शिक्षा

विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना

कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना गरिएको छ। नगरपालिकाका चार माध्यमिक विद्यालय र ६ वटा आधारभूत विद्यालयमा महिनावारी आराम कक्ष स्थापना गरिएको हो।

महिनावारीको समयमा तथा बिरामी हुँदा छात्राहरूलाई विद्यालय नियमित रूपमा जानका लागि महिनावारी आराम कक्षको स्थापना गरिएको हो। विद्यालयमा महिनावारी आराम कक्ष स्थापना भएपछि नियमित स्कुल जानका लागि सहज भएको बडिमालिका माध्यमिक विद्यालय रास्कोटका कक्षा ९ मा अध्यायनरत छात्रा कल्पना शाहीले बताइन्।  

'महिनावारी भएका बेला हरेक महिना पाँच दिन विद्यालय जान असहज हुने गरेको थियो,' उनले भनिन्, 'विद्यालयमा पढ्दै गर्दा पेट दुख्ने, रिङ्गटा लाग्ने हुन्थ्यो। अहिले विद्यालयमै महिनावारी आराम कक्ष स्थापना भएपछि नियमित पढ्न जान थालेकी छु।'

विद्यालयको महिनावारी आराम कक्षमा आवश्यक स्यानेटरी प्याड, सफा पानी, प्राथामिक उपचार साम्रगी, आराम गर्ने बेड तथा सरसफाइका साम्रगी व्यवस्था हुँदा स्वास्थ्यमा सहज र नियमित स्कुलमा छात्राको उपस्थित हुने गरेको बडिमालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज बरालले जानकारी दिए।

'किशोरी विद्यार्थीलाई महिनावारी भएको समयमा सहज वातावरण प्रदान गर्न विद्यालयमै महिनावारी आराम कक्ष स्थापना गरिएको हो,' उनले भने, 'महिनावारीका बेला हुने शारीरिक असहजता, पेट दुख्ने, कमजोरी तथा मानसिक तनावलाई मध्यनजर गर्दै विद्यालयमा आराम कक्ष सञ्चालनमा ल्याउँदा अहिले किशोरीहरू नियमित पढ्न आउन थालेका छन्।'

नगरकापालिकाका चारवटा माध्यमिक र छवटा आधारभूत विद्यालयमा महिनावारी आरम कक्ष स्थापना गरिएको रास्कोट महिनावारी स्वास्थ्य र खानेपानी तथा सरसफाइ स्वच्छता सुधार परियोजनाका संयोजक सूर्यबहादुर रोकायाले बताए। उनले यसबाट किशोरीहरूलाई विद्यालयमा नियमित पढाइमा सहभागी हुन सहयोग पुगेको जानकारी दिए।

विद्यालयमा सुरक्षित र मैत्रीपूर्ण वातावरण निर्माण गर्न यस्तो पहल प्रभावकारी बनेको रास्कोट नगरपालिका नगरप्रमुख धर्मराज शाहीले बताए। 'स्थानीय तह तथा विद्यालय व्यवस्थापन समितिले किशोरी स्वास्थ्य र महिनावारी स्वच्छतामा विशेष ध्यान दिएको छ, रास्कोटको शैक्षिक सुधारमा पहिलो प्रथामिकता राखेर आगाडि बढेको छ,' उनले भने। रासस

प्रकाशित: ३१ जेष्ठ २०८३ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App