स्याङ्जाको गल्याङ नगरपालिका-१० छहरामा अवस्थित ऐतिहासिक एवं धार्मिक महत्वको सिद्ध गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।
पहाडको खोँचमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण यस गुफामा धार्मिक र पर्यटकीय सम्भावना उच्च भए पनि प्रचार नहुँदा पर्यटक भित्र्याउन सकिएको छैन।
सिद्ध गुफा मन्दिर व्यवस्थापन समितिका ९० वर्षीय अध्यक्ष पिताम्बर खनालका अनुसार गुफाभित्र गाईका थुन, शङ्ख, मादल र मौलो लगायतका प्राकृतिक आकृतिहरू स्पष्ट देख्न सकिन्छ।
गुफाको बाहिरपट्टि मनोरम छहरा झरिरहेको छ। वर्षौँ पहिले गोठालाहरूले पहाडको भित्रपट्टि गुफा पत्ता लगाएपछि सिद्धको शक्ति मानेर पूजाआजा सुरु गरिएको थियो। वि.सं. २०५६ मा स्थानीयले देउसीभैँसी खेलेर सङ्कलन गरेको रकमबाट हालको मन्दिर निर्माण गरिएको थियो।
गुफा परिसरमा विवाह, व्रतबन्ध र पूजापाठ हुने गरे पनि गाउँमा युवापुस्ताको कमीका कारण पर्यटकीय गतिविधि अपेक्षाकृत रूपमा बढ्न सकेको छैन।
मन्दिरसम्म पुग्न दुई लाख रूपैयाँको लागतमा पदमार्ग निर्माण गरिएको छ भने गण्डकी प्रदेश सरकार, वडा कार्यालय र स्थानीयको लागत साझेदारीमा पौवासमेत निर्माण गरिएको छ।
गल्याङ-१० का वडाध्यक्ष मुक्तिप्रसाद खनालले ऐतिहासिक महत्व भए पनि सिद्ध गुफाको प्रचारप्रसारमा कमी भएको स्वीकार गरे। गुफाको व्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन सके स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै पर्यटकीय गतिविधि चलायमान हुने उनले बताए।
प्रकाशित: २८ श्रावण २०८३ २१:५९ बिहीबार


-600x400.jpg)
