स्वास्थ्य

पित्तनली क्यान्सरका कारण डा. प्रकाशराज न्यौपानेको निधन

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ (सर्जिकल अन्कोलोजिस्ट) डा. प्रकाशराज न्यौपानेको निधन भएको छ। ६४ वर्षीय न्यौपानेको शुक्रबार बिहान ६ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचारका क्रममा निधन भएको हो।

उपचारमा संलग्न चिकित्सक डा. अरुण शाहीका अनुसार उनको निधनले क्यान्सर विशेषज्ञ समुदायलाई गहिरो शोकमा डुबाएको छ। ‘उहाँको मृत्युले हामी सबै स्तब्ध भएका छौं,’ उनले बताए।

डा. न्यौपाने  एक वर्षदेखि पित्तनलीको क्यान्सर (कोलान्जियोकार्सिनोमा)  बाट पीडित थिए। गत वर्ष पेटसम्बन्धी समस्या देखिएपछि पाटन अस्पतालमा परीक्षण गर्दा सुरुमा रोग पहिचान भएको थियो। भिडियो एक्स–रे पछि कलेजोमा डल्ला देखिएको र त्यसपछि एमआरआई मार्फत क्यान्सरको पुष्टि भएको चिकित्सकहरूले बताएका छन्।

रोग पहिचान भएपछि उनले चीन र भारतमा समेत उपचार गराएका थिए। पछिल्लो दुई महिनादेखि भने उनी पाटनमै उपचाररत थिए। चिकित्सकका अनुसार क्यान्सर चौथो चरणमा पुगेपछि मात्र पहिचान भएकाले उपचारपछि निको हुने सम्भावना कम देखिएकाे थियो।

डा. न्यौपाने अनुभवी सर्जिकल अन्कोलोजिस्ट थिए। उनले पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मिर्गौला तथा छालासम्बन्धी क्यान्सरका थुप्रै जटिल शल्यक्रिया गरेका थिए।  उनी सर्जिकल अन्कोलोजी सोसाइटीका अध्यक्षसमेत रहेका थिए। साथै नेपाल क्यान्सर रिलिफ सोसाइटीको केन्द्रीय कार्यसमितिमा पनि आबद्ध थिए।

यसअघि उनले भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए। पछिल्लो समय उनी बी एण्ड बी अस्पताल, ग्वार्को (ललितपुर) र भक्तपुरस्थित क्यान्सर सेन्टरमा कार्यरत थिए।

उनको निधनले नेपालको क्यान्सर उपचार क्षेत्रमा अपूरणीय क्षति पुगेको स्वास्थ्य क्षेत्रका जानकारहरूले बताएका छन्।  

प्रकाशित: २० चैत्र २०८२ १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App