शिक्षा

बालमन्दिर माविमा विश्वकर्मा र पोखरेल विजयी

अदालतको आदेश अनुसार आईतबार सम्पन्न बालमन्दिर माध्यमिक विद्यालयको व्यवस्थापन समिति सदस्यमा चन्द्र विश्वकर्मा र चन्द्र पोखरेल विजयी भएका छन् ।  

सदरमुकाम त्रियुगा नगरपालिका १० बोक्सेस्थित बालमन्दिर माविको व्यवस्थपन समिति चुनाव विवादले वर्षदिनपछि अदालतको आदेशपछि सम्पन्न भएको थियो ।  

विश्वकर्माले २ सय २४ मत र पोखरेलले २ सय पाएर सदस्यमा विजयी भएको विद्यालयका प्रधानाध्यापक तथा निर्वाचन अधिकृत जङ्गबहादुर खड्काले बताए । उनका अनुसार ९ सय ७५ मतदातामध्ये ३७ प्रतिशत अर्थात ३ सयस ६० मत मात्र खसेको थियो । सदस्यका ४ प्रतिस्पर्धीमध्ये निकटतमभ प्रतिद्वन्द्वी सुपराज राईले १ सय ६७ मत पाएका छन् भने खगेश्वर भट्टराईले ४ मत पाएका छन् । १४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।  

व्यवस्थापन समिति गठन गर्न विद्यालयले ०८१ भदौ २२ गते अभिभावक भेला बोलाएको थिए । तर, सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रिया अपनाउँदा समावेशी र खुल्लातर्फ दुई महिला सदस्य लाक्पा शेर्पा र मैया खड्का निर्विरोध भए । पुरुषतर्फ दुई सदस्य भने विवाद भएपछि चुनाव स्थगित भएको थियो ।  

यसबारे उच्च अदालत विराटनगरमा रिट परेपछि प्रारम्भिक फैसला सुनाउँदै निर्वाचन यथास्थितिमा रोक्न आदेश दिएको वर्षदिनपछि अहिले गराइएको प्रअ खड्काले बताए । गत साउन २९ गतेको अन्तिम अदालती फैसला बमोजिम रोकिएकै विन्दुबाट प्रक्रिया अघि बढाएर निर्वाचनमार्फत रिक्त सदस्य छान्न आदेश दिए अनुसार निर्वाचन गराइएको हो ।  

चुनाव सकिएसँगै व्यवस्थापन समिति गठन अन्तिम चरणमा पुगेको छ । निर्वाचित ४ सदस्यको बैठकले जग्गादाता वा शिक्षाप्रेमीमध्ये एक, शिक्षक प्रतिनिधि एक र शिक्षक अभिभावक सङ्घका अध्यक्ष पदेन सदस्य हुने गरि समिति बन्नेछ । जसले आफुमध्येबाट एकजना अध्यक्ष छानेर प्रअ समितिको सदस्यसचिव छान्ने शिक्षा ऐन्मा व्यवस्था छ ।  

व्यवस्थापन समितिले पूर्णता पाएपछि विद्यालयको प्रभावित काम कारबाही सुचारु हुनेछ । समिति नहुँदा वर्षदिनदेखि विद्यालयको महत्वपूर्ण प्रशासनिक तथा शैक्षिक गतिबिधिहरु रोकिएका छन् । भारतीय दुताबासको सहयोगमा वर्षदिनअघि नै निर्माण सम्पन्न भएको अत्याधुनिक ४ तले पक्की भवन समिति नभएकै कारण उद्घाटन हुन नसकेर पुरानै भवनमा पठनपाठन गराउँदै आउनु परेको छ ।  

अन्य कतिपय गतिबिधि पनि समिति नहुदा प्रभावित हुदै आएको प्रअ खड्काले बताएका छन् । अव छिट्टै समितिलाई पूर्णता दिएर विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिबिधि अघि बढाउने प्रअ खड्काले बताएका छन् । 

प्रकाशित: २७ आश्विन २०८२ १७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App