अन्तर्राष्ट्रिय

ट्रम्पका अगाडि नझुक्ने चीनको अडान, अमेरिकामाथि लगायो जवाफी १२५ प्रतिशत कर

चीनले शनिबारदेखि लागू हुने गरी अमेरिकाबाट आयात हुने सामानमा १२५ प्रतिशत कर लगाउने घोषणा गरेको छ। चीनको राज्य परिषद्को भन्सार कर आयोगले शुक्रबार यो निर्णय सार्वजनिक गरेको हो। यो कदम अमेरिकाले चिनियाँ सामानमा हालै लगाएको १४५ प्रतिशत करको जवाफका रूपमा आएको हो।

आयोगले अमेरिकाको नीतिलाई ‘अन्तर्राष्ट्रिय व्यापार नियमको उल्लंघन’ र ‘विश्व व्यापार व्यवस्थामाथिको आघात’ को रूपमा चित्रण गरेको छ। ‘अमेरिकाले लगाएको उच्च करले चिनियाँ बजारमा अमेरिकी सामानको मागलाई प्रभावित गर्नेछ, तर यसले दीर्घकालीन व्यापार सन्तुलनमा गम्भीर असर पार्दैन,’ आयोगले भनेको छ।

यदि अमेरिकाले चिनियाँ उत्पादनमा थप करवृद्धि गरेमा, ‘चीनले त्यसको कडा जवाफ दिने र आफ्नो हितको रक्षा गर्नेछ,’ आयोगले स्पष्ट पारेको छ। यद्यपि, चीनले व्यापार युद्धबाट कुनै पनि पक्षले लाभ नपाउने भन्दै वार्तामार्फत समाधान खोज्न सकिने संकेत गरेको छ।

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा ३४ प्रतिशत करवृद्धिको घोषणा गरेका थिए। जवाफमा चीनले पनि अमेरिकी सामानमा ३४ प्रतिशत कर लगायो। त्यसपछि ट्रम्पले बुधबार चिनियाँ आयातमा करलाई १२५ प्रतिशत पुर्‍याए। यसअघि नै अमेरिकाले चीनमाथि २० प्रतिशत कर लगाउँदै आएको थियो। सोहीकारण अब यो कर १४५ प्रतिशत पुगेको छ। 

बिहीबार चीनले पनि अमेरिकी सामानमा ८४ प्रतिशतबाट १२५ प्रतिशत करवृद्धि गरेको हो। ट्रम्पले अन्य देशमाथिको करलाई ९० दिनका लागि १० प्रतिशतमा झारे पनि चीनमाथिको कर भने यथावत राखेका छन्।

प्रकाशित: २९ चैत्र २०८१ १५:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App