स्वास्थ्य

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड भ्याक्सिन समूहबीच २० वर्षे सहकार्यको उत्सव

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड विश्वविद्यालय स्थिति अक्सफोर्ड भ्याक्सिन ग्रुपले बुधबार आपसी सहकार्यको २० वर्षे उत्सव मनाएका छन्।  

बुधबार राजधानीमा विश्वविद्यालयको भ्याक्सिन समूह, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि तथा विभिन्न राष्ट्रका प्रतिनिधि साथै नेपालका विशिष्ट व्यक्तिबीच यो उत्सव मनाइएको हो ।  

उत्सवमा दुई दशकको खोप सम्बन्धी वैज्ञानिक अनुसन्धान तथा क्षमता अभिवृद्धिमा भएको साझेदारी, सामुदायिक संलग्नता र नेपाल तथा विश्व स्वास्थ्यमा पुर्‍याएको योगदानलाई सम्मान गरिएको छ ।  

उट्घाटन समारोहलाई सम्बोधन गर्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्राध्यपक डा. पवनकुमार शर्माले यो २० वर्षे सहकार्य बाल स्वास्थ्य तथा खोपका लागि कोषेढुङ्गा सावित भएको बताए । यो अवसरलाई दुवै पक्षले पुन: सहकार्य गर्ने भन्ने कुराले उत्साहित रहेको बताए ।  

सोही क्रममा राष्ट्रिय खोप सल्लाहाकार समितिका सदस्य रमेशकान्त अधिकारीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले खोपको क्षेत्रमा गरेको अनुसन्धानले नेपालको राष्ट्रिय खोप नीति तथा कार्यक्रममा योगदान पुगेको बताए ।  

‘हाम्रो देशका बालबालिकाको लागि खोप कार्यक्रमको लागि हाम्रै तथ्याकंको आधारमा निर्णय गर्न सक्ने भएका छौ’ उनले भने । अक्सफोर्ड भ्याक्सिन र पाटन स्वास्थ्य विज्ञानबीच सहकार्यको यात्रा निरन्तर रहोस भन्ने शुभकामना व्यक्त गरे ।  

सोही क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले अक्सफोर्ड भ्याक्सिन ग्रुप र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीचको सहकार्यले नेपालको बाल स्वास्थ्य तथा बालखोप प्रदान गर्न विशेष योगदान गरेको भन्दै प्रशंसा गरिन ।  

सो क्रममा मन्त्री गौतमले सहकार्यको पहल गर्ने तत्कालिन बालविभाग प्रमुख डा. निलम अधिकारीलगायत सम्पूर्ण टिमलाई स्मरण गर्दै बधाइ दिइन ।  

अक्सफोर्ड भ्याक्सिन समूहका निर्देशक डा. प्राध्यपक डा. एन्ड्रयुले २० वर्षे र ओटागो विश्वविद्यालयका प्राध्यपक डा. डेभिड कर्डकले विचार प्रस्तुत गरे । विश्व स्वास्थ्य संगठनका खोप तथा जैविक विभागकी निर्देशक डा. केट ओ’ब्रायनले भिडियो सन्देश मार्फत खोप अनुसन्धान सहकार्यको प्रशंसा गरिन ।  

सोही क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीवावु महर्जनले पाटन अस्पतालले अक्सफोर्ड भ्याक्सिन ग्रुपसँगको सहकार्यको पहिलो लाभ ललितपुर महानगरापलिकाका नागरिकले पाएको भन्दै प्रशंसा गरे । प्रतिष्ठानसँग अन्य रोगहरुको उपचार तथा निवारणको  लागि महानगरले सहकार्य गरिरहेको र आगामी दिनमा पनि गर्ने बताए ।  

खोप ग्रुपसँगको सहकार्य प्रतिष्ठानले सन् २००५ मा देखि सुरु गरेको थियो । यो अवधिमा बालबालिकामा देखिने संक्रामक रोगहरु, विशेष गरी खोपबाट रोक्न सकिने रोगमा केन्द्रित भई विभिन्न परियोजनाको सफलतापूर्वक सम्पन्न भएको, सबै अनुसन्धान नेपाल स्वास्थ्य अनुसन्धान परिषदसँग सहकार्य स्वीकृत गरी स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखा, खोप शाखाको समन्वयमा सञ्चालन भएको प्रतिषठानकी डा. सिर्जना श्रेष्ठले जानकारी दिइन ।  

अनुसन्धानबाट प्राप्त निश्कर्ष सरोकारवाला निकायहरुसँग साझा गर्दै आएको निगरानी अध्ययनले निमोनियाँ, मेनिन्जाइटिस, टाइफाइड जस्ता रोगहरुको भाग बुझ्न सफल भएको थियो ।  

त्यसैगरी निगरानी अध्ययनले निमोनियाँ, मेनिन्जाइटिस, टाइफाइड जस्ता रोगहरुको भार बुझन् सहयोग पुर्‍याएका थिए । निमोकोकल, टाइफाइड, एचआइवी खोप सम्बन्धी तालिका, प्रभावकारिता र प्रभाव अध्ययनले नेपालमा नयाँ खोप सुरु गर्ने नीति निर्माणमा प्रत्यक्ष सहयोग पुर्‍याएका छन ।  

 

प्रकाशित: १९ कार्तिक २०८२ १८:०९ बुधबार