शिक्षा

उच्च शिक्षामा विद्यार्थी बढे

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्यामा १० दशमलव ९ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या ६ लाख ७२ हजार ४८९ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा १० दशमलव ९ प्रतिशतले बढेर सात लाख ४५ हजार ७७० पुगेको हो।

 आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार उच्च शिक्षा अध्ययनरत कुल विद्यार्थीमध्ये व्यवस्थापन संकायमा सबैभन्दा बढी ५०.५ प्रतिशत छन् भने कृषिमा सबैभन्दा कम ०.१५ प्रतिशत छन्। व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्रमा अध्ययनरत विद्यार्थी करिब ८० प्रतिशत छन्।

केन्द्रीय र प्रादेशिक विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विदेशी सम्बन्धनमा नेपालमा सञ्चालित क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत आंगिकमा ४७ दशमलव ९ र सम्बन्धन प्राप्तमा २७ दशमलव ४ प्रतिशत गरी कुल ७५.३ प्रतिशत छन्। अन्य विश्वविद्यालय र कार्यक्रममा २४.१ प्रतिशत विद्यार्थी छन्।

 सरकारी लगानीका हिसाबले त्रिभुवन विश्वविद्यालयमा ६७.५ प्रतिशत र अन्य विश्वविद्यालय र कार्यक्रममा ३२.५ प्रतिशत लगानी छ । हाल मुलुकमा २०८२ फागुनसम्म १५ केन्द्रीय र ६ प्रादेशिक गरी २१ विश्वविद्यालय तथा संघअन्तर्गत ६ र प्रदेशअन्तर्गत दुई गरी आठ स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्। संघीयअन्तर्गत १२ केन्द्रीय विश्वविद्यालय र प्रदेशअन्तर्गत ६ विश्वविद्यालय पूर्ण रूपमा सञ्चालन छन्। तीन वटा केन्द्रीय विश्वविद्यालय हालसम्म सञ्चालन हुन सकेको छैन।

प्रकाशित: १५ जेष्ठ २०८३ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App