शिक्षा

विषम परिस्थितिमा पनि एनओसी जारी गर्दै शिक्षा मन्त्रालय

रुबी रौनियार

काठमाडौं,भदौं २८  

जेन-जी पुस्ताले भ्रष्टाचारका विरुद्ध गरेको आन्दोलन र उत्पन्न परिस्थितिले देश  विषम परिस्थितिमा गुज्रिएको छ । यस्तो अवस्थामा पनि देश छाडेर उच्च शिक्षा हासिल गर्न विदेश जानेको लर्को रोएिको छैन ।

युवा पुस्ताले देश र सत्ता परिवर्तनलाई आन्दोलन गरे । यसका केही सकारात्मक र नकरात्मक पक्ष दुवै छन् । तर जस्तोसुकै अवस्थामा पनि नेपाली युवा विद्यार्थी विदेश जानबाट रोकिएका छैनन् । यसको पछिलो उदाहारण हो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको बिहीबारको नोअब्जेक्सन लेटर (एनओसी)को तथ्यांक ।

जेन-जी पुस्ताका आन्दोलनका कारण शैक्षिक संस्था व्यापारिक घराना, व्यक्तिगत सम्पति तथा सार्वजनिक सम्पतिमाथि गरिएको आगजनी र तोडफोडले देशले ठूलो आर्थिक क्षति व्यहोर्ने त छर्दै छ। तर यस्तो कठिन अवस्थामा पनि युवा विद्यार्थी दिनहुँ शिक्षा मन्त्रालयबाट एनओसीलाई आवेदन दिएको र एनओसी जारी भएको देख्दा मन्त्रालयका कार्मचारी पनि चकित छन् ।  

जेन-जी पुस्ताले सिंहदरबार जलाएका छन् । मन्त्रालय जलेका छन् । महत्वपुर्ण कागजात नष्ट भएका छन् । शिक्षा मन्त्रालय पनि जलेको छ । मन्त्रालयका सहसचिव बैकुन्ठ अर्यालले शुक्रबार मन्त्रालयका अनुगमन गरि कति क्षति भएको भन्दै सोधी खोजी स्थलगत रुपमै गरिरहेका थिए ।  

शिक्षा मन्त्रालय आगजनीको साथै मन्त्रालयको १९ वटा गाडी जलेको छ । सहसचिव अर्यालका अनुसार उच्च शिक्षा महाशाखाले विषम परिस्थितिमा समेत टिम बनाएर नोअबजेक्सन लेटर र शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्ने काम निरन्तर गरिरहेको छ ।

एनओसी शाखा प्रमुख वासुदेव वस्तीले यस्तो विषम परिस्थितिमा पनि आफूहरुलाई जनताको सेवा गर्न र गर्नु पर्ने कर्तव्य पुरा गर्न नछेकेको बताउँदै दैनिक २ सयको हाराहारीमा एनओसीका आवेदन प्राप्त भइरहेको बताए ।  

बिहिबार मात्र एनओसी शाखामा ११७ जनाले अनलाइन आवेदन दिएको उनले बताए । ‘देशको विषम परिस्थितिमा एनओसी शाखाको कारण कोहि विद्यार्थी पनि समस्यामा नपरुन भन्ने उद्धेश्यले काम गरिरहेका छौँ,’ एनओसी शाखा प्रमुख वस्तीले नागरिकसँग कार्यालयबाटै भने,‘धेरै विद्यार्थीहरु विदेशी विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्न, छात्रावृत्ति लिन तथा शुल्क बुझाउन एनओसी अति आवश्यक हुन्छ ।’

उनले थपे,‘एनओसीकै कारण कुनै पनि विद्यार्थीको उच्च शिक्षा हासिल गर्न पाउने अधिकारमा बाधा नपर्ने गरी हामी बिदाको दिन पनि काम गर्ने योजना बनाएर अगाडि बढेका छौं ।’

पछिल्ला वर्षमा युवा विदेशिने अवस्था निकै बढेको छ । युवा उच्च शिक्षाका साथै  अवसरका लागि विदेशिने क्रम बढेसँगै रकम बाहिरिने क्रम पनि बढेको छ । ‘अब देश नयाँ परिस्थितिमा जाँदै छ । अबको नेतृत्वले युवा केन्द्रित कार्यक्रम तय गर्नु पर्ने आवश्यक छ,’ प्रमुख वस्तीले नागरिकसँग भने,‘स्वदेशमा स्तरीय पढाई र राम्रो कमाईको अवसर उपलब्ध गर्ने कार्यक्रम अघि बढाएर जानु पर्ने आवश्यक छ । जसले युवा पुस्तालाई नेपालमै बस्न प्रोत्साहन गर्न सक्छ ।’

विगत सात वर्षकै तथ्यांक विश्लेषण गर्दा यही ७ वर्षको  अवधिमा कुल ५ लाख ४३ हजार ८ सय ३३ युवा विद्यार्थीहरुले नो अब्जेक्सन लेटर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट लिएका छन् । यही अवधिमा उच्च शिक्षा लिन जानेहरुबाट कुल ४ खर्ब ९३ अर्ब ९ करोड रकम बाहिरिएको राष्ट्र बैंकबाट प्रकाशित तथ्यांकमा उल्लेख छ । तर यस बाहेक पनि भारतमा वर्षेनी अर्बौ रुपैयाँ उच्च शिक्षाको नाममा बाहिरिन्छ । भारतमा रकम पठाउन एनओसी आवश्यक नपर्ने भएकोले यकिन तथ्यांक राज्यसँग छैन ।

प्रकाशित: २८ भाद्र २०८२ २०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App