बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले रुसको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बताएका छन्।
हालै रुसभित्र भएका युक्रेनी ड्रोन आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रुसले बेलायतलाई ‘परिणाम भोग्नुपर्ने’ चेतावनी दिएको थियो।
रुसी चेतावनीबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री बर्नह्यामले बेलायत आफ्नो प्रतिबद्धताबाट पछि नहट्ने स्पष्ट पारे। ‘हामी अनुकूल मौसमका साथी होइनौं। युक्रेनलाई आवश्यक परेको हरेक समयमा बेलायत साथमा रहनेछ, र यो नीति परिवर्तन हुने छैन,’ उनले भने।
रुसको आरोप : बेलायतले युद्ध चर्काइरहेको छ
लन्डनस्थित रुसी दूतावासले बेलायतमाथि जानाजानी युक्रेन युद्धलाई थप उग्र बनाएको आरोप लगाएको छ।
दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘बेलायतले युक्रेन संकटलाई बढाउने बाटो रोजेको छ। यो द्वन्द्वमा उसको संलग्नता जति गहिरिँदै जान्छ, उसले त्यति नै ठूलो मूल्य चुकाउनुपर्नेछ।’
रुसी धम्कीबारे सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री बर्नह्यामले बेलायतले युक्रेनलाई केवल आफ्नो रक्षा गर्न आवश्यक सहयोग उपलब्ध गराइरहेको बताए।
उनले भने,‘युक्रेनले आफ्नो सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्न सकोस् भनेर बेलायतले सहयोग गरिरहेको छ। अघिल्ला प्रधानमन्त्रीहरूको पनि यही नीति थियो र मेरो सरकारको पनि यही प्रतिबद्धता हो।’
रुसले यसअघि पनि बेलायतले युक्रेनलाई उपलब्ध गराएका स्टर्म स्याडो लामो दूरीका मिसाइल र आधुनिक ड्रोन प्रविधिको विरोध गर्दै आएको छ।
पछिल्ला केही सातायता युक्रेनले रुसभित्र रहेका तेल प्रशोधन केन्द्र, इन्धन भण्डारण स्थल, रसद केन्द्र तथा अन्य रणनीतिक संरचनामाथि लगातार ड्रोन आक्रमण गर्दै आएको छ।
ती आक्रमणका कारण रुसको घरेलु इन्धन आपूर्ति प्रणाली र अर्थतन्त्रमा समेत असर परेको बताइएको छ।
बीबीसीसँग कुरा गरेका एक बेलायती सैन्य स्रोतले हालैका केही आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि गरेका छन्। युक्रेनी पक्षका अनुसार ती आक्रमणबाट ३५ अर्ब पाउण्डभन्दा बढी आर्थिक क्षति पुगेको अनुमान गरिएको छ।
बेलायतको सैन्य सहायता अझ बढ्दै
गत अप्रिलमा बेलायतको रक्षा मन्त्रालयले युक्रेनलाई हालसम्मकै सबैभन्दा ठूलो सैन्य सहायता प्याकेज उपलब्ध गराउने घोषणा गरेको थियो।
यसअन्तर्गत दशौं हजार ड्रोन, लामो दूरीका आक्रमण प्रणाली तथा अन्य अत्याधुनिक सैन्य सामग्री समावेश छन्।
गत महिनाको अन्त्यतिर बेलायती नौसेना अड्डाको भ्रमणका क्रममा प्रधानमन्त्री बर्नह्यामले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गर्दै ‘जति समय लागे पनि बेलायत युक्रेनको साथमा रहने’ प्रतिबद्धता व्यक्त गरेका थिए।
उनले बेलायतले आफ्नो नयाँ ‘स्टोन क्लोक’ प्रविधि पनि युक्रेनसँग साझेदारी गर्ने घोषणा गरेका थिए। उक्त प्रविधिले रुसी हवाई प्रतिरक्षा प्रणालीलाई इलेक्ट्रोनिक रूपमा अवरुद्ध गर्न सक्ने क्षमता राख्ने बताइएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार गत महिना रुसको आक्रमणबाट युक्रेनमा ४३७ जनाको मृत्यु भएको थियो, जुन मे २०२२ यताकै सबैभन्दा उच्च मासिक मृत्युदर हो।
यता रुसी विदेश मन्त्रालयका प्रवक्ताले गत साताभरि तीन बालबालिकासहित ६९ जनाको मृत्यु भएको जानकारी दिएका छन्।
यसैबीच, पछिल्लो रुसी आक्रमणमा १७ युक्रेनी नागरिकको ज्यान गएको छ। तीमध्ये १० जना उत्तर–पूर्वी युक्रेनको पेचेनिही गाउँमा दुईवटा मिसाइल प्रहारमा मारिएका हुन्। आक्रमणमा निजी घर, क्याफे र हुलाक कार्यालयमा क्षति पुगेको छ।
यस्तै, सुमीमा तीन, जापोरिझियामा दुई र खेरसनमा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
रुसका अनुसार पछिल्ला दुई दिनमा युक्रेनले सयौं ड्रोन मस्को क्षेत्रतर्फ प्रहार गरेको छ। रुसी अधिकारीका अनुसार पछिल्लो रात मात्र करिब ६२० ड्रोन मस्को आसपासका क्षेत्रमा प्रहार गरिएका थिए। रुसी हवाई प्रतिरक्षाले १८० भन्दा बढी ड्रोन खसालेको दाबी गरेको छ, तर केही व्यक्ति घाइते भएका छन्।
त्यसअघि शनिबार राति युक्रेनले करिब ८२२ ड्रोन रुसतर्फ प्रहार गरेको थियो, जसमध्ये ६०० ड्रोन मस्को क्षेत्रलाई लक्षित गरिएको थियो।
प्रकाशित: २ भाद्र २०८३ १८:४९ मंगलबार



