अरुणाचल प्रदेशकी एक भारतीय महिलालाई सांघाई विमानस्थलमा १८ घण्टासम्म नजरबन्द गरिएको घटनापछि भारत र चीनबिच तनाव चर्किएको छ।
बेलायतमा बस्दै आएकी प्रेमा वाङ्जम थोङ्दोक (जन्मस्थान अरुणाचल प्रदेश) लन्डनबाट जापान जाँदै गर्दा सांघाई पुडोङ विमानस्थलमा चिनियाँ अधिकारीहरूले उनको भारतीय राहदानी ‘अमान्य’ ठहर गर्दै हिरासतमा लिएका थिए।
चिनियाँ अधिकारीहरूले अरुणाचल प्रदेश ‘चीनको भाग’ भएको दाबी गर्दै उनलाई ‘चिनियाँ नागरिक’ ठानेका थिए।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले चिनियाँ दाबीको खण्डन गर्दै भनेका छन्, ‘हामीले अरुणाचल प्रदेशकी एक भारतीय नागरिकको ‘मनमानी नजरबन्द’ सम्बन्धी चिनियाँ विदेश मन्त्रालयको बयान हेरेका छौं। उनीसँग वैध राहदानी थियो र उनी सांघाई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जापान जाँदै थिइन्।’
उनले थपे, ‘अरुणाचल प्रदेश भारतको अभिन्न र अविभाज्य अंग हो, र यो पूर्ण रूपमा स्पष्ट छ। चिनियाँ पक्षले जतिसुकै अस्वीकार गरे पनि यो दृढ तथ्यलाई परिवर्तन गर्न सक्दैन।’
उनका अनुसार भारतीय पक्षले घटनाको दिन नै बेइजिङ र नयाँ दिल्लीमा चीनसँग कडा कूटनीतिक विरोध दर्ता गरेको थियो। सांघाईस्थित भारतीय कन्सुलेटले महिलालाई सहयोग गरेको र उनलाई अन्ततः जापान पठाइएको जनाएको छ।
जयसवालले भने, ‘हिरासतको मुद्दा चिनियाँ पक्षसँग जोडदार रूपमा उठाइएको छ। चिनियाँ अधिकारीहरूले अझै पनि आफ्नो कार्यको व्याख्या गर्न सकेका छैनन्, जसले अन्तर्राष्ट्रिय हवाई यात्रालाई नियन्त्रित गर्ने धेरै नियमहरूको उल्लङ्घन गर्दछ।’
उनले थपे, ‘चिनियाँ अधिकारीहरूको कार्यले उनीहरूको आफ्नै नियमहरू पनि उल्लङ्घन गर्दछ, जसले सबै देशका नागरिकहरूलाई २४ घण्टासम्म भिसा-मुक्त यात्रा गर्न अनुमति दिन्छ।’
यसअघि चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले घटनालाई अस्वीकार गर्दै भनेकी थिइन्, ‘झाङनान (अरुणाचल प्रदेश) चिनियाँ क्षेत्र हो। भारतले अवैध रूपमा बसोबास गरेको तथाकथित ‘अरुणाचल प्रदेश’ लाई चीनले कहिल्यै मान्यता दिएको छैन।’
उनले महिलालाई ‘हिरासतमा लिएको’ वा ‘दुर्व्यवहार गरेको’ आरोप अस्वीकार गरिन्। थोङ्दोकले घटनाबारे सामाजिक सञ्जालमा जानकारी गराउँदै यसलाई ‘भारतको सार्वभौमसत्तामाथिको अपमान’ भनेकी थिइन्। उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग न्यायको अपिल गरेकी थिइन्। एजेन्सीको सहयोगमा
प्रकाशित: १० मंसिर २०८२ ११:३६ बुधबार



