सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल संलग्न विभिन्न कम्पनीका संस्थापक सेयरधनीसँग सम्बन्धित विवरण माग गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूको संस्थापनाकालमा संस्थापक सेयर खरिद गर्ने व्यक्ति तथा संस्थासँग आवश्यक कागजातसहित विवरण पेस गर्न आग्रह गरेको हो।
विभागका अनुसार अनुसन्धानको क्रममा अध्ययन प्रयोजनका लागि उक्त विवरण आवश्यक परेको जनाइएको छ।
प्रकाशित सूचनाअनुसार नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स, लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स, प्रोटेक्टिभ इन्सुरेन्स कम्पनी, स्टार माइक्रो इन्सुरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी तथा हिमालयन रिइन्सुरेन्स कम्पनीको स्थापना चरणमा संस्थापक सेयर खरिद गर्ने व्यक्तिहरूसँग विवरण माग गरिएको हो।
विभागले बिमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने प्रक्रियाका क्रममा संस्थापक सेयर खरिदकर्ताले चुक्ता पूँजीबाहेक अतिरिक्त शुल्क अर्थात् प्रिमियमबापत विभिन्न व्यक्ति वा संस्थाको बैंक खातामा जम्मा गरेको रकमसम्बन्धी विवरण आवश्यक परेको जनाएको छ।
सूचनामा कति रकम, कसको नाममा रहेको खातामा, कुन बैंक तथा वित्तीय संस्थाको कुन खातामा जम्मा गरिएको हो भन्ने सम्पूर्ण विवरण स्पष्ट रूपमा उपलब्ध गराउन भनिएको छ।
विभागले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र विभागको कार्यालयमा उपस्थित भई वा आवश्यक कागजातसहित विवरण बुझाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
प्रकाशित: १७ वैशाख २०८३ १४:१४ बिहीबार



