अर्थ

लुम्बिनीमा अपेक्षित हुन सकेन रोपाइँ

आधा असार हुन लाग्दा लुम्बिनी प्रदेशका जिल्लामा अपेक्षित रोपाइँ हुन सकेको छैन। लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार विगतमा मध्य असारसम्म ५० प्रतिशत हाराहारी रोपाइँ हुने गरेकोमा अहिले त्यस्तो हुन सकेको छैन। प्रदेशका १२ वटै जिल्लामा अपेक्षित रोपाइँ हुन नसकेको हो।

लुम्बिनी प्रदेशका १२ जिल्लामा खेतीयोग्य जमिन ६ लाख ७९ हजार ६ सय १३ हेक्टर छ। कुल खेतीयोग्य जमिनमध्ये तीन लाख एक हजार तीन सय ७२ हेक्टरमा धान खेती गरिन्छ। धान खेती हुँदै आएको जमिनमध्य ३९ हजार १२७.८१ हेक्टरमा रोपाइँ भएको जानकारी मन्त्रालयका सूचना अधिकारी हरिप्रसाद पण्डितले दिए। यसको अर्थ हो अहिलेसम्म प्रदेशभित्र १२.९८ हेक्टरमा रोपाइँ भएको छ। प्रदेशका १२ जिल्लामध्य दुईमा अहिलेसम्म रोपाइँ हुन नसकेको मन्त्रालयको तथ्यांक छ। १२ जिल्लामध्य सबैभन्दा बढी ६६ हजार २६५ हेक्टरमा धान खेती हुने कपिलवस्तुमा रोपाइँ नै हुन नसकेको तथ्यांक मन्त्रालयसँग छ।

यसैगरी ३३ हजार ७८० हेक्टरमा धान खेती हुने बाँकेबाट पनि रोपाइ भएको तथ्यांक प्राप्त नभएको मन्त्रालयले जनाएको छ। ‘जिल्लागत रुपमा केही दिनअघि संकलित तथ्यांकअनुसार कपिलवस्तु र बाँकेमा रोपाइँ भएको छैन’, मन्त्रालयका सूचना अधिकारी पण्डितले भने, ‘अन्य जिल्लामा भने रोपाइँ सुरु भएको छ, चलिरहेको छ।’ उनका अनुसार कपिलवस्तु र बाँकेमा बर्सेनि रोपाइँ ढिला हुन्छ। ‘कपिलवस्तु र बाँकेमा साउन पहिलो, दोस्रो सातातिर मात्रै रोपाइँ हुन्छ’, पण्डितले भने।

प्रदेशमा कपिलवस्तुपछि धेरै धान खेती हुने रुपन्देहीमा अरु जिल्लामा भन्दा बढी रोपाइँ भएको छ। ६३ हजार ५५० हेक्टरमा धान खेती हुने गरेको रुपन्देहीमा १२ हजार ११० हेक्टरमा रोपाइँ भइसकेको छ, जुन २० प्रतिशत हो। त्यस्तै बर्दियामा नौ हजार ४६३ हेक्टरमा रोपाइँ भएको छ। बर्दियामा ५० हजार १५० हेक्टरमा धान खेती हुन्छ। यस आधारमा बर्दियामा १८.८६ हेक्टरमा रोपाइँ भएको तथ्यांक मन्त्रालयसँग छ। नवलपरासी जिल्लामा आठ हजार ४४तजष्कचतथाष्खभ.८ हेक्टरमा रोपाइँ भएको छ। नवलपरासीमा कुल खेतीयोग्य जमिन ३९ हजार चार सय सात हेक्टरमध्ये २० हजार आठ सय ८७ हेक्टरमा धान खेती हुन्छ। प्रदेशको पहाडी जिल्ला पाल्पामा ५३ हजार ४५४ हेक्टर खेतीयोग्य जमिन छ। जसमध्ये ७ हजार २८७ हेक्टरमा धान खेती हुन्छ। पाल्पामा अहिलेसम्म १०९.३ हेक्टरमा रोपाइँ भएको तथ्यांक मन्त्रालयसँग छ।

गुल्मीमा ९८.११ हेक्टरमा रोपाइँ भएको छ। गुल्मीमा ४७ हजार २८५ हेक्टर खेतीयोग्य जमिनमध्ये ६ हजार ५४१ हेक्टरमा धान खेती लगाइन्छ। अर्घाखाँचीमा अहिलेसम्म ३४२ हेक्टरमा रोपाइँ भएको छ। अर्घाखाँचीमा २६ हजार ३०१ खेतीयोग्य जमिनमध्य ६ हजार ७६० हेक्टरमा धान खेती हुन्छ।

तीन हजार ७३ हेक्टरमा धान खेती गरिने रोल्पामा एक हजार ७६ हेक्टरमा रोपाइँ भएको छ। रोल्पामा ७८ हजार ३८१ हेक्टर खेतीयोग्य भूमि छ। ३६ हजार दुई सय हेक्टरमा धान खेती हुने गरेको दाङमा दुई हजार १७२ हेक्टरमा रोपाइँ गरिएको छ। दाङ ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिन छ। त्यस्तै प्युठानमा ४३ हजार ८४५ हेक्टर खेतीयोग्य जमिन छ, जसमध्ये ६ हजार ५२५ हेक्टरमा धान खेती लगाइन्छ। प्युठानमा अहिलेसम्म करिब पाच हजार तीन सय ५० हेक्टरमा रोपाइँ सकिएको छ। रुकुम पूर्वमा ५३.१ हेक्टरमा रोपाइँ भएको छ, जहाँ ४४तजष्कचतथाष्खभ हेक्टरमा धान खेती गरिन्छ। बर्दियामा ९ हजार ४६३ हेक्टरमा रोपाइँ भएको छ। बर्दियामा ५० हजार १५० हेक्टर क्षेत्रफलमा धान खेती लगाइन्छ।

मन्त्रालयका अनुसार सिँचाइ हुने क्षेत्रमा रोपाइँ धमाधम भैरहेको छ। तर आकाशे पानीको भरमा रोपाइँ हुने क्षेत्रमा सुक्खाका कारण रोपाइँ गर्न सकिएको छैन। किसान आकाशे पानी अर्थात् वर्षाको पखाईमा छन्। यस पटक धेरै किसानले धानको ब्याडसमेत ढिला राखेको मन्त्रालयका सूचना अधिकारी पण्डितले जानकारी दिए। ‘मौसम विभागले वर्षा हुने केही ढिला हुने सूचना प्रवाह गर्दै आएको थियो’, पण्डित भन्छन्, ‘सोही सूचनाका आधारमा पनि किसानले केही ढिला तयार हुने गरी ब्याड राखेका छन्। यसर्थ रोपाइँ पनि केही ढिला हुने देखिन्छ।’

विगतका वर्षमा लुम्बिनी प्रदेशका जिल्लामा असार १५ सम्म झण्डै ५० प्रतिशत रोपाइँ हुने गरेको तथ्यांक छ। यस वर्ष पनि असार मध्यसम्म रोपाइँ सोही हाराहारीमा पुग्ने आकलन मन्त्रालयको छ। मन्त्रालयका सूचना अधिकारी पण्डितले मौसम प्रणाली चाँडै सक्रिय भयो रोपाइँ दर ह्वात्तै बढ्ने बताए। रुपन्देहीको तिलोत्तमा– १५ पत्थरडाँडाका किसान दुवा चौधरीले असार लागेपछि रोप्न पाइएला भनेर जेठको पहिलो साता नै बिउ राखेको तर दोस्रो सातासम्म पनि रोपाइँको सुरसार नभएको बताए। ‘दुईचार दिनमा पानी परे राम्रै हुन्थ्यो बिउ पछायो (छिप्पियो) भने फल राम्रो लाग्दैन’, चौधरीले भने। किसानहरूले बाली लगाउने बेला बर्सेनि यस्तो समस्या भोग्दै आएको दुखेसो उनले गरे। ‘हामी किसानको समस्या कसले सुन्छ ? रोप्ने बेलामा न पानी हुन्छ न त मल। अहिले त ट्याक्टर भाडा पनि बढेको छ’, दुवाले भने। 

प्रकाशित: १३ असार २०८३ ०९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App