स्वास्थ्य

नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो

नेपालगञ्ज आसपासका क्षेत्रका बिरामीका लागि आवश्यक मात्रमा रगतको अभाव देखिएको छ।

त्यस क्षेत्रमा दैनिक ७० देखि १०० पिन्ट रगतको माग भए पनि ६० देखि ७० पिन्ट मात्र वितरण भइरहेको लुम्बिनी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए।

उनका अनुसार नेपालगञ्जबाहेक कोहलपुर र खजुरा क्षेत्रमा सञ्चालित ४२ अस्पतालमा चिकित्सकको सिफारिसमा बिरामीलाई सुरक्षित रगत उपलब्ध गराइदै आएको छ। हाल नेपालगञ्जमा ३१, कोहलपुरमा नौ र खजुरामा दुई अस्पताल छन्।

बाँकेका विभिन्न अस्पतालमा बिरामीका चाप बढ्दै जाँदा रगतको माग पनि बढी रहेको बताउँदै प्रमुख रेग्मीले लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशका अस्पतालका बिरामीका लागि पनि रगतको माग रहेको उल्लेख गरे।

उनले भने, “‘ब्लड डोनेसन’ कम भएको छ यसले हामीलाई थेग्न नसक्ने अवस्था आएको छ।”

लुम्बिनी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जका अनुसार नेपालगञ्जमा १०१ पिन्ट, कोहलपुरमा ६२ पिन्ट र खजुरामा १७ पिन्ट रगत मौज्दात छ।

प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, नेपालगञ्जबाट आर्थिक वर्ष २०८२८३ मा २४ हजार ५२६ पिन्ट रगत वितरण गरिएको छ। बाँके लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी उपचारका लागि यहाँस्थित विभिन्न अस्पताल आउने भएकाले पनि जिल्लामा सुरक्षित, गुणस्तरीय र पर्याप्त रक्तसञ्चार सेवाको आवश्यकता बर्सेनि बढ्दै गएको रेग्मीले बताए।

केन्द्रका तर्फबाट विभिन्न सङ्घसंस्था र व्यक्तिलाई रक्तदान बढाउन आग्रह गर्दै उनले त्यस्ता संस्थाले कार्यतालिका बनाएर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए।

हाल नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले जिल्लाका तीन स्थानबाट रक्तसञ्चार सेवा सञ्चालन गरिरहेको छ।

नेपालगञ्जस्थित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालस्थित रक्तसञ्चार सेवा एकाइ तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरास्थित रक्तसञ्चार सेवा एकाइमार्फत नियमित रूपमा रक्तसञ्चार सेवा प्रदान गर्दै आएको छ।

स्वास्थ्य सेवा विस्तारसँगै रक्तदानप्रति नागरिकको सहभागिता बढाउन र आवश्यक समयमा पर्याप्त रगतको उपलब्धता सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटी बाँकेले विभिन्न सचेतनामूलक तथा रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

प्रकाशित: १४ श्रावण २०८३ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App