विद्यालय शिक्षाको गुणस्तर सुधारको बहसको केन्द्रमा पाठ्यक्रम परिवर्तन रहँदै आएको छ। समय, समाज, प्रविधि र रोजगारीका आवश्यकता परिवर्तन हुँदै जाँदा पाठ्यक्रम पनि समयसापेक्ष परिमार्जन हुनु स्वाभाविक हो। यही आवश्यकता महसुस गर्दै पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पुनरवलोकनको प्रक्रिया अघि बढाएको छ।
सबै पक्षलाई यसमा योगदान गर्न आह्वान पनि गरेको छ। जुन सह्रानीय छ। केन्द्रले अबको पाठ्यक्रमलाई कक्षाकोठाको शिक्षण–सिकाइ उपलब्धिमूलक र विद्यार्थी केन्द्रित बनाउने लक्ष्य राख्नुलाई सकारात्मक मान्न सकिन्छ तर विगतको अनुभव हेर्दा चुनौती पाठ्यक्रम बनाउनेभन्दा बढी त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेमा देखिन्छ।
परम्परागत रूपमा नेपालको विद्यालय शिक्षा धेरै हदसम्म पाठ्यपुस्तक, शिक्षकको व्याख्या र परीक्षाको नतिजामा केन्द्रित रहँदै आएको छ। विद्यार्थीले कति कुरा बुझे, सिकेका ज्ञानलाई व्यवहारमा कसरी प्रयोग गर्न सक्छन्, समस्या समाधान गर्ने क्षमता कति विकास भयो भन्ने विषय ओझेलमा पर्ने गरेका छन्। त्यसैले नयाँ पाठ्यक्रमको केन्द्रमा ‘सिकाइ’लाई राख्नु आवश्यक छ। सिकाइकेन्द्रित पाठ्यक्रमको मूल मान्यता नै विद्यार्थी ज्ञान ग्रहण गर्ने निष्क्रिय पात्र होइनन्, उनीहरू आफैं सिकाइ प्रक्रियाका सक्रिय सहभागी हुन् भन्ने हो। यस्तो शिक्षण पद्धतिमा शिक्षक केवल सूचना दिने व्यक्ति नभई सिकाइ सहजीकरण गर्ने मार्गदर्शक हुन्। विद्यार्थीले प्रश्न गर्ने, छलफल गर्ने, प्रयोग गर्ने, अनुसन्धान गर्ने र आफ्नै अनुभवबाट ज्ञान निर्माण गर्ने अवसर पाउनुपर्छ।
विश्वव्यापी रूपमा शिक्षाको उद्देश्य सूचना स्मरण गर्ने जनशक्ति उत्पादन गर्नु मात्र होइन। सिर्जनशील सोच, आलोचनात्मक विश्लेषण, सञ्चार क्षमता, सहकार्य, डिजिटल सिप, वातावरणीय चेतना र जीवनोपयोगी सिप भएका नागरिक तयार गर्नु आधुनिक शिक्षाको लक्ष्य बनेको छ।
नेपालले पनि नयाँ पाठ्यक्रममा सूचना प्रविधि, उद्यमशीलता, जीवनोपयोगी सिप र स्थानीय आवश्यकतालाई समेट्ने तयारी गरेको छ। यो पहलले विद्यालय शिक्षालाई समयको मागसँग जोड्न सक्छ तर पाठ्यक्रममा राम्रा कुरा लेखिँदैमा मात्र शिक्षा सुधार हुँदैन।
नेपालको सबैभन्दा ठुलो समस्या कार्यान्वयन पक्ष हो। विगतमा पनि धेरैपटक नयाँ पाठ्यक्रम ल्याइए तर शिक्षकलाई आवश्यक तालिम, स्रोतसाधन र मूल्यांकन प्रणालीमा समान सुधार हुन सकेन। परिणामस्वरूप पाठ्यक्रम परिवर्तन भए पनि कक्षाकोठाको अभ्यास पुरानै शैलीमा चलिरह्यो।
सिकाइकेन्द्रित पाठ्यक्रम कार्यान्वयनका लागि शिक्षकलाई केन्द्रमा राख्नुपर्छ। शिक्षक तयार नभएसम्म कुनै पनि पाठ्यक्रम प्रभावकारी हुन सक्दैन। त्यसैले शिक्षक तालिम केवल पाठ्यक्रमका विषयवस्तु बुझाउने औपचारिक कार्यक्रममा सीमित हुनु हुँदैन। विद्यार्थीको क्षमता पहिचान गर्ने, परियोजनामूलक सिकाइ सञ्चालन गर्ने, प्रविधिको प्रयोग गर्ने र सिर्जनात्मक मूल्यांकन गर्ने सिप विकास यस सन्दर्भमा उत्तिकै महत्त्वपूर्ण रहन्छन्।
त्यस्तै, हाम्रो मूल्यांकन र परीक्षा प्रणालीमा पनि सुधार आवश्यक छ। परीक्षा केन्द्रित शिक्षाले विद्यार्थीलाई अंकका लागि पढ्न प्रेरित गर्छ। सिकाइको वास्तविक उपलब्धि मापन गर्न निरन्तर मूल्यांकन, प्रयोगात्मक अभ्यास, परियोजना कार्य र व्यावहारिक सिपलाई महत्त्व दिनुपर्छ। विद्यार्थीले कति सम्झिए भन्नेभन्दा उनीहरूले के गर्न सक्छन् भन्ने प्रश्न महत्त्वपूर्ण हो।
पाठ्यक्रम विकास केन्द्रले सामाजिक परिवर्तन, नयाँ राजनीतिक परिवेश, स्थानीय भाषा र विशेष आवश्यकता भएका बालबालिकालाई समेट्ने गरी प्रारूप पुनरवलोकन गर्नु सकारात्मक कुरा हो। मातृभाषा र स्थानीय ज्ञानलाई स्थान दिनु संघीय संरचनाअनुसार पनि उत्तिकै आवश्यक छ।
विविधता भएको नेपाली समाजमा एउटै ढाँचाको शिक्षा सबैका लागि पर्याप्त हुन सक्दैन। हाल कार्यान्वयनमा रहेको दुई दिने बिदा, विद्यालय सञ्चालन समय र क्रेडिट आवर व्यवस्थापनजस्ता विषय पनि पाठ्यक्रमसँग जोडिएका व्यावहारिक प्रश्न हुन्। यस्ता संरचनागत परिवर्तन गर्दा मुख्य उद्देश्य विद्यार्थीको सिकाइ समय र गुणस्तर घट्नु हुँदैन। विद्यालय समय व्यवस्थापनभन्दा पनि उपलब्ध समय कति प्रभावकारी रूपमा प्रयोग हुन्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ।
अबको पाठ्यक्रमले विद्यार्थीलाई केवल जागिर खोज्ने होइन, बदलिँदो संसारमा आफूलाई अनुकूल बनाउन सक्ने नागरिक बनाउने लक्ष्य लिनुपर्छ। त्यसका लागि पाठ्यक्रम परिवर्तनसँगै विद्यालय संस्कृति, शिक्षकको भूमिका, मूल्यांकन प्रणाली र शैक्षिक वातावरणमा पनि सुधार आवश्यक छ।
नेपालको शिक्षा सुधारको यात्रा कागजमा लेखिएको पाठ्यपुस्तकबाट होइन, कक्षाकोठामा भएको वास्तविक सिकाइबाट मापन हुनेछ। त्यसैले आगामी पाठ्यक्रम पुनरवलोकन केवल दस्ताबेज संशोधनमा सीमित नभई विद्यालयभित्र सिक्ने र सिकाउने संस्कृतिको पुनर्निर्माण गर्ने अवसर बन्नुपर्छ। सैद्धान्तिक होइन, व्यावहारिक शिक्षामा जोड दिनुपर्छ।
प्रकाशित: ५ भाद्र २०८३ ०६:०० शुक्रबार