स्वास्थ्य

चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचारमा संलग्न सबै सरकारी चिकित्सकलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सङ्घीय अस्पताल तथा प्रतिष्ठानलाई आज पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको रिपोर्टमा चिकित्सकको विवरण खुलाउन भनेको छ।

निर्देशनअनुसार आवश्यकताअनुसारको रेडियोलोजी, प्रयोगशाला र अन्य परीक्षणमा सिफारिस गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर तथा सही छाप बिरामीको रिपोर्टमा खुलाउनपर्ने छ।

निर्देशनले बिरामीको उपचार तथा पुन:परीक्षणमा सहजता ल्याउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए। उनले भने, ‘हाल चिकित्सकीय विवरण चिकित्सकको सिफारिस (पेस्क्रिप्सन)मा पूरा नहुँदा बिरामीको उपचार तथा त्यस क्रममा भएका खराबी पहिचानमा समेत समस्या परेको छ। अब चिकित्सकीय विवरण अनिवार्य गरिँदा त्यसले चिकित्सकलाई थप जिम्मेवार र जवाफदेही बनाउन समेत मद्दत मिल्ने विश्वास गरिएको छ।’

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीहरूलाई प्रभावकारी सेवा दिनका लागि उपचारात्मक सेवा सुधारमा जोड दिएका छन्। यो निर्देशनले यसमा योगदान पुग्ने उनको निजी सचिवालयले जनाएको छ। रासस

प्रकाशित: १७ वैशाख २०८२ १२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App