स्वास्थ्य

सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही वर्षयता निरन्तर घट्दै गएको छ। अस्पतालमा उपचार सेवा विस्तार, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, निःशुल्क औषधि तथा परीक्षण, सङ्क्रमितको सक्रिय खोजपड्ताल र रोग सार्ने भुसुनाको निगरानी प्रभावकारी बन्दै जाँदा सङ्क्रमण घट्दै गएको हो।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दीपायलका कीट नियन्त्रण निरीक्षक हेमराज जोशीका अनुसार विगतमा कालाजारको उपचार धनगढीमा मात्रै उपलब्ध थियो। पछि त्यो सेवा महेन्द्रनगरसम्म विस्तार भयो। अहिले अधिकांश प्रादेशिक तथा जिल्ला अस्पतालमा परीक्षण र उपचारको सुविधा पुगेको छ। स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, आवश्यक औषधि, परीक्षण कीट तथा दक्ष जनशक्तिको व्यवस्थापनका साथै सङ्क्रमित भेटिएका गाउँमा सक्रिय खोज अभियान सञ्चालन गरिएकाले कालाजारका बिरामीको सङ्ख्या घट्दै गएको उनले बताए।

रोग सार्ने ‘फ्लेबोटोमस अर्जेन्टाइपिस’ नामक भुसुनाको नियमित अध्ययन र नियन्त्रणका कार्यक्रमसमेत प्रभावकारी रूपमा सञ्चालन हुँदै आएका कीट नियन्त्रण निरीक्षक जोशीले बताए। उनका अनुसार सुदूरपश्चिममा सन् २०२३ मा ६३, सन् २०२४ मा ४६, सन् २०२५ मा २६र सन् २०२६ को जुलाई ९ तारिखसम्म १३ जना कालाजारका बिरामी फेला परेका छन्।

राष्ट्रियस्तरमा भने सन् २०२३ मा २४९, सन् २०२४ मा ३१८, सन् २०२५ मा २४९ र सन् २०२६ को जुलाई ९ तारिखसम्म ११५ जना सङ्क्रमित पुष्टि भएका कीट नियन्त्रण निरीक्षक जोशीले जानकारी दिए। 'कालाजार ‘लिस्मानिया’ नामक परजीवीका कारण हुने किटजन्य सरुवा रोग हो। सङ्क्रमित भुसुनाले टोकेपछि परजीवी मानिसको शरीरमा प्रवेश गरी विभिन्न अङ्गमा असर पुर्‍याउँछ, यसको सबैभन्दा गम्भीर प्रकार भिसेरल लिस्मानियासिस (कालाज्वर) हो। जसले कलेजो, फियोलगायत शरीरका प्रमुख भित्री अङ्गमा असर पुर्‍याउँछ, समयमै उपचार नभए बिरामीको मृत्यु समेत हुन सक्छ,' उनले भने।

उनका अनुसार कटेनियस लिस्मानियासिस (छालाको कालाज्वर) ले छालामा घाउ र दाग बनाउँछ भने ‘म्युकोकुटेनियस लिस्मानियासिस’ले नाक, मुख र घाँटीभित्रको म्युकस झिल्लीमा असर पुर्‍याइ अङ्गको बनावटसमेत बिगार्न सक्छ। ‘पोस्ट कालाजार डर्मल लिस्मानियासिस’ भने कालाजार निको भएपछि छालामा देखिने दाग वा बिमिरा भन्दै कीट नियन्त्रण निरीक्षक जोशीले यसले सङ्क्रमण फैलाउन भूमिका खेल्ने भएको आवश्यक सचेतना अपनाउनुपर्नेमा जोड दिए।

कालाजारको सङ्क्रमण भएमा लामो समयसम्म लगातार ज्वरो आउने, तौल घट्दै जाने, शरीर कमजोर हुने, रगतको कमी देखिने, कलेजो र प्लीहा ठूलो हुने, छालामा घाउ वा दाग देखिने तथा नाक वा मुखभित्र घाउ हुनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउनु पर्दछ।  समयमै उपचार गरे कालाजार पूर्ण रूपमा निको हुने बताउँदै उनले बेवास्ता गर्दा यसले ज्यानसमेत जानसक्ने भएकाले लक्षण देखिएमा तत्काल उपचार गराउन सबैलाई आग्रह गरे।

स्वास्थ्य निर्देशनालयका अनुसार कालाजारबाट बच्न भुसुनाको टोकाइबाट जोगिनु सबैभन्दा प्रभावकारी उपाय हो। झुल प्रयोग गर्ने, शरीर ढाक्ने लुगा लगाउने, घर वरिपरिका झाडी सफा गर्ने, भित्ताका चिरा पुरेर भुसुना बस्ने स्थान नष्ट गर्ने तथा आवश्यक परे कीटनाशक औषधि छर्कने उपाय अपनाउनुपर्ने कीट नियन्त्रण निरीक्षक जोशीले सुझाव दिए।

उनका अनुसार अहिले वर्षायामको सुरुआत भएकाले बिरामीको सङ्ख्या कम देखिए पनि वर्षा र त्यसपछिको मौसममा सङ्क्रमण बढ्ने सम्भावना रहन्छ। विशेषगरी जनवरीदेखि अक्टोबरसम्म कालाजारका बिरामी बढी देखिने गरेका छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा गरिएको अध्ययनले सुदूरपश्चिमका नौ जिल्लाका ८८ स्थानीय तहमध्ये करिब आधा क्षेत्रमा कालाजार सार्ने भुसुना फेला परेको देखाएका कीट नियन्त्रण निरीक्षक जोशीले जानकारी दिए।

सन् २०२५ मा प्रदेशमा सबैभन्दा बढी कैलालीमा ११ जना र त्यसपछि कञ्चनपुरमा कालाजारका बिरामी भेटिएका थिए। हाल जिल्ला अस्पतालमा कालाजारको परीक्षण, औषधि र उपचार निःशुल्क उपलब्ध छ। आवश्यक औषधि र परीक्षण किट डब्लुएचओको सहयोगमा उपलब्ध गराइँदै आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

नेपाल सरकारले सन् २०२६ भित्र ‘भिसेरल लिस्मानियासिस’लाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा उन्मूलन गर्ने लक्ष्य लिएर निगरानी, उपचार र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउँदै आएको छ।

प्रकाशित: २७ असार २०८३ १५:१७ शनिबार