शिक्षा

बुवाआमाको सम्झनामा विद्यालयमा अक्षयकोष

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको ‘मुगाधन र भलशोभा स्मृति अक्षयकोष’ स्थापना गरिएको छ। स्व. मुगाधन र भलशोभा राईका छोरा ९९ वर्षीय कर्णबहादुर राई, छोरी ८७ वर्षीया कुमारीकृष्ण राई, स्व. छोरा राजबहादुर र भुइचालबहादुर राईको परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन्।

मुलधन नमासिने गरी त्यसको ब्याजबाट विद्यालयको आवश्यककीय कामकाजमा खर्च गरिने कुमारीकृष्णका छोरा भोगिन्द्र राईले जानकारी दिए। “स्वर्गीय मुगाधन र भलशोभा राई हाम्रो परिवारको प्रेरणाका स्रोत हुनुहुन्छ। उहाँहरूको सम्मानमा परिवारका सदस्य मिलेर अक्षयकोष स्थापना गरेका हौं”, उनले भने, “अक्षयकोषको संरक्षकमा परिवारकै एकजना सदस्य बसेका छौं। मुलधन नमासिने गरी त्यसको ब्याजबाट आवश्यककीय कामकाजमा खर्च गर्ने अधिकार विद्यालयलाई दिएका छौं।”

मुगाधन र भलशोभा राईका कान्छा छोरा स्व. ध्यानबहादुर राईको सम्झनामा ३४ हजार ५०० रुपैयाँ मूल्य बराबरको हार्मोनियम, मादल र बासुरीसमेत विद्यालयलाई प्रदान गरिएको छ। अक्षयकोष स्थापना तथा वाद्यवादन सामग्री हस्तान्तरण कार्यक्रममा कर्णबहादुर र कुमारीकृष्ण राईलाई अभिनन्दनसमेत गरिएको विद्यालयका पूर्वप्रधानाध्यापक वेदीकुमार राइले बताए।

विद्यालयको शैक्षिक अभिवृद्धि र सौन्दर्यकरणमा ६० हजार ६ सय रुपैयाँ सहयोग गर्ने स्थानीय तथा जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका लेखापाल प्रेमकुमार राईलाई एक कार्यक्रमबीच गत शुक्रबार सम्मान पनि गरिएको छ।

प्रकाशित: ९ चैत्र २०८२ ०६:२१ सोमबार