नेपालमा स्टार्टअप तथा उद्योगको विकासका लागि संयुक्त अरब इमिरेट्स (यूएई) बाट लगानी भित्र्याउने सम्भावना बलियो बन्दै गएको छ।
नेपालमा नयाँ उद्यम तथा नवप्रवर्तनमा आधारित व्यवसायको विकास, लगानीको वातावरण निर्माण र यूएईका लगानीकर्तालाई नेपाली स्टार्टअपसँग जोड्ने विषयमा स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष शोभा ज्ञवालीसहितको टोली र नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अलशाम्सीबीच भेटवार्ता भएको छ।
भेटवार्तामा नेपालमा उद्योग तथा स्टार्टअप स्थापना गर्न चाहने उद्यमीका लागि आवश्यक वातावरण निर्माण गर्न सके यूएईका लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्न सकिने धारणा राजदूत अलशाम्सीले व्यक्त गरेका छन्। नेपालमा सम्भावनायुक्त व्यावसायिक विचार, नवीन प्रविधि तथा लगानीयोग्य परियोजना पहिचान गरी तिनलाई व्यवस्थित रूपमा अघि बढाउन सके यूएईका लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ थियो।
राजदूत अलशाम्सीले विशेषगरी सूचना प्रविधि, प्राविधिक तथा प्रविधिमा आधारित क्षेत्रमा अभिमुखीकरण, सीप विकास र तालिमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। नेपालमा आवश्यक दक्ष जनशक्ति तयार गर्ने, युवालाई प्रविधिमा आधारित उद्यमतर्फ आकर्षित गर्ने र सम्भावनायुक्त परियोजना विकास गर्न सके त्यससँगै लगानीका अवसरसमेत विस्तार हुने उनको धारणा थियो।
नेपाल र यूएईबीच आर्थिक, श्रम, व्यापार तथा लगानीका क्षेत्रमा लामो समयदेखि सम्बन्ध रहँदै आएको छ। यूएईका राजदूत अलशाम्सीले नेपाल–यूएई सम्बन्धलाई आर्थिक तथा लगानीका नयाँ क्षेत्रमा विस्तार गर्ने विषयमा समेत निरन्तर जोड दिँदै आएका छन्।
यसैगरी स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष शोभा ज्ञवालीले नेपालमा स्टार्टअपको वातावरण निर्माण गर्न सबैभन्दा पहिले युवा, विद्यार्थी तथा सम्भावित उद्यमीलाई यससम्बन्धी व्यावहारिक ज्ञान र जानकारी दिन आवश्यक रहेको बताएकी छन्।
उनका अनुसार स्टार्टअपको विकासका लागि काठमाडौं केन्द्रित कार्यक्रम मात्र पर्याप्त नहुने भएकाले अभियानलाई देशका सातै प्रदेश तथा विश्वविद्यालयसम्म पु¥याउने तयारी भइरहेको छ। प्रदेश तथा विश्वविद्यालयमा पुगेर स्टार्टअपको अवधारणा, व्यावसायिक सोच, व्यवसाय योजना निर्माण, लगानीको स्रोत, बजार व्यवस्थापन, प्रविधिको प्रयोग र उद्यम सञ्चालनका व्यावहारिक पक्षबारे जानकारी गराइने उनले बताइन्।
ज्ञवालीले भनिन्, ‘हामी पहिलो चरणमा नेपालका विभिन्न प्रदेश र विश्वविद्यालयमा कार्यक्रम सञ्चालन गरेर विद्यार्थी, युवा तथा सम्भावित उद्यमीलाई स्टार्टअपका बारेमा विस्तृत जानकारी दिनेछौँ। यसको सुरुवात त्रिभुवन विश्वविद्यालयबाट भइसकेको छ। व्यवसाय सुरु गर्न चाहने व्यक्तिले आफ्नो विचारलाई कसरी व्यवसायमा रूपान्तरण गर्ने, लगानी कहाँबाट जुटाउने र बजारमा कसरी स्थापित हुने भन्ने विषयमा व्यावहारिक ज्ञान प्राप्त गर्नुपर्छ।’
उनले स्टार्टअप समिट नेपाल २०२६ को उद्देश्य केवल सम्मेलन आयोजना गरेर सकिने नभई उद्यमीको सोचदेखि लगानीसम्मको सम्पूर्ण यात्रालाई सहजीकरण गर्ने रहेको स्पष्ट पारिन्।
उनले भनिन्, ‘हाम्रो लक्ष्य स्टार्टअपका बारेमा जानकारी दिएर मात्र युवालाई घर फर्काउने होइन। सम्भावना भएका विचारलाई परियोजनामा रूपान्तरण गर्ने, परियोजनालाई लगानीयोग्य बनाउने र अन्ततः देश तथा विदेशमा रहेका लगानीकर्तासँग जोड्ने हो। यसरी मात्र स्टार्टअप अभियानले वास्तविक आर्थिक परिणाम दिन सक्छ।’
अध्यक्ष ज्ञवालीले नेपालमा पर्याप्त सम्भावना भए पनि पूँजी, प्रविधि, बजार, सीप तथा मार्गदर्शनको अभावका कारण कतिपय नयाँ व्यवसायले अपेक्षित गति लिन नसकेको बताउँदै सरकार, निजी क्षेत्र, विश्वविद्यालय, वित्तीय क्षेत्र र अन्तर्राष्ट्रिय लगानीकर्ताबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।
स्टार्टअप समिट नेपाल २०२६ ले प्रदेश तथा विश्वविद्यालयस्तरबाट सुरु हुने अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको स्वरूपमा विकास गर्ने लक्ष्य राखेको छ।
प्रकाशित: २८ श्रावण २०८३ १६:२० बिहीबार