अर्थ

नेपाल रिपब्लिक मिडियाको सञ्चालक समिति अध्यक्षमा शोभा ज्ञवाली

नेपाल रिपब्लिक मिडिया लिमिटेडको सञ्चालक समिति अध्यक्षमा शोभा ज्ञवाली चयन भएकी छन् । रिपब्लिक मिडियाको बुधबार काठमाडौंमा सम्पन्न पाँचौं वार्षिक साधारणसभाले पाँच सदस्यीय सञ्चालक समिति चुनेको हो । सञ्चालकमध्येबाट ज्ञवाली अध्यक्ष भएकी हुन् ।

साधारणसभाले सञ्चालक समितिमा ज्ञवाली, बालकृष्ण अधिकारी, मदन अर्याल र श्रीधर पोखरेल चयन गरेको थियो । पाँच सदस्यीय समितिमा कार्यकाल बाँकी नै रहेका रोमनाथ घिमिरेले निरन्तरता पाएका छन् ।

साधारणसभा सम्पन्न भएलगत्तै बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई अध्यक्ष चयन गरेको हो । रिपब्लिक मिडियाका निवर्तमान अध्यक्ष विनोदराज ज्ञवालीले बदलिँदो परिस्थितिमा नेतृत्व हस्तान्तरण आवश्यक रहेको र नयाँ नेतृत्वले यो मिडियालाई अगाडि बढाउने दृढता व्यक्त गरे ।

मिडिया उद्योगमा चार दशकभन्दा लामो योगदान गरेका उनले पारदर्शिता, निष्पक्षता, प्रभावकारिता र विचारमार्फत नागरिकलाई सुसूचित गर्नुपर्ने बताए । यो उद्देश्यबाट मिडिया आजका दिनसम्म पनि कहीं कतै विचलित नभएको र अब पनि नहुने विश्वास उनले व्यक्त गरे ।

आमसर्वसाधारणका माध्यमबाट मिडियाको नेतृत्व गराउने आफ्नो चाहना रहेको प्रस्ट पार्दै उनले सबै कुरामा नैतिक, पारदर्शिता र गुणस्तरीय पत्रकारितालाई आधारशिला बनाएर अगाडि बढ्दै जाने वाचासमेत गरेको बताए ।

नयाँ नेतृत्वलाई मिडियाको जिम्मेवारी हस्तान्तरण गरेपछि उनलाई सञ्चालकहरूले दोसल्ला ओढाएर र माला लगाइदिएर आभार प्रकट गरेका थिए । उनले अध्यक्षता हस्तान्तरण गरेर नयाँ नेतृत्वलाई अगाडि बढ्न प्रेरित गरेको क्षणमा उपस्थित सेयरधनी र सञ्चालकहरूले उच्च सम्मान प्रकट गरेका थिए ।

निवर्तमान अध्यक्ष ज्ञवालीले पहिले आफू कार्यरत संस्था छाडेर नेपाल रिपब्लिक मिडिया स्थापनाका गौरवपूर्ण दिनको चर्चासमेत गरे । त्यो बेला कार्यालयसमेत नहुँदा पाँचतारे होटलमा बसेर त्यहींबाट काम थालनी गरेको तथा पहिलो दिनबाटै सहकर्मीहरूलाई पारिश्रमिक दिएर अगाडि बढेको स्मरण उनले गरे । पछिल्ला वर्षहरूमा भूकम्प, नाकाबन्दी, कोभिड–१९ हुँदै जेनजी आन्दोलनसम्मको कठिन परिस्थिति आउँदा पनि हिम्मत नहारी मुलुकको दायित्व सम्झेर आफू मिडियामा क्रियाशील भएको उनले बताए ।

नवनिर्वाचित अध्यक्ष ज्ञवालीले मिलेर अगाडि बढ्दा नै उपलब्धि हासिल हुने र आगामी दिन पनि उज्ज्वल हुने विश्वास व्यक्त गरिन् । उनले साधारणसभा र सञ्चालक समितिले आफूलाई दिएको विश्वास गुम्न नदिने बताइन् । नेपाल रिपब्लिक मिडिया एउटा संस्था मात्र नभई समाजप्रतिको उत्तरदायित्व बोकेको सार्वजनिक संस्था रहेको उनले बताइन् ।

समाजको अपेक्षा र राष्ट्रको हितलाई केन्द्रमा राखेर नेतृत्व अगाडि बढ्ने प्रतिबद्धता उनले गरिन् । प्राप्त जिम्मेवारीलाई नम्रता, दृढता र पूर्ण प्रतिबद्धताका साथ बहन गर्ने तथा संस्थाको विश्वसनीयतालाई अझै बजबुद मनाएर अगाघि बढ्ने उनले बताइन् ।

प्रकाशित: ३० पुस २०८२ १६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App