नेपाल-चीन सीमा क्षेत्रमा हिमनदी र चट्टान खसेपछि रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीको क्षण पर्यटकले भिडियोमा कैद गरेका छन्।
न्युयोर्क टाइम्सले प्रमाणीकरण गरेका ती भिडियोमा हिमपहिरो खस्रुअघिको अवस्था र त्यसपछि उपत्यकामा धुलो, चट्टान तथा पानीको ठुलो बहाव गएको दृश्य देखिन्छ।
बुधबार बिहान तिब्बततर्फको एक अवलोकनस्थलबाट पर्यटकको समूहले नेपालतर्फका हिउँले ढाकिएका हिमाल र हिमनदीको दृश्य खिचिरहेको थियो। २६ वर्षीय पर्यटक गाइड जिहा यितिएसहितको समूहले करिब १०:५० बजे अचानक ठुलो आवाज सुनेको थियो।
सुरुमा उनीहरूले आवाजलाई चट्याङ ठानेका थिए। तर केही समयपछि पहाडभित्र विस्फोट भएजस्तो ठुलो आवाज आएको र त्यसपछि हिमपहिरो खसेको जिहाले बताएका छन्। हिमपहिरोबाट उठेको धुलोले केही क्षणमै उनीहरूको दृश्य ढाकेको थियो।
जिहाका अनुसार धुलोको दृश्य ‘ठुलो धुवाँको बादल’ जस्तै देखिएको थियो। हिमपहिरोपछि पनि हिमनदीका साना टुक्रा पहाडको ठाडो भागबाट खसिरहेका थिए। अर्का पर्यटकले खिचेको भिडियोमा धुलो र भग्नावशेष तीव्र गतिमा उपत्यकातर्फ बगेको देखिन्छ।
हिमपहिरोपछि भोटेकोशी नदीमा ठुलो पानी, हिलो र भग्नावशेषको बहाव आएको थियो। बाढीले नेपाल र चीनतर्फ सडक, पुल र आसपासका क्षेत्रमा ठुलो क्षति पुर्याएको छ। यसबाट जनधनमा समेत ठुलो क्षति भएको छ। दुई देशमा ६३३ जनाको शव फेला परेको छ। बेपत्ता हुनेको संख्या दुई हजार ९८० रहेको छ।
पर्यटकको समूह घटनास्थलबाट तल झरेपछि सडक अवरुद्ध भएको देखेको थियो। त्यसपछि मात्रै उनीहरूले हिमपहिरो र त्यसपछि आएको बाढीबाट भएको विनाशबारे जानकारी पाएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोसहित विभिन्न स्रोतबाट प्राप्त दृश्यको प्रमाणीकरण गरी हिमपहिरोअघि र पछिको अवस्था तुलना गरिएको हो।
भिडियोले हिमनदी र चट्टान ठुलो परिमाणमा खस्दा त्यसपछि नदी उपत्यकातर्फ पानी, हिलो र भग्नावशेषको तीव्र बहाव गएको देखाउँछ।
प्रकाशित: १३ भाद्र २०८३ १४:३६ शनिबार



