अन्तर्राष्ट्रिय

श्रीलंकामा पुरुषको पिसाबथैलीबाट निकालियो ३.१ किलोको ढुङ्गा

श्रीलंकाका चिकित्सकहरूले ५५ वर्षीय एक पुरुषको पिसाबथैलीबाट ३.१ किलोग्राम तौलको विशाल ढुङ्गा (ब्लाडर स्टोन) सफल शल्यक्रियामार्फत निकालेका छन्।

चिकित्सकहरूले यसलाई अहिलेसम्म शल्यक्रियाबाट निकालिएको सबैभन्दा ठूलो पिसाबथैलीको ढुङ्गा भएको बताएका छन्।

यो शल्यक्रिया गत हप्ता श्रीलंकाको पूर्वी शहर त्रिन्कोमालीस्थित अस्पतालमा सम्पन्न भएको हो।

बिरामीलाई सुरुमा स्ट्रोक भएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा चिकित्सकहरूले उनलाई पिसाब फेर्न कठिनाइ भइरहेको पत्ता लगाएपछि थप परीक्षण गर्दा पिसाबथैलीमा असामान्य रूपमा ठूलो ढुङ्गा रहेको पुष्टि भएको थियो।

शल्यक्रियाको क्रममा निकालिएको ढुङ्गाको तौल करिब ३.१ किलोग्राम रहेको छ, जुन पूर्ण अवधिको नवजात शिशुको तौल बराबर मानिन्छ।

यसको आकार पनि शुतुरमुर्गको अण्डाजत्तिकै ठूलो रहेको चिकित्सकहरूले बताएका छन्। उक्त ढुङ्गाको लम्बाइ करिब १७ सेन्टिमिटर रहेको जनाइएको छ।

शल्यक्रियाको नेतृत्व गरेका डा. प्रहलाहन बालकृष्णनले उपलब्ध अभिलेखका आधारमा यो शल्यक्रियामार्फत हटाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो पिसाबथैलीको ढुङ्गा भएको दाबी गरेका छन्।

उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था अहिले निकै राम्रो रहेको छ। यद्यपि स्ट्रोकलगायत अन्य स्वास्थ्य समस्याको उपचारका लागि उनी अझै अस्पतालमै उपचाररत छन्।

डा. बालकृष्णनका अनुसार उक्त ढुङ्गा बिरामीको पिसाबथैलीमा करिब पाँचदेखि १० वर्षसम्म विकसित हुँदै बसेको हुन सक्ने अनुमान गरिएको छ।

पिसाबथैलीको ढुङ्गा कसरी बन्छ?

चिकित्सकहरूका अनुसार पिसाबमा रहेका खनिज पदार्थहरू क्रिस्टलमा परिणत भई विस्तारै ठोस गाँठो बन्न थालेपछि पिसाबथैलीको ढुङ्गा निर्माण हुन्छ।

सामान्यतया पिसाबथैली पूर्ण रूपमा खाली नहुँदा बाँकी रहेको गाढा पिसाबबाट यस्ता क्रिस्टल बन्ने सम्भावना बढ्छ।

बालुवाको कणजत्रा साना ढुङ्गाहरू कहिलेकाहीँ आफैं पिसाबसँग बाहिर निस्कन सक्छन्। तर १ सेन्टिमिटरभन्दा ठूला ढुङ्गाले पिसाबको प्रवाह अवरुद्ध गर्न सक्ने भएकाले चिकित्सकीय उपचार आवश्यक पर्छ। ४ सेन्टिमिटरभन्दा ठूला पिसाबथैलीका ढुङ्गालाई ‘विशाल’ जेन्ट ब्लाडर स्टोन मानिन्छ।

पुरानो कीर्तिमानलाई उछिन्ने दाबी

गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार यसअघि सन् २००३ मा ब्राजिलका एक बिरामीबाट १.९ किलोग्राम तौल र १७.९ सेन्टिमिटर लम्बाइको पिसाबथैलीको ढुङ्गा निकालिएको थियो, जुन सबैभन्दा ठूलो रेकर्डका रूपमा उल्लेख गरिएको छ।

श्रीलंकामा हालै निकालिएको ३.१ किलोग्राम तौलको ढुङ्गाले उक्त रेकर्डलाई समेत उछिनेको भन्दै चिकित्सकहरूले नयाँ विश्व कीर्तिमान कायम भएको बताएका छन्।

प्रकाशित: २ भाद्र २०८३ १५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App