अन्तर्राष्ट्रिय

बेलायतमा आपत्कालीन तयारी अभियानले बढायो त्रास

बेलायत सरकारले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नागरिकलाई ७२ घण्टासम्म पुग्ने अत्यावश्यक सामग्री घरमै भण्डारण गर्न आग्रह गरेपछि सर्वसाधारणमा चिन्ता र त्रास बढ्न थालेको छ। सरकारको चेतावनीसँगै दैनिक उपभोग्य तथा आपत्कालीन अवस्थामा आवश्यक पर्ने सामग्रीको खरिदसमेत ह्वात्तै बढेको छ।

बेलायती सरकारले अक्टोबर २२ मा ‘बी रेडी’ (तयार रहनुहोस्) नामक राष्ट्रिय आपत्कालीन तयारी अभियान सुरु गरेको थियो। अभियानमार्फत कुनै बाह्य सहयोग उपलब्ध नभए पनि कम्तीमा ७२ घण्टासम्म जीवनयापन गर्न पुग्ने खाद्यान्न, पानी, औषधि तथा अन्य आधारभूत सामग्री घरमा राख्न नागरिकलाई आग्रह गरिएको थियो।

बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरु गरिएको अभियानपछि बेलायतका रक्षामन्त्री वेस स्ट्रिटिङले सन् २०३० अघि नै शत्रु राष्ट्र वा शक्तिबाट आक्रमण हुन सक्ने चेतावनी दिएका थिए। त्यसपछि सम्भावित संकटको सामना गर्न सरकारले नागरिकलाई पूर्वतयारी गर्न आग्रह गरेको विषयले थप चर्चा पाएको छ।

तर, सरकारको आग्रहले सबै नागरिकलाई आश्वस्त पार्नुको साटो कतिपयमा आर्थिक र सामाजिक चिन्ता बढाएको छ। विशेषगरी न्यून आय भएका परिवार, एक्लै बस्ने ज्येष्ठ नागरिक तथा नियमित खाद्य सहायता लिनुपर्ने मानिसले आवश्यक सामग्री भण्डारण गर्न नसक्ने अवस्था रहेको बताएका छन्।

एक स्थानीय बासिन्दाका अनुसार सबै नागरिकसँग एकैपटक पर्याप्त खाद्यान्न तथा अत्यावश्यक सामग्री किनेर राख्ने आर्थिक क्षमता छैन। खाद्य सहायता प्रदान गर्ने संस्थासँग काम गर्दै आएका उनले हरेक साता धेरै परिवार र एक्लै बस्ने ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग गर्नुपर्ने अवस्था रहेको बताए। यस्तो अवस्थामा सरकारी आग्रह कार्यान्वयन गर्न सबैलाई सहज नहुने उनको भनाइ छ।

सरकारको घोषणाको प्रभाव खुद्रा बजारमा समेत देखिन थालेको छ। आपत्कालीन अवस्थामा उपयोगी हुने सामग्रीको बिक्री उल्लेख्य रूपमा बढेको खुद्रा विक्रेताहरूले जनाएका छन्। एक विक्रेताका अनुसार रेडियोको साप्ताहिक बिक्रीमा १६० प्रतिशत वृद्धि भएको छ।

त्यस्तै, अर्को खुद्रा विक्रेताले टर्चलाइटको बिक्री २८४ प्रतिशत, रेडियोको बिक्री ९२ प्रतिशत र पावर बैंकको बिक्री १०६ प्रतिशतले बढेको जनाएको छ। यी तथ्यांकले सरकारी अभियानपछि नागरिकमा आपत्कालीन तयारीप्रतिको चासो बढेको मात्र होइन, सम्भावित संकटप्रतिको मनोवैज्ञानिक दबाबसमेत बढेको संकेत गर्छन्।

यद्यपि, केही स्थानीय बासिन्दाले त्रसित भएर एकैपटक अत्यधिक सामग्री खरिद गर्नुभन्दा संयमित रूपमा आवश्यक वस्तुको जोहो गर्नुपर्ने सुझाव दिएका छन्। सामाजिक सञ्जालमा फैलिने सबै सूचना सत्य नहुने भन्दै उनीहरूले हल्लाका आधारमा आतंकित नहुन आग्रह गरेका छन्। आवश्यक सामग्री अहिले नै विस्तारै खरिद गरेर राख्दा अन्तिम समयमा हुने अनावश्यक भीड र अभावबाट बच्न सकिने उनीहरूको धारणा छ।

यसबीच सुपरमार्केटमा दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको भन्दै केही उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। एक स्थानीय बासिन्दाले केही दिनअघि वेटरोज सुपरमार्केट पुग्दा टुनामाछा राख्ने र्‍याक खाली देखिएको र बोतलको पानीसमेत उपलब्ध नभएको अनुभव सुनाए।

उनले आफू निकै चिन्तित भएको उल्लेख गर्दै अहिले नै त्यस्तो अभाव देखिनु अस्वाभाविक भएको बताए। रक्षामन्त्रीले समेत तीन वर्षपछि आउन सक्ने सम्भावित परिस्थितिका लागि तयारी गर्नुपर्ने बताएका बेला बजारमा देखिएको यस्तो अवस्थाले नागरिकको चिन्ता थप बढाएको उनको भनाइ छ।

सरकारले भने सम्भावित आपत्कालीन अवस्थाको पूर्वतयारीका रूपमा अभियान सञ्चालन गरेको हो। तर, सुरक्षा सतर्कताका लागि गरिएको सरकारी आग्रहले नागरिकमा कति त्रास सिर्जना गर्ने र त्यसको असर बजार तथा कमजोर आर्थिक अवस्थाका परिवारमा कस्तो पर्ने भन्ने प्रश्नसमेत उठ्न थालेको छ।

प्रकाशित: १४ कार्तिक २०८३ २१:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App