको ऐतिहासिक क्षेत्र प्लाकामा, विश्वप्रसिद्ध प्राचीन स्मारक एक्रोपोलिसको फेदीमा रहेको दुईतले घरको भग्नावशेषबाट दोस्रो व्यक्तिलाई अचेत अवस्थामा फेला पारिएको हो।
यसअघि शनिबार बिहान एक अचेत महिलाको उद्धार गरी एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो। दमकल विभागका अनुसार लिसिक्राटुस स्ट्रिटस्थित छेउको भवनमा रहेका अन्य दुई महिला पनि घाइते भएका छन्।
खोज तथा उद्धार कार्यमा ३० जना अग्नि नियन्त्रक तथा तीनवटा तालिम प्राप्त उद्धार कुकुर परिचालन गरिएको छ। घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन्।
घटनास्थलबाट प्राप्त भिडियो फुटेजमा सडकभरि भग्नावशेष छरिएको तथा खसेका अवशेषका कारण पार्किङमा रहेका सवारीसाधनमा क्षति पुगेको देखिएको छ। स्थानीय बासिन्दा आन्ड्रियास मार्टजाक्लिसका अनुसार छेउको भवनबाट उद्धार गरिएका सबै व्यक्ति पर्यटक थिए।
उता, नजिकैको चर्चका पास्टरले विस्फोटबाट चर्चमा पनि क्षति पुगेकाले आइतबारको प्रार्थना सभा खुला स्थानमा आयोजना गरिने जानकारी दिएका छन्।
प्रकाशित: १० आश्विन २०८३ १८:०३ शनिबार

-600x400.jpg)

