दक्षिण कोरियामा एसके ग्रुपका अध्यक्ष चेय ताई-वनले सम्बन्धविच्छेदको मुद्दामा अदालतको फैसला विरुद्ध सर्वोच्चमा पुनरावेदन दिएका छन्।
यससँगै उनले लामो समयदेखि चलिरहेको कानुनी लडाइँमा केही समयका लागि राहत पाएका छन्। तर, यो कदमले उनलाई ९४४ अर्ब वन (करिब ६६८ मिलियन डलर) बराबरको नगद कसरी जुटाउने भन्ने नयाँ प्रश्न खडा गरिदिएको छ।
द कोरिया टाइम्सका अनुसार शुक्रबार राति अन्तिम समयमा दर्ता गरिएको यो पुनरावेदनले चेयलाई दैनिक १३ करोड वनका दरले लाग्ने ढिलो भुक्तानी ब्याजबाट जोगाएको छ। गत जुलाईमा सियोल उच्च अदालतले उनकी पूर्व पत्नी रोह सोह-योङलाई उक्त रकम सम्पत्ति विभाजन बापत तिर्न आदेश दिएको थियो। अब चेय सामु रकम जुटाउने तीन मुख्य विकल्प छन्।
पहिलो विकल्प, शेयर धितो राखेर ऋण लिने। चेय एसके इंकको सबैभन्दा ठूलो शेयरधनी हुन्। उनको १७.९ प्रतिशत हिस्सेदारीको मूल्य करिब ७.६ ट्रिलियन वन छ। यद्यपि, उनले आफ्नो २१ प्रतिशत शेयर पहिले नै धितो राखिसकेका छन्। त्यसैले, थप ऋण लिँदा कम्पनीको शेयर मूल्यमा गिरावट आए उनलाई थप आर्थिक दबाब पर्नेछ।
दोस्रो विकल्प, पूर्व पत्नी रोहसँग सम्झौता गर्ने। चेयले नगदको सट्टा नगद र केही शेयर दिएर रोहलाई मनाउन सक्छन्। तर, रोहले पूरै रकम नगदमै पाउनुपर्ने अडान लिइरहेकी छिन्। चेयले शेयरको मूल्य घट्दा हुने घाटामा क्षतिपूर्ति दिने आश्वासन दिए पनि रोहको मन परिवर्तन भएको छैन।
तेस्रो विकल्प, एसके इंकको आफ्नो हिस्सेदारीको केही हिस्सा बिक्री गर्ने। यदि चेयले शेयर बेच्नुपर्यो भने, त्यो शेयर कसले किन्छ भन्ने कुरा निकै संवेदनशील छ। यदि कार्यकर्ता कोष (एक्टिभिस्ट फन्ड) ले शेयर किन्यो भने कम्पनीको नियन्त्रण संरचनामा खतरा आउन सक्छ। त्यसैले उनी समूहलाई सहयोग गर्ने लगानीकर्ता वा वित्तीय संस्था खोज्ने प्रयासमा छन्।
यस विषयमा एक उद्योग अधिकारी भन्छन्, ‘आगामी फैसलाले एसके समूहमा गम्भीर व्यवस्थापन संकट निम्त्याउने सम्भावना छैन, किनकि एसके इंकको शेयर मूल्य विगत केही वर्षदेखि बढेको छ। यसले गर्दा चेयले पहिलेको तुलनामा धेरै कम वित्तीय बोझको सामना गर्नु परेको छ।’ एजेन्सी
प्रकाशित: १ भाद्र २०८३ २०:५३ सोमबार

-600x400.jpg)
