नेपालीमा एन्जाइटी र डिप्रेशनको रोग बढी देखिएको छ । नेपाल स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार नेपालमा यी दुई रोगहरु बढी देखिएको हो ।
सन् २०२२ को तथ्याकं अनुसार १५ देखि ४९ वर्षको उमेर समुहमा यो रोग बढी देखिएको हो । यो उमेर समुहका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषमा एन्जाइटी छ । यो उमेर समुहका ५ प्रतिशत महिला २ प्रतिशत पुरुषमा डिप्रेशन सम्वन्धी मानसिक रोग देखिएको छ ।
इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा नसर्ने तथा मानसिक रोग शाखाको आयोजनामा शुक्रबार भएको कार्यक्रममा मानसिक रोग बिशेषज्ञ डा.वासुदेव कार्कीले यी दुई रोगले नेपाली समाजमा मुख्य स्थान लिएको दाबी गरे । यो समूहमा देखिएको एन्जाइटी र डिप्रेशन सबै बाहिर आउन नसकेको मानसिक अस्पताल पाटनका मानसिक रोग बिशेषज्ञ डा. कार्कीको भनाइ छ । उनका अनुसार नेपाली समाजमा कायम मानसिक रोगप्रतिको नकारात्मक हेराइ, बुझाइ र वेवास्ताको कारण सबैको पहिचान हुन सकेको छैन । यी दुई रोगको कारण हरेक व्यक्ति नियमित जीवनमा निस्कृय हुने र कडा डिप्रेशनको शिकार हुने गरेका छन्।
कडा डिप्रेशनका कारण हुने आत्महत्याको दर पनि पछिल्लो समय बढी देखिएकोले स्थानीय तहमै यो उपचारको लागि शुक्रबार इपिडिमोलोजी तथा नसर्ने रोग शाखाले देशभरका नागरिकको सहभागितामा भर्चुअल सम्मेलन सुरु गरेको छ । सम्मेलनमा यी दुई रोगले समाजमा समस्या निम्ताएको हुनाले यसको स्थानीय तहमै पहिचान हुने गरी भर्चुअल माध्यमवाटै यो रोग थाहा पाउने गरी प्रस्तुति गरिएको छ । लामो समयदेखि केही होला कि भन्ने डर मनमा बसिरहने, असुरक्षित महसुस गर्ने र एक्कासी ढुकढुकी बढ्ने गर्छ ।
डिप्रेशनमा बिरामीमा उदाशिन भावना आउने, नियमित काम गर्न नसक्नु, जीवन वेकार लाग्नु र कुनै पनि कार्यप्रति चासो नहुनु, पहिला मन परेका कुरा मन नपर्नु, नैराश्य उत्पन्न हुनु, आफ्नै जीवन भार जस्तो अनुभूति हुनु, ध्यान केन्द्रित गर्न नसक्नु, निर्णय लिन सक्दैन जस्तो लाग्नु, निन्द्रा धेरै लाग्ने या निन्द्रा नै नलाग्ने थकान महसुस हुनु, कारण विना पेट या टाउको दुख्नु आदि हुन ।
यी रोगको उपचार नेपाल सरकारको नीति र १६ औं योजनामा समेत स्थानीय तहमै हुने गरी व्यवस्था गरेपनि बिरामीहरु उपचारमा नजाने कारण स्थानीय अस्पतालहरु पनि सेवामा निस्कृय बनेकोले सेवालाई सक्रिय बनाउनु पर्ने गरी अवको व्यवस्थापन अघि बढेको नसर्ने रोग तथा मानसिक रोग शाखाकी प्रमुख डा. पोमावती थापा बताउँछिन ।
शुक्रबार भएको भर्चुअल सम्मेलनमा आम नागरिकको सहभागिता सहित रोगको लक्षण र समयमै उपचार नागरिक तहमै कसरी गर्ने भन्ने बिषयमा चिकित्सकहरुले अभिमुखीकरण प्रस्तुति दिएका छन्। यो अभियानलाई फागुन महिनासम्म जारी राख्ने शाखाले जनाएको छ ।
शााखाका अनुसार पाँच प्रकारका मानसिक रोगको उपचार निशुल्क हुने गरी १६ औं योजनामा व्यवस्था गरिएको छ । जनस्वास्थ्य नीति २०७७, नेपालको संविधान २०७२ सवैले मानसिक रोगलाई आधारभुत स्वास्थ्य सेवाभित्र समावेश गरी सुनिश्चत गरेकोले यो सेवा प्रवाह आधारभुत अस्पताल तहमै हुनु पर्ने व्यवस्था छ । जस अनुसार छारेरोग, साइकोसिस, एन्जाइटी, डिप्रेशन र बालबालिकामा हुने कन्भरजन डिस्अर्डरको उपचार औषधी सहित निःशुल्क हुने व्यवस्था छ ।
प्रकाशित: १८ पुस २०८२ १७:२० शुक्रबार



