विश्वभरि जनस्वास्थ्य समस्याका रुपमा रहेको नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्या नियन्त्रणका लागि विश्वव्यापी रुपमै पहिलो पटक राजनीतिक प्रतिबद्धता गरिएको छ । संयुक्त राष्ट्रसंघको १७औं महासभामा यस्तो प्रतिबद्धता गरिएको हो । महासभाले गत सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको चौथो उच्चस्तरीय बैठकको उपलब्धिका रुपमा यो प्रतिबद्धतालाई लिएको छ । उक्त बैठकमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य नियन्यन्त्तण र रोकथामका विषयमा गम्भीर छलफल भएको थियो ।
कोभिडपछि विश्वव्यापी रुपमा जनाइएको यो प्रतिबद्धताले भविष्यमा आइपर्ने अन्य कनिठाइलाई समेत सम्बोधन गर्ने अपेक्षा लिइएको राष्ट्रसंघले जनाएको छ । नसर्नेमा मुख, फोक्सो, कलेजो, मिर्गौला, बालबालिकामा हुने क्यान्सरसहित अन्य रोगहरुलाई समेटिएको छ । त्यसैगरी वातवरणीय प्रदूषण, हानिकारक रसायनको नियन्त्रण तथा सफा खानामा पनि राष्ट्रसंघले जोड दिएको छ । डिजिटल असर नियन्त्रणका लागि सामाजिक सञ्जालको अवधि र त्यसका सीमाहरुमा पनि नियन्त्रण गर्ने प्रतिबद्धतामा उल्लेख छ ।
नयाँ स्वरुपमा उत्पादन तथा बिक्री भइरहेका र जनस्वास्थ्यको हितमा नभएका ई–सिगरेट, ट्रान्सफ्याट (खानाभित्र रहेको हानिकारक चिल्लो पदार्थ) को नियन्त्रण, बालबालिकाले बढी प्रयोग गर्ने अस्वस्थकर खानाको विज्ञापनमासमेत नियन्त्रण गर्ने प्रतिबद्धता गरिएको छ । ‘नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्या नियन्त्रणका लागि सदस्य राष्ट्रहरुले आफ्ना नागरिकको स्वास्थ्य र जीवनका लागि बलियो लक्ष्य लिएका छन्’, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधाननोम घोब्रयासले भने ।
प्रतिबद्धताअनुसार सन् २०३० भित्र विभिन्न लक्ष्य हासिल गरिसक्नुपर्र्नेेछ । जसअनुसार कम्तीमा ८० प्रतिशत सदस्य राष्ट्रहरुले नसर्ने तथा मानसिक रोग नियन्त्रणका लागि नीति तथा ऐन निर्माण गरिसक्ने, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ८० प्रतिशत आधारभूत अस्पतालमा औषधि तथा उपकरणसहित प्राथमिक स्वास्थ्य केन्द्रमै नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी सेवा हुनुपर्ने, ६० प्रतिशत सदस्य राष्ट्रहरुले नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवाका लागि आवश्यक बजेट र नीतिगत व्यवस्था गरिसक्नुपर्ने र कम्तीमा ८० प्रतिशत सदस्य राष्ट्रहरुले राष्ट्रिय योजनामा नसर्ने रोग तथा मानसिक स्वास्थ्यका विषयमा नीति तथा योजना निर्माण गरिसक्नुपर्नेछ । त्यस्तै ८० प्रतिशत सदस्य राष्ट्रहरुले मानसिक स्वास्थ्य तथा नसर्ने रोगको अवस्थाबारे अनुसन्धान गर्नुपर्नेछ ।
महासभामामा नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्या नियन्त्रणका लागि पहिलो पटक राजनीतिक प्रतिबद्धता गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ‘दीगो विकास लक्ष्य, २०३० मा पुग्न यो एउटा भिन्न अवसर हो’, राष्ट्रसंघद्वारा जारी वक्तव्यमा उल्लेख छ । अहिले नसर्ने रोग र मानसिक स्वास्थ्य समस्या विश्वव्यापी चुनौती बनेको जक्तव्यमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघका अनुसार विभिन्न खालका नसर्ने रोग विश्वमा मानव मृत्युको मुख्य कारण बनेका छन् । नसर्ने रोगका कारण विश्वमा प्रतिवर्ष १८ करोड ८० लाख मानिसको अल्पआयुमै मृत्यु हुने गरेको छ । त्यस्तै मानसिक स्वास्थ्य समस्याका कारण विश्वका अर्बौ मानिस प्रभावित छन् । अस्वस्थ खाना, सुर्तीजन्य पदार्थ, मदिरा, निष्क्रिय जीवनशैली, वायु प्रदूषण जस्ता पक्षले पनि मानसिक स्वास्थ्यमा असर पर्छ । नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्याबाट विश्व समुदाय समुदाय प्रभावित छ ।
प्रकाशित: २ पुस २०८२ १९:१६ बुधबार



