जुम्लाको चन्दननाथ नगरपालिका भित्रका विद्यालयमा ठेउलाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि नगरपालिका पाँच दिनका लागि विद्यालय बन्द गर्न बाध्य भएको छ।
बालबालिकामाझ देखिएको संक्रमण समुदायस्तरसम्म फैलिने जोखिम बढेपछि चन्दननाथ नगरपालिकाले सामुदायिक तथा संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो। चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाको सिफारिसका आधारमा नगरपालिकाले सूचना जारी गर्दै असार २ गतेदेखि असार ५ गतेसम्म विद्यालय बन्द रहने जनाएको छ।
नगरपालिकाको द्रुत प्रतिकार्य समितिको असार १ गते बसेको बैठकले संक्रमण नियन्त्रणलाई प्राथमिकता दिँदै उक्त निर्णय गरेको शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले बताए। नगरपालिकाले जारी गरेको सूचनाअनुसार पछिल्ला केही दिनयता विद्यालयमा अध्ययनरत बालबालिकामा ठेउलाको संक्रमण व्यापक रूपमा देखिन थालेको छ। संक्रमणको फैलावट विद्यालयको घेराभन्दा बाहिर समुदायमा समेत पुग्न सक्ने उच्च जोखिम देखिएकाले महामारीको रूप लिनुअघि नियन्त्रण आवश्यक ठहर गरिएको हो।
स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतका अनुसार नगरपालिकाभित्रका विभिन्न विद्यालयमा हालसम्म ३५ देखि ४० जना बालबालिकामा ठेउलाको लक्षण देखिएको छ। संक्रमितको संख्या थप बढ्न सक्ने आंकलनसहित विद्यालय बन्द गर्न समितिले सिफारिस गरेको उनले बताए।
यता जिल्ला जनस्वास्थ्य कार्यालयले पनि संक्रमणप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालय प्रमुख किरण शर्माले विद्यालयमा ठेउलाको संक्रमण देखिएपछि तत्काल भीडभाड कम गर्न र विद्यालय बन्द गर्न सुझाव दिइएको बताए।
उनका अनुसार संक्रमित बालबालिकालाई अन्य बालबालिकाबाट अलग राख्ने, दूरी कायम गर्ने तथा व्यापक जनचेतना फैलाउने नै रोग नियन्त्रणको प्रभावकारी उपाय हो। हिमाली जिल्लामा विद्यालय उमेरका बालबालिकामाझ देखिएको संक्रमणले अभिभावक, शिक्षक र स्वास्थ्यकर्मीलाई समेत चिन्तित बनाएको छ।
विद्यालय बन्दको निर्णयसँगै संक्रमण नियन्त्रणमा आउने अपेक्षा गरिएको भए पनि समुदायस्तरमा थप फैलावट रोक्न सबै पक्षको सतर्कता अपरिहार्य देखिएको छ। नगरपालिकाले जारी गरेको सूचनामा स्वास्थ्य मन्त्रालयलाई समेत बोधार्थ गरिएको छ। स्थानीय तहले समयमै हस्तक्षेप नगरे संक्रमणले महामारीको रूप लिन सक्ने जोखिम औँल्याउँदै स्वास्थ्य सतर्कता थप कडा बनाइएको जनाएको छ।
प्रकाशित: २ असार २०८३ ०९:०२ मंगलबार