अमेरिकाका उपराष्ट्रपति जेडी भान्स भारतको पहिलो आधिकारिक भ्रमणका लागि नयाँदिल्लीको पालम एयरपोर्टमा सोमबार अवतरण गरेका छन्। उपराष्ट्रपति भान्सको चार दिने भ्रमण आजदेखि बिहीबारसम्म जारी रहने जनाइएको छ।
परिवारसँगै भारत भ्रमणमा पुगेका उपराष्ट्रपति भान्सलाई केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले विमानस्थलमा स्वागत गरेको भारतको विदेश मन्त्रालयले जानकारी दिएको छ।
उपराष्ट्रपति भान्स परिवारले आज अक्षरधाम मन्दिर भ्रमण गर्ने कार्यक्रम तय भएको मन्दिरकी प्रवक्ता राधिका शुक्लाले जानकारी दिए। उनले आज साँझ प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनकै निवासमा भेट्ने कार्यक्रम छ। भेटवार्तामा आर्थिक सहयोग, रक्षा सहयोग र द्विपक्षीय व्यापार सम्बन्ध लगायतका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले गत हप्ता मिडिया ब्रिफिङमा आफूहरूबीच विश्वव्यापी रणनीतिक साझेदारी रहेको उल्लेख गर्दै निस्सन्देह सबै सान्दर्भिक सवालहरूमा छलफल हुने र सम्बन्ध थप प्रगाढ हुने बताएका थिए।
नयाँदिल्ली भ्रमणपछि भान्स परिवारले भोलि (मंगलबार) जयपुर र बुधबार आगरा भ्रमण गर्ने र बिहीबार भारतबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ। एएनआई
प्रकाशित: ८ वैशाख २०८२ १३:५८ सोमबार