भारतको बिहारमा पटनाको कदमकुआन प्रहरीले फैसल खान उर्फ खान सरविरुद्ध कारबाही अघि बढाएको छ।
कदमकुआन प्रहरी चौकीमा हत्या प्रयास र हतियार ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ। उनको कोचिङ सेन्टरमा ढुंगा प्रहार, तोडफोड र गोली प्रकरणपछि यो कदम चालिएको हो।
प्रहरीले खान सरविरुद्ध भारतीय दण्ड संहिताको धारा १०९ अन्तर्गत मुद्दा दर्ता गरेको छ। यो हत्या प्रयासको मुद्दा हो। यसमा १० वर्षसम्मको जेल सजाय र जरिवानाको व्यवस्था छ। यस धारा अन्तर्गत अग्रिम जमानत पनि उपलब्ध छैन।
गत मंगलबार राति मुसलपुर हाट क्षेत्रको खान ग्लोबल स्टडीज कोचिङ इन्स्टिच्युटमा ढुंगा प्रहार र तोडफोड भएको थियो। सुरुमा खान सर पक्षले प्रतिद्वन्द्वी कोचिङसँग जोडेर हमला भएको दाबी गरेका थिए। प्रहरीले ज्ञान बिन्दु कोचिङका निर्देशक रोशन आनन्दसहित तीन जनालाई पक्राउ गरी अदालतमा पेश गरेको थियो। उनीहरूलाई न्यायिक हिरासतमा राखिएको छ।
तर भिडियो सार्वजनिक भएपछि स्थिति बद्लियो। उक्त भिडियोमा खान सरका दुई अंगरक्षकले गोली चलाएको देखिन्छ। प्रहरीले उनीहरूलाई पक्राउ गरी जेल पठाएको छ। गार्डहरूले प्रहरीसमक्ष खान सरको निर्देशनअनुसार गोली चलाएको बयान दिएका छन्। उनीहरूले आत्मरक्षाको दाबी गरे पनि मुद्दा दर्ता भइसकेको छ।
भारतीय सञचारमाध्यमका अनुसार प्रहरीले खान सरलाई जुनसुकै बेला पक्राउ गर्न सक्ने अवस्था छ। उनीसँग सोधपुछ पनि भइसकेको छ। खान सरले सुरुमा गोली चलेको बताए पनि पछि बयान फेरेका छन्। उनले भनेका छन् कि झगडा भएकाले गार्डहरूले आत्मरक्षामा गोली चलाएका हुन्। उनका अनुसार प्रहरी आइपुग्न ढिलो हुने भएकाले त्यसो गरिएको हो। उनले अनुसन्धानमा सहयोग गर्ने बताएका छन्।
दैनिक भास्करका अनुसार इन्स्पेक्टर अनिल कुमारको बयानमा मुद्दा दर्ता भएको हो। प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज जाँच गर्दै छ र थप कारबाही अघि बढाएको छ। एक सुरक्षा गार्ड घाइते भएर अस्पतालमा उपचाररत छन्। विद्यार्थीहरूले विरोध प्रदर्शन समेत गरेका छन्। प्रहरीले पूर्ण अनुसन्धान जारी राखेको भनेको छ।
प्रकाशित: २२ जेष्ठ २०८३ १५:३५ शुक्रबार