राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको करिब डेढ महिना बितिसक्दा पनि चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिपिएच, बिफार्मलगायत) को एकीकृत प्रवेश परीक्षाको आवेदन खुल्न सकेको छैन। यसले चिकित्सा शिक्षा अध्ययनको तयारीमा रहेका हजारौं विद्यार्थीलाई अन्योलमा पारेको छ भने शैक्षिक क्यालेन्डर समेत प्रभावित हुने निश्चित बनेको छ।
विभिन्न विश्वविद्यालयहरूले विभिन्न संकायमा स्नातक तहको प्रवेश परीक्षा लिई भर्ना प्रक्रियासमेत अगाडि बढाइसकेको अवस्थामा मेडिकलतर्फका विद्यार्थीहरूको भर्नाका लागि हुने एकीकृत प्रवेश परीक्षा अझै सुरु हुन सकेको छैन।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्वीकृत गरेको शैक्षिक क्यालेन्डरअनुसार साउनको सुरुतिर नै प्रवेश परीक्षाको सूचना प्रकाशित गरी आवेदन प्रक्रिया अघि बढिसकेको हुनुपर्थ्याे तर निर्धारित समयसीमाभित्र कुनै प्रक्रिया सुरु हुन नसक्दा आयोगको कार्यसम्पादन क्षमतामाथि प्रश्न उठेको छ।
आयोगका अधिकारीहरूका अनुसार लामो समययता आयोगमा आवश्यक पदाधिकारी रिक्त रहनु र निर्देशकसहितका पदमा नियुक्ति प्रक्रियामा ढिलाइ हुनु नै प्रवेश परीक्षाको प्रक्रिया अघि बढ्न नसक्नुको प्रमुख कारण हो। निर्णय गर्ने निकाय पूर्ण रूपमा सक्रिय हुन नसक्दा परीक्षा तालिका, आवेदन र भर्नासम्बन्धी निर्णयहरू अघि बढ्न सकेका छैनन्। आयोगको योजना तथा प्राज्ञिक उन्नयन निर्देशनालयका पूर्वनिर्देशक प्राध्यापक डा. रमेशप्रसाद आचार्यका अनुसार चिकित्सा शिक्षाजस्तो संवेदनशील क्षेत्रमा शैक्षिक क्यालेन्डरको पालना अत्यन्त महत्त्वपूर्ण मानिन्छ। उनले प्रवेश परीक्षामा भएको ढिलाइले केवल परीक्षा मात्र नभई भर्ना, म्याचिङ, कक्षा सञ्चालन, इन्टर्नसिप र आगामी शैक्षिक सत्रसम्म प्रभाव पार्ने सम्भावना देखिएको बताए।
‘हालको सरकारद्वारा खारेज गरिएका १६ सय पदमा अझै धेरै नियुक्ति हुन बाँकी छ। त्यसैमध्ये आयोगका परीक्षा, योजना, मापदण्ड र नेसनल बोर्ड निर्देशनालय गरी चार निर्देशनालयका निर्देशक पद रिक्त छन्,’ प्राध्यापक डा. आचार्यले नागरिकसँग भने, ‘मेडिकल शिक्षामै करिअर बनाउँछु भनेर बसेका विद्यार्थीका लागि एकीकृत प्रवेश परीक्षा निकै महत्त्वपूर्ण हुन्छ। सरकार यसबारे संवेदनशील भएर निर्देशकहरू तत्काल नियुक्त गरी विद्यार्थीलाई मेडिकल प्रवेश परीक्षाको बाटो खोलिदिनुपर्छ।’
उनले एकीकृत प्रवेश परीक्षाअघि कलेज अनुगमन, सिट संख्या तोक्नेलगायत काम पनि गर्नुपर्ने र त्यसका लागि पनि समय लाग्ने बताए। यसले विद्यार्थीको शैक्षिक योजना र देशको स्वास्थ्य जनशक्ति उत्पादन दुवैमा दीर्घकालीन असर पार्न सक्ने भएकाले आयोगले प्रशासनिक ढिलाइ अन्त्य गर्दै यथाशीघ्र स्पष्ट कार्यतालिका सार्वजनिक गर्नुपर्नेमा प्राध्यापक डा. आचार्यको जोड छ।
त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा अन्य विश्वविद्यालयले अधिकांश स्नातक कार्यक्रमका लागि भर्ना प्रक्रिया अघि बढाइसकेका छन्। कतिपयले प्रवेश परीक्षा सञ्चालन गरेर कक्षासमेत सुरु गर्ने तयारी गरेका छन्। तर चिकित्सा शिक्षामा भने प्रवेश परीक्षाकै सूचना नआउँदा सम्पूर्ण प्रक्रिया रोकिएको हो।
हजारौं विद्यार्थीको भविष्य अन्योलमा
गत वर्ष चिकित्सा शिक्षाअन्तर्गत त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कुल ९३ वटा शैक्षिक संस्थामा १६ वटा कार्यक्रमका लागि करिब नौ हजार २७५ सिटका लागि झन्डै ५८ हजार विद्यार्थीले एकीकृत प्रवेश परीक्षा दिएका थिए। यस वर्ष कक्षा १२ मा उत्तीर्ण हुने विद्यार्थीको संख्या बढेकाले परीक्षार्थीको संख्या अझ बढी हुने अनुमान गरिएको छ। यस वर्ष कक्षा १२ को परीक्षा सकिएको ३५ दिनमै नतिजा सार्वजनिक भएको थियो। तर परीक्षा तालिका नै सार्वजनिक नभएकाले विद्यार्थीहरू तयारी, वैदेशिक अध्ययन र वैकल्पिक शैक्षिक योजनाबारे अन्योलमा छन्।
विद्यार्थी तथा अभिभावकहरूले प्रवेश परीक्षामा हुने यस किसिमको ढिलाइका कारण अध्ययन अवधि छोटिने, शैक्षिक सत्र पछाडि धकेलिने र विदेश अध्ययनतर्फ आकर्षण बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले एकीकृत परीक्षाको तालिका छिटोभन्दा छिटो सार्वजनिक गर्न माग गरेका छन्।
शैक्षिक क्यालेन्डरमै असर
विश्वविद्यालय अनुदान आयोगले सबै विश्वविद्यालयका लागि एकीकृत शैक्षिक क्यालेन्डर लागु गर्दै भदौबाट नियमित पठनपाठन सुरु गर्ने लक्ष्य राखेको छ। अनुदान आयोगका निर्देशक केदार आचार्यले चिकित्सा शिक्षामा प्रवेश परीक्षादेखि भर्ना, म्याचिङ र कक्षा सञ्चालनसम्मका सबै चरण ढिलो हुने अवस्था देखिएकाले समग्र शैक्षिक तालिका प्रभावित हुने जोखिम बढेको बताए। ‘गत वर्षदेखि मेडिकलको प्रवेश परीक्षा विभिन्न कारणले चिकित्सा शिक्षा आयोगले ६ महिना ढिला गर्दै आएको छ,’ निर्देशक आचार्यले नागरिकसँग भने, ‘यस वर्ष कक्षा १२ को नतिजा ३५ दिन छिटो प्रकाशित भयो तर मेडिकलको एकीकृत प्रवेश परीक्षा अझै सुरु भएको छैन जबकि अन्य विद्यार्थीको पहिलो प्राथमिकता मेडिकल हो। नाम ननिस्किए मात्र अन्य विधामा जान्छन्।’
उनले थपे, ‘इन्जिनियरिङ प्रवेश परीक्षा भयो, भर्ना प्रक्रिया सुरु भयो, मेडिकलको ढिलो भयो। यसले चिकित्सातर्फ विद्यार्थीको समय एक वर्ष पछाडि धकेलिन्छ।’
आयोगका सदस्य सचिव वसन्त कोइरालाले आयोगले एकीकृत प्रवेश परीक्षाका लागि आन्तरिक तयारी सम्पन्न गरिसकेको दाबी गरे। उनले आयोगमा पदाधिकारी नियुक्तिमा ढिलाइले प्रवेश परीक्षामा केही ढिलाइ हुन गएको स्विकारेका छन्। ‘आयोगले शैक्षिक क्यालेन्डर तयार गरिसकेको छ। कतिपय कुरा निर्देशनालयगत हुन्छ,’ सदस्य सचिव कोइरालाले भने, ‘चार वटै निर्देशनालयका निर्देशकज्यूहरूको नियुक्ति भएको छैन। निर्देशकज्यूहरूको उपस्थितिमा प्रक्रियाहरू छिटोछरितो तरिकाले अगाडि बढ्ने भएकाले कुरेका हौं।’ उनले थपे, ‘परीक्षाअगावैको आन्तरिक तयारी केही बाँकी छ। सम्भवतः छिटै प्रवेश परीक्षाको तालिका सार्वजनिक गर्छौं।’
प्रकाशित: २१ श्रावण २०८३ १२:४७ बिहीबार