भान्सादेखि औद्योगिक क्षेत्रसम्मका वस्तुमा विदेशको भर पर्दा मुलुकको व्यापार घाटा बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना कात्तिक मसान्तसम्ममै नेपालको वैदेशिक व्यापार घाटा साढे ६ खर्ब रुपैयाँ नाघेको छ।
आयातमा भएको उच्च वृद्धिका कारण कात्तिक मसान्तसम्म व्यापार घाटा ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा व्यापार घाटा पाँच खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ थियो। पोहोरको तुलनामा यस वर्ष व्यापार घाटा २९.६५ प्रतिशतले बढेको छ।
पहिलो चार महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालले आठ खर्ब तीन अर्ब नौ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब नौ अर्ब ४५ करोड रुपैयाँको आयात भएको थियो। यसरी एक वर्षको अवधिमा आयात ३१.७७ प्रतिशतले बढेको देखिन्छ।
आयातको तुलनामा निर्यातमा उच्च वृद्धि देखिए पनि त्यसले व्यापार घाटा कम गर्न सकेको छैन। चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट एक खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ९३ अर्ब ४९ करोड रुपैयाँको निर्यात भएको थियो। यस अवधिमा निर्यात ४३.४८ प्रतिशतले बढेको छ।
निर्यातमा भएको वृद्धिका कारण कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ। गत वर्ष पहिलो चार महिनामा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.३० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा बढेर १४.३१ प्रतिशत पुगेको छ। त्यस्तै आयातको हिस्सा ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा झरेको छ।
नेपालको वैदेशिक व्यापारमा आयातको निर्भरता भने अझै उच्च रहेको तथ्यांकले देखाउँछ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढे पनि आयातको हिस्सा ८५ प्रतिशतभन्दा माथि छ। यसले नेपालको व्यापार संरचनामा आयातको प्रभुत्व कायम रहेको संकेत गर्छ।
समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार नौ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो चार महिनामा यस्तो व्यापार सात खर्ब दुई अर्ब ९४ करोड रुपैयाँ रहेको थियो। यसरी कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले विस्तार भएको छ।
आयात र निर्यातबिचको अनुपातमा भने केही सुधार देखिएको छ। निर्यातमा आयातको तुलनामा बढी वृद्धि हुनु सकारात्मक भए पनि व्यापार घाटाको निरन्तर विस्तारले अर्थतन्त्रमा चुनौती थपेको छ। उत्पादन तथा निर्यात क्षमता विस्तार गर्न नसक्दा आयातमा आधारित वैदेशिक व्यापार संरचनामा अपेक्षित परिवर्तन आउन सकेको छैन।
नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ। पहिलो चार महिनामा भारतबाट चार खर्ब ६२ अर्ब रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट एक खर्ब १२ अर्ब रुपैयाँ बराबरको मात्र निर्यात भएको छ। यससँगै भारतसँगको व्यापार घाटा तीन खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। चीनसँग पनि नेपालको व्यापार असन्तुलन उच्च छ। चीनबाट एक खर्ब ६४ अर्ब रुपैयाँको वस्तु आयात हुँदा निर्यात भने एक अर्ब रुपैयाँ बराबर मात्रै छ।
नेपालले आयात गर्ने प्रमुख वस्तुमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, सवारीसाधन, मेसिनरी, फलाम तथा स्टिल, विद्युतीय उपकरण र मल रहेका छन्। चार महिनामा ५९ अर्ब २८ करोडको डिजेल, ३४ अर्ब ४२ करोडको पेट्रोल र २९ अर्ब ४७ करोडको खाना पकाउने ग्यास आयात भएको छ।
नेपालको कुल वस्तु निर्यातबाट प्राप्त हुने आम्दानीभन्दा इन्धन आयातमा विदेशिने रकम बढी रहेको छ। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चार महिनामा नेपालले एक खर्ब ५७ अर्ब ५५ करोड रुपैयाँ बराबरको इन्धन आयात गरेको छ। जबकि सोही अवधिमा मुलुकको कुल निर्यात एक खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ मात्रै छ। इन्धन आयातमा भएको खर्च कुल निर्यातभन्दा २३ अर्ब ४१ करोड रुपैयाँ बढी हो। इन्धन आयातबाट सरकारले ३७ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
इन्धनसँगै वनस्पति तथा अन्य घ्यु–तेलको आयातमा ८० अर्ब ८२ करोड रुपैयाँ विदेशिएको छ। यसमध्ये कच्चा सोयाबिन तेलको आयात मात्रै ६२ अर्ब ८१ करोड रुपैयाँ बराबरको छ। यही अवधिमा नेपालबाट ६१ अर्ब ३४ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ।
कच्चा तेल आयात गरेर प्रशोधनपछि निर्यात गर्ने प्रवृत्तिले नेपालको निर्यात संरचना र स्वदेशी मूल्य अभिवृद्धिको अवस्थालाई समेत उजागर गर्छ। त्यसैगरी सवारी साधन तथा पार्टपुर्जामा ६७ अर्ब २८ करोड र मेसिनरी तथा पार्टपुर्जामा ५२ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको छ।
कृषिजन्य वस्तुको आयात प्रतिस्थापनमा पनि ठूलो सम्भावना छ। धान, मकै, गहुँ, दलहन, फलफूल, तरकारी, खानेतेलका लागि आवश्यक कच्चा पदार्थ तथा पशुपन्छीजन्य उत्पादनमा स्वदेशी उत्पादन बढाउन सकिन्छ।
त्यस्तै औद्योगिक कच्चा पदार्थ, जुत्ता, कपडा, फर्निचर, निर्माण सामग्री र विद्युतीय उपकरणको स्वदेशी उत्पादन विस्तार गर्न सके आयातमा निर्भरता घटाउन सकिन्छ।
निर्याततर्फ भने सोयाबिन तेलपछि कार्पेट, अलैंची, जुट, सूर्यमुखी तेल र पाम तेल प्रमुख छन्। चार महिनामा तीन अर्ब ८९ करोडको कार्पेट, तीन अर्ब ४४ करोडको अलैंची र तीन अर्ब ३१ करोडको जुट निर्यात भएको छ।
व्यापार घाटा न्यूनीकरणका लागि सरकारले आयात प्रतिस्थापनसँगै निर्यात प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। कृषिजन्य वस्तुको उत्पादन पनि बढाउनु पर्छ। स्वदेशी उत्पादनलाई सहुलियतपूर्ण कर्जा, कर छुट, प्रविधि हस्तान्तरण, गुणस्तर प्रमाणीकरण, भण्डारण र बजार सुनिश्चितताको व्यवस्था गर्न आवश्यक छ।
निर्यातयोग्य वस्तुको उत्पादन, प्रशोधन र बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्दै भारत र चीनबाहेकका अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच विस्तार गर्नुपर्ने चुनौती छ। उत्पादनमूलक उद्योगको विकास, कृषि आधुनिकीकरण र निर्यातमा मूल्य अभिवृद्धि बढाउन सके मात्रै नेपालको वैदेशिक व्यापारमा देखिएको असन्तुलन घटाउन सकिन्छ।
प्रकाशित: १० मंसिर २०८३ १०:३७ बिहीबार



