अर्थ

१८ औं संस्करणको ‘नाडा अटो सो’ भदौ ९ देखि

आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा अटो सो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सोमबार पत्रकार सम्मेलन गरि नाडाले यस अटो सोको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।  

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडा स्थापनाको ५० औं वर्ष पुगेको स्वर्ण जयन्तीको अवसरमा आयोजना हुने १८ औं संस्करणको यो अटो सो विगतका वर्षहरूको भन्दा अझ विशेष हुने बताए । उनले विगतमा झै आफ्ना नविनतम उत्पादन र प्रविधिलाई आकर्षक ढंगले प्रदर्शनी गरिने बताए ।  

१८ औं संस्करणको ‘नाडा अटो सो २०२६’ का कार्यक्रम संयोजक अनुप बरालले यसवर्षको अटो सोमा २ सय भन्दाबढी स्टल रहने जानकारी गराउँदै यस अटो सो ले व्यवसायीक सञ्जाल विस्तार गर्ने अपेक्षा गरिएको बताए ।  

उनले ‘उद्योग देखि रोजगारसम्म’ भन्ने मूल नाराकासाथ आयोजना हुने यो प्रदर्शनी स्वर्णउत्सव विशेष संस्करण भएकाले अघिल्ला प्रदर्शनीहरू भन्दा धेरै राम्रो हुने बताए ।  

यस अटो सोको मुख्य उदेश्य सम्पूर्ण अटोमोटिभ इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउनु आगन्तुकलाई बजारमा उपलब्ध नविनतम् उत्पादन प्रविधि र नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु भएको जानकारी गराउँदै बरालले यस अटो सो मा २३ वटा पेसेन्जर कार पिसिभी भेइकल, १७ वटा ब्राण्डका लाइट कर्मसियल भेइकल, १३ वटा ब्राण्डका २ पांग्रे १० वटा वित्तीय संस्था एवं विमा सेवा प्रदायकहरू र ७० वटा अटोमोटिभ पार्टपूर्जा तथा उत्पादनहरूको प्रदर्शनी गरिने बताए ।  

यस अटो सोको विशेष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स रहेको छ । ६ दिनसम्म चल्ने यस प्रदर्शनीमा अन्य सेवा टायर लगायतको स्टल पनि रहने नाडाले जनाएको छ । नाडाकाअनुसार यस प्रदर्शनीमा  विभिन्न जानकारीमूलक कार्यक्रम पनि हुने छ ।  

यस नाडा अटो सो मा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्था र व्यवसायिक प्रतिष्ठानहरूको सहभागिता रहनेछ । यस प्रदर्शनीले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि र सेवाहरू सार्वजनिक गर्ने अवसर प्रदान गर्ने नाडाले जनाएको छ ।

विगतका वर्षहरूमा जस्तै दशैं सुरु हुनुभन्दा केही साता अघि क्यालिन्डरकै रूपमा आयोजना हुँदै आएको ‘नाडा अटो सो’ मा  यसपटक पनि हजारौं सर्वसाधारण, अटोमोबाइल व्यवसायी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।

नेपालको अटोमोबाइल बजार विद्युतीय सवारीसाधन (ईभी) तर्फ तीव्र रूपमा आकर्षित भइरहेका बेला आयोजना हुने यस ‘नाडा अटो सो २०२६’ लाई नयाँ प्रविधि, नयाँ ब्रान्ड र नयाँ व्यवसायिक अवसरहरूको प्रदर्शन गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको नाडाले जनाएको छ ।

प्रकाशित: १ भाद्र २०८३ २१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App