रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु भएको छ।
पूर्वाधार विकास कार्यालयले जैसीखोर–खहरेखोला–रिसिनचौतारी सडक योजनाअन्तर्गत बैसरी–रिसिनचौतारी खण्ड स्तरोन्नति गर्न लागेको हो। सडक फराकिलो पार्ने, ग्रेड र घुम्ती सुधार गर्ने, टेवा पर्खाल तथा नाली निर्माण गर्ने र ग्राभेल तथा ढलान गर्ने काम योजनामा समेटिएको छ।
रु तीन करोड ३५ लाख छ हजार ४८० लागतमा निर्माण सम्पन्न गर्ने गरी गत साउन ४ गते अङ्कित एन्ड जेनिशा साहना जेभीसँग ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८४ साउन ४ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ।
कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राजेश उलकका अनुसार एक हजार ८०० मिटर सडक नालीसहित छ मिटर चौडा बनाइनेछ। त्यसमध्ये ६१० मिटर सडक ढलान र एक हजार १९० मिटर ग्राभेल गरिनेछ। योजनाअन्तर्गत ९९० घनमिटर ग्याबियन पर्खाल र एक हजार ६४९ घनमिटर मेसिनरी पर्खाल निर्माण गरिनेछ।
निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले पहिलो चरणमा एक हजार २०० मिटर सडक फराकिलो पार्ने काम सम्पन्न भएको जानकारी दिए। उनका अनुसार निर्माण कम्पनीले तीन महिनाभित्र काम सक्ने लक्ष्यसहित उपकरण परिचालन गरेको छ। लक्ष्यअनुसार काम सम्पन्न गर्न थप मजदुर र निर्माण सामग्रीको व्यवस्थापन गरिने उनले बताए।
यो सडकले रघुगङ्गा गाउँपालिका–२ र ३ लाई कालीगण्डकी करिडोरसँग जोड्छ। कालीगण्डकी करिडोरको घुमाउनेताल–बैसरी खण्डको वैकल्पिक मार्गका रूपमा विकास गर्ने र स्थानीयवासीको आवागमन सहज बनाउने उद्देश्यले योजना सञ्चालन गरिएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए। रासस
प्रकाशित: २ मंसिर २०८३ ०९:३९ बुधबार



