अन्तर्राष्ट्रिय

युक्रेनमाथि रूसको भिषण हवाई आक्रमण : एफ-१६ पाइलटको मृत्यु, जेलेन्स्कीले अमेरिका गुहारे

रूसले सयौं ड्रोन, क्रूज र ब्यालिस्टिक क्षेप्यास्त्रसहित गरेको हवाई आक्रमण रोक्ने क्रममा युक्रेनी एफ-१६ लडाकु विमान दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको छ। यो युद्धको चौथो वर्षमा मस्कोले रातको समयमा हवाई आक्रमण तीव्र बनाएको छ। 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पाइलट म्याक्सिम उस्टिमेन्कोलाई मरणोपरान्त ‘युक्रेनको हिरो’ उपाधि दिँदै साहसको प्रशंसा गरेका छन्। 

आक्रमणले देशभरका घर र पूर्वाधारमा क्षति पुगेको छ। रोयटर्सका अनुसार कम्तीमा १२ जना घाइते भएका छन्। युक्रेनको हवाई प्रतिरक्षालाई बलियो बनाउन जेलेन्स्कीले वासिङ्टन र पश्चिमी सहयोगीहरूसँग थप सहायता मागेका छन्। 

किभमा हवाई आक्रमणको साइरन बजेपछि परिवारहरू मेट्रो स्टेसनमा आश्रय लिन पुगे। किभ र पश्चिमी सहर ल्भिभमा मेसिनगनको गोली र विस्फोटको आवाज सुनिएको थियो। ल्भिभ क्षेत्रका गभर्नरले आक्रमणले महत्वपूर्ण पूर्वाधारलाई निशाना बनाएको बताए।

गत वर्षदेखि अमेरिकी एफ-१६ विमान सञ्चालन गर्न थालेको युक्रेनले हालसम्म तीनवटा विमान गुमाएको छ। युक्रेनी वायुसेनाले पाइलटले क्षतिग्रस्त विमानलाई बस्तीबाट टाढा उडाएको तर बाहिर निस्कन नभ्याएको भनेको छ।

वायुसेनाले टेलिग्राममा भनेको छ, ‘पाइलटले आफ्ना सबै हतियार प्रयोग गरेर सातवटा हवाई लक्ष्य खसाले। अन्तिम लक्ष्य खसाल्दा उनको विमान क्षतिग्रस्त भयो र उचाइ गुमायो।’

सैन्य विज्ञ रोमन स्वितानले यसअघि भनेका थिए, ‘एफ-१६ विमान ड्रोन आक्रमण रोक्नभन्दा उच्च गतिका लक्ष्यविरुद्ध प्रभावकारी हुन्छ।’ जेलेन्स्कीले आफ्नो रातको सम्बोधनमा भने, ‘उस्तिमेन्कोले २०१४ देखि युक्रेनको रक्षामा उडान मिसन गरेका थिए। उनले चार प्रकारका विमानमा निपुणता हासिल गरेर ठूलो योगदान दिए। यस्ता व्यक्ति गुमाउनु दुखद छ।’ 

युक्रेनी सेनाका अनुसार रूसले रातमा ४७७ ड्रोन र ६० मिसाइल प्रहार गरेको थियो। युक्रेनले २११ ड्रोन र ३८ मिसाइल नष्ट गर्‍यो, जबकि २२५ ड्रोन इलेक्ट्रोनिक युद्धका कारण हराए वा विस्फोटक बोकेका थिएनन्। 

जेलेन्स्कीले एक्समा लेखे, ‘जबसम्म मस्कोसँग ठूलो आक्रमण गर्ने क्षमता छ, ऊ रोकिने छैन।’ उनले गत साता रूसले ११४ क्षेप्यास्त्र, एक हजार २७० ड्रोन र एक हजार १०० ग्लाइड बम प्रहार गरेको बताए।

रूसको समाचार संस्था आरआईए नोवोस्तीले युक्रेनको लुहान्स्क क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको जनाएको छ। दुवै देशले नागरिकलाई निशाना नबनाउने बताएका छन्। 

थप सहयोगको आवश्यकता
युक्रेनले हालैका आक्रमणले वासिङ्टनबाट थप सहयोगको आवश्यकता देखाएको बताएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले प्याट्रियट मिसाइलका लागि गरेको अनुरोधमाथि विचार गरिरहेको बताएका छन्। 

जेलेन्स्कीले एक्समा थप लेखेका छन्, ‘यो युद्ध रोकिनुपर्छ। आक्रमणकारीमाथि दबाब र सुरक्षा आवश्यक छ। युक्रेनले हवाई रक्षालाई बलियो बनाउनुपर्छ, जसले जीवन जोगाउँछ।’ उनले युक्रेन अमेरिकी हवाई रक्षा प्रणाली किन्न तयार रहेको र यसका लागि संयुक्त राज्य, युरोप र साझेदारहरूको समर्थनमा निर्भर रहेको बताए। 

रूसले युक्रेनी सहरहरूमा ठूलो आक्रमण गरेको छ, जसले व्यापक क्षति र दर्जनौं नागरिकको मृत्यु भएको छ। पछिल्लो आक्रमणमा किभ, ल्भिभ, पोल्टाभा, माइकोलाइभ, निप्रोपेट्रोभ्स्क, चेरकासी र इभानो-फ्रान्किभ्स्क क्षेत्रमा विस्फोट सुनियो। चेरकासी क्षेत्रमा दुई बालबालिकासहित ११ जना घाइते भए। तीनवटा भवन र एक कलेजमा क्षति पुग्यो। इभानो-फ्रान्किभ्स्कमा एक महिला घाइते भइन्। उद्धारकर्ताहरूले चेरकासीमा जलेका र भत्किएका अपार्टमेन्टबाट बासिन्दालाई निकालेको उल्लेख गरेका छन्। एजेन्सी

प्रकाशित: १६ असार २०८२ १२:२५ सोमबार

#NagarikNews #NepaliNews