झापा दमकका एक बालक दुई वर्षसम्म सडकमा भौंतारिए। उमेरले सानै भए पनि उनले सडकमा भोक, अभाव र दुव्र्यवहार खेपे। उनी दुर्व्यसनको लतमा पूरै फसे। अहिले भने उनको जीवनले नयाँ मोड लिएको छ। प्रहरीमार्फत उद्धार गरिएका उनी इटहरीस्थित भ्वाइस अफ चिल्ड्रेनको संरक्षणमा छन्। फेरि पढ्न थालेका छन्।
उनको सडक जीवनको सुरुवात घरकै कारण भएको थियो। उनी १४ महिनाको हुँदा आमाले अर्कैसँग विवाह गरिन्। बाबु मागेर गुजारा गर्थे, जुन रकम रक्सी सेवनमा खर्च गर्थे। बाबुआमाबाट रेखदेख नहुँदा उनका दिदीबहिनीको अवस्था पनि दयनीय बन्यो। दिदी काकाको घरमा बस्न थालिन्। बहिनी दमककै एक आश्रममा पुगिन्।
घरमा हेरचाह गर्ने कोही नभएपछि उनी कक्षा १ मा पढाइ र घर छाडेर सडकमा भौंतारिन थाले। सडकमा उनीजस्तै अभिभावकको संरक्षण नपाएका अरू दुई बालकसँग उनको भेट भयो। त्यसपछि तीनजनाको समूह बन्यो। विस्तारै उनीहरूको दैनिकी सडकमा मागेर खाने र चोरीमा बित्न थाल्यो। उनीहरू विशेषगरी रातको समयमा फलाम चोरी गर्थे। फलाम बेचेर आएको पैसा आपसमा बाँड्थे। दिउँसो सडकमा भेटिने मानिससँग खाना खान भन्दै पैसा माग्थे। मागेरै दैनिक नौ सय रुपैयाँसम्म जम्मा हुने गरेको उनी सुनाउँछन्।
सडकबाट कमाएको पैसा आधारभूत आवश्यकतामा मात्र खर्च भएन। तीनैजना विस्तारै नसालु पदार्थमा फस्न थाले। उनीहरू डेनड्राइट सुँघ्ने र चुरोट खाने गर्थे। ‘डेनड्राइट सुँघेपछि पूरै चार्ज भएजस्तो हुन्थ्यो’, उनी विगत सम्झन्छन्, ‘बिहान र बेलुका दुईपटक डेनड्राइट सुँघ्ने र चुरोट खाने बानी नै परेको थियो।’ उनीहरू प्राय: खेतको बिचमा बसेर नसालु पदार्थ सेवन गर्थे। रात परेपछि दमकको भृकुटीचोक आसपास सुत्थे। यसरी तीनजनाको समूहले झन्डै दुई वर्ष सडकमा बितायो।
सडक जीवन सहज थिएन। भोक मेटाउन अरूसँग पैसा माग्नुपर्ने, रात काट्न सुरक्षित ठाउँ नहुने र मानिसबाट अपमानजनक व्यवहार सहनुपर्ने अवस्था थियो। बाल्यकालमा अभिभावकको माया र संरक्षण पाउनुपर्ने समयमा उनले सडकको कठोर व्यवहार भोग्नुपर्यो, तर अहिले उनको जीवनले नयाँ मोड लिएको छ। भ्वाइस अफ चिल्ड्रेनको संरक्षणमा आइपुगेका उनलाई सुरक्षित आवाससँगै शिक्षाको व्यवस्था मिलाइएको छ। उनी फेरि कक्षा १ मा भर्ना भएर पढ्न थालेका छन्।
११ वर्ष पुगेका ती बालकलाई आफूले सडकमा बिताएका दुई वर्ष सम्झँदा उनलाई पछुतो लाग्छ। ‘साह्रै गलत गरिएछ। लगातार पढेको भए कक्षा ३ पूरा गरिसकेको हुन्थें। फेरि कक्षा १ मै पढ्नुपर्यो’, उनी भन्छन्। सडकमा हुँदा मानिसले गरेको दुव्र्यवहार र अपमानजनक बोली पनि उनले बिर्सिएका छैनन्। ‘माग्दा पनि मान्छेले नराम्ररी भन्थे’, उनी सम्झन्छन्, ‘घरमा केयर गर्ने मान्छे नहुँदा सडकमा पुगें। बल्ल सुध्रिने मौका पाएको छु।’ उनले भविष्यमा राम्रो जागिरे बन्ने सुनौलो सपना साँचेका छन्। भन्छन्, ‘म भविष्यमा सरकारी जागिरे बन्नेछु।’ उनले पढाइमा प्रगति गरेर देखाउने दृढ इच्छा राखेका छन्। ‘मैले राम्रो ठाउँ पाएको छु। विगतमा जे भयोभयो, अब राम्रो काम गर्नेछु।’
दमककै अर्का १४ वर्षीय बालकको पारिवारिक अवस्था फरक छ। उनका बाबु मिस्त्रीको काम गर्छन् भने आमा टेन्ट हाउसमा काम गर्छिन्। परिवारमा एक दाजु कक्षा १० र दिदी कक्षा ११ मा अध्ययनरत छन्। घरमा अभिभावक र दाजुदिदी हुँदाहुँदै उनी भने साथीसंगतका कारण सडकमा पुगे। उनीभन्दा अघि सडकमा पुगेका दुई साथीले उनलाई चुरोट खाने र डेनड्राइट सुँघ्ने बानी लगाए। सडकमा मागेर अनि चोरी गरेर जम्मा गरेको पैसाले उनीहरू चुरोट र नसालु पदार्थ सेवन गर्थे। उनले पनि त्यही व्यवहार पछ्याउन थाले। अन्तत: उनी पनि दुर्व्यसनको लतमा फसे। यसको असर उनको पढाइमा पनि पर्यो। कक्षा ३ मा पढ्दापढ्दै विद्यालय जान छाडे। सडक र साथीसंगत नै उनको दैनिकी बन्न थाल्यो। उनी पनि भ्वाइस अफ चिल्ड्रेनको संरक्षणमा छन्। संस्थाले सुरक्षित आवाससँगै उनको पढाइलाई निरन्तरता दिने व्यवस्था मिलाएको छ। विद्यालय छाडेर सडक जीवनमा पुगेका उनी फेरि शिक्षाको पहुँचमा फर्किएका छन्। उनी भन्छन्, ‘अब संस्थामै बसेर उच्च शिक्षासम्म पढ्ने इच्छा छ।’ उनी पढाइमा तेजिला छन्। संस्थाले बनाएको दैनिक तालिका पालना गर्छन्। पढाइमा उनी राम्रोमै पर्छन्।
यता, इनरुवा घर भएका सडक बालकका बाबुआमा पनि उनी सानो छँदा जहिल्यै झगडा गर्थे। झगडा गरेको बेला आमाले तिनै बालकलाई लठी लिएर पशु झैं कुट्ने गर्थिन्। यही क्रममा उनी एक दिन घर छाडेर सडकमा पुगे। सडकमा उनले दुई वर्ष बिताए। उनी पनि चुरोट किनेर तान्ने र डेनड्राइट सुँघ्न थाले।
यतिबेला भने उनका बाबुले अर्कैसँग विवाह गरिसकेका छन्। आमाको पनि कहाँ बस्ने र कसरी खाने टुंगो छैन। प्रहरीले उद्धार गरेर संस्थामा पुर्याएपछि छोरा भेट्न पुगेकी आमाले कोठा खोज्छु अनि भेटेपछि लिन आउँछु भनेर आश्वासन दिएकी थिइन्, तर आमा फेरि छोरा भेट्न गएकी छैनन्। ‘अब आमा लिन आए पनि घर जान्न। यहीं बसेर पढाइ पूरा गर्छु।’ उनी यतिबेला कक्षा २ मा पढ्दैछन्।
भ्वाइस अफ चिल्ड्रेनले पूर्वका सडकबाट बालबालिका उद्धार गरी संरक्षण गर्दैै आएको छ। संस्थामा राखिएका बालबालिकालाई सुरुवातमा मनोविमर्श तालिम दिने अनि मात्र पढाउने शिक्षक झुलन दाहालले बताए। उनका अनुसार खासगरी सडकबाट उद्धार गरी ल्याइएका बालबालिका अटेरी गर्छन्। ‘लयमा ल्याउन कम्तीमा तीन महिना प्रयास गर्नुपर्छ। त्यसैले सोहीअनुसार विधि अपनाएर उनीहरूलाई शिक्षण गर्नुपर्छ।’
पूर्वीनेपालका विभिन्न सहरका सडकमा अलपत्र अवस्थामा भेटिने बालबालिकाका लागि इटहरीस्थित भ्वाइस अफ चिल्ड्रेन सुरक्षित आश्रयस्थल बन्दै आएको छ। सडकमा जीवन बिताउन बाध्य बालबालिकाको उद्धार गरी संरक्षण, शिक्षा र पारिवारिक पुन:स्थापनाको व्यवस्था मिलाउँदै आएको संस्थाका अध्यक्ष भरत थापाले बताए। उनका अनुसार संस्थामा अहिले दुईजना फरक शारीरिक क्षमता भएकासहित १७ जना बालबालिकालाई सडकबाट उद्धार गरी संरक्षणमा राखेर पढाउने गरिएको छ।
संस्थाले १२ वर्षको अवधिमा ३३५ जनालाई उद्धार गरी संरक्षण गरेर शिक्षा प्रदान गरेपश्चात् परिवारमा पुन:स्थापना गरिएको बताए। ‘हामीले सडकबाट उठाएर संस्थामा ल्याई संरक्षण र शिक्षा प्रदान गरेपछि घरमा फर्किएकामध्ये धेरैको घरजम भइसकेको छ। कतिपयका घटना त उदाहरणीय छन्।’
उनका अनुसार संस्थाले सडक बालकलाई उद्धार गरी संरक्षण गर्दै आएको छ। धरानपछि इटहरी र दमकमा बढी मात्रामा सडक बालक छन्। ‘विराटनगर, बिर्तामोड, उर्लाबारी, इनरुवालगायत सहरबाट पनि केही सीमित सडक बालबालिकाको उद्धार गरी संरक्षण गरिएको छ’, थापाले भने, ‘हामीले सडकबाट उद्धार गरिएका बालबालिकालाई सामुदायिक स्कुलमा भर्ना गर्ने अनि संस्थाले आफैं शिक्षक नियुक्त गरी पढाउने व्यवस्था मिलाएको छ। परीक्षा दिने व्यवस्था भने विद्यालयबाटै मिलाइएको छ।’
संस्थाले बालबालिकाको पढाइलाई निरन्तरता दिनुका साथै उनीहरूको पारिवारिक अवस्था पहिचान गरी अभिभावकसँग समन्वय गर्ने र सुधार भएपछि घरमा पुन:स्थापना गर्दै आएको छ। शिक्षा र संरक्षण प्रक्रियापछि अभिभावकको सहमतिमा बालबालिकालाई परिवारमा पुन:स्थापना गर्ने गरिएको हो। जसको अभिभावक पहिचान हुन सक्दैनन्, उनीहरूलाई संस्थाले उनीहरूको क्षमताअनुसारको रोजगारीको व्यवस्था गरिदिने गरेको छ। भ्वाइस अफ चिल्ड्रेनले सरकारी तथा गैरसरकारी सहयोगमा सडक बालबालिकालाई उद्धार गरी संरक्षण र शिक्षा प्रदान गर्दै आएको छ।
आर्थिक अभाव, पारिवारिक समस्या, दुव्र्यवहार, उचित शिक्षाको अभाव, समुदाय र परिवारको चेतनास्तरको कमी, सामाजिक द्वन्दलगायतका समस्याका कारण कतिपय बालबालिका सहरी क्षेत्रमा गएर सडक बालबालिकाका रूपमा भौंतारिने गरेका छन्। तीव्र जनसंख्या वृद्धि, आर्थिक, सामाजिक अवस्था र परिवारमा उचित वातावरण अभावका साथै बाबुआमाको माया, स्नेह र उचित रेखदेखको अभावमा थुप्रै बालबालिका सडक बालबालिकाका रूपमा जीवन बिताउने गरेको संस्थाका अध्यक्ष थापाको अनुभव छ।
प्रकाशित: ९ मंसिर २०८३ १२:१२ बुधबार



