अर्थ

‘उद्यमबाटै समृद्धि र रूपान्तरण सम्भव’

मुलुकको आर्थिक विकास र समृद्धिका लागि दक्ष युवा जनशक्तिलाई स्वदेशमै टिकाइराख्न साना लगानीमा आधारित स्टार्टअप व्यवसायको प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको सहकार्यमा स्टार्टअप समिट नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्र निर्माणमा स्टार्टअपहरूको भूमिका’ विषयक कार्यक्रमका वक्ताले दक्ष युवा जनशक्तिका लागि स्वदेशमै उद्यमशीलताको वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको बताए।

त्रिवि केन्द्रीय पुस्तकालय सभा हलमा आयोजित कार्यक्रममा स्टार्टअप (नवउद्यम) को सम्भावना, नवप्रवर्तन (इनोभेसन), लगानी नीति र युवा उद्यमशीलता प्रवर्द्धनमा बृहत् छलफल गरियो। सहभागीले युवालाई नवीन सोचसहित आवश्यक नीति, वित्तीय पहुँच, प्राविधिक सहयोग र परामर्श उपलब्ध गराउन सके स्वदेशमै रोजगारी र उद्यमका नयाँ अवसर सिर्जना हुने धारणा व्यक्त गरे।

कार्यक्रममा त्रिविका उपकुलपति प्राध्यापक डा. भोला थापाले उच्च शिक्षा केवल कक्षाकोठामा किताबको ज्ञान हस्तान्तरण गर्ने माध्यममा सीमित हुन नहुनेमा जोड दिए। उनले नवीन सोच, अनुसन्धान र उद्यमशीलतालाई विश्वविद्यालय तथा राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने बताए। थापाले काठमाडौं विश्वविद्यालय (केयु) लाई नेपालको सफल स्टार्टअप सोच र नवप्रवर्तनको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गरे। उनले केयु त्रिविका प्राध्यापकहरूको नयाँ सोच र नवप्रवर्तनको परिणामस्वरूप स्थापना भएको बताउँदै आफू पनि त्यही विश्वविद्यालयको उत्पादन भएको स्मरण गरे।

‘आजको स्टार्टअपको गतिलो उदाहरण काठमाडौं विश्वविद्यालय हो। कक्षाकोठामा किताबमा भएको ज्ञान शिक्षकमार्फत विद्यार्थीमा बाँडेर मात्र उच्चशिक्षाको उद्देश्य पूरा हुँदैन,’ उपकुलपति थापाले भने, ‘युवा नयाँ सोचलाई विश्वविद्यालय र राज्यले समर्थन गर्नुपर्छ। त्यसबाट सुख, सुस्वास्थ्य र समृद्धिको आधार निर्माण हुन्छ।’

थापाले विश्वका धेरै मुलुकले सन् २००० देखि नै नगरपालिका तहमा नवप्रवर्तन केन्द्र स्थापनासँगै विश्वविद्यालयसँग सहकार्य गरी दक्ष जनशक्ति उत्पादन गर्ने अभ्यास सुरु गरेको स्मरण गरे। आफू पनि त्यही वातावरणबाट अघि बढेको बताउँदै उनले विद्यार्थीलाई नवीन सोचका साथ उद्यमशीलतामा लाग्न आग्रह गरे। ‘स्टार्टअप सुरु गर्न ठुलो लगानी आवश्यक पर्दैन। राम्रो आइडिया भए स्वदेशमै थोरै लगानीबाट पनि सफल उद्यमी बन्न सकिन्छ,’ उनले भने।

मेकानिकल इन्जिनियर थापा नर्वेबाट जलविद्युत्मा विद्यावारिधि हुन्। उनले आफूले काठमाडौं विश्वविद्यालयमा कार्यरत रहँदा पाँच वटा स्टार्टअप कम्पनीमा लगानी गरेको अनुभव सुनाए। तीमध्ये एक कम्पनी अहिले सफल र स्थापित व्यवसायमा रूपान्तरण भएको उनले सुनाए।

उनले विश्वविद्यालयका प्राध्यापकले विद्यार्थीलाई नवप्रवर्तन र स्टार्टअपतर्फ प्रेरित गर्दै शिक्षण, अनुसन्धान र मार्गदर्शनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनले यो कार्यक्रमले आफूलाई थप उत्साहित बनाएको बताए। ‘विद्यार्थीसँग साक्षात्कार गर्न पाउँदा खुसी लागेको छ,’ थापाले भने, ‘युवाको सिर्जनशील सोचलाई विश्वविद्यालय, सरकार र निजी क्षेत्रले प्रोत्साहन गर्न सके देशको आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव छ।’

कार्यक्रममा स्टार्टअप समिट नेपालकी अध्यक्ष शोभा ज्ञवालीले राज्यले आवश्यक लगानी बढाउन नसकेका कारण युवा ‘ब्रेनड्रेन’ भइरहेको तथ्य उजागर गरिन्। उनले ठुलो लगानीभन्दा पनि सोच ठुलो भए प्रत्येक व्यक्ति सफल उद्यमी बन्न सक्ने विश्वास व्यक्त गरिन्। राज्यले हालसम्म स्टार्टअपका लागि करिब २ अर्ब रुपैयाँ लगानी गरेको छ। जसबाट १७ सयले लाभ लिएको सरकारी तथ्यांक छ।

‘आजको विश्वमा प्रतिस्पर्धा प्राकृतिक स्रोतको मात्र होइन ज्ञान, प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको हो,’ ज्ञवालीले भनिन्, ‘हिजोका दिनमा ठुलो उद्योग भएका राष्ट्रहरू शक्तिशाली मानिन्थे। आज  ठुलो सोच, नवीन विचार र प्रविधिमा आधारित राष्ट्रले विश्वको नेतृत्व गरेका छन्।’ 

उनले थपिन्, ‘नेपाल पनि युवा भएको देश हो। विडम्बना बर्सेनी ठुलो संख्यामा नेपाली युवा अध्ययन र रोजगारीको सिलसिलामा विदेश पसिरहेका छन्। हामीले यस्तो नेपाल निर्माण गर्नुपर्छ, जहाँ विदेश जानु एउटा विकल्प होस् बाध्यता होइन। यसका लागि सरकारले समयमै स्टार्टपमा लगानी वृद्धि गरी ब्रेनड्रेन रोक्नुपर्छ।’

व्यवस्थापनसहित अन्य संकायका विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा ज्ञवालीले यस्तो कार्यक्रम देशका सातै प्रदेशमा आयोजना गरी युवालाई स्वदेशमै उद्यमी बन्ने वातावरण सिर्जना गर्ने लक्ष्य रहेको जानकारी गराइन्। कार्यक्रममा सफल उद्यमीहरूको वृत्तचित्र प्रस्तुतिबाट युवा विद्यार्थी उत्साहित भए। त्यस्तै इन्जिनियर उमेशकुमार गुप्ताले युवाको स्वदेशमै उद्यमप्रति बढ्दै गएको स्टार्टअपको सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरे।

‘कार्यक्रम उपलब्धिमूलक रह्यो’
कार्यक्रममा सहभागी विद्यार्थीले यसले आफूहरूको उद्यमशील सोचलाई थप स्पष्ट र सशक्त बनाएको बताएका छन्। उनीहरूका अनुसार कार्यक्रम उपलब्धिमूलक रह्यो। स्टार्टअप स्थापना, कानुनी प्रक्रिया, नवप्रवर्तन र व्यवसाय सञ्चालनबारे व्यावहारिक ज्ञान मिलेको उनीहरूले बताए। एमबिए दोस्रो सेमेस्टरकी विद्यार्थी मनिषा गिरीले कार्यक्रममा सहभागी भएपछि भविष्यमा कुन क्षेत्रमा र कसरी स्टार्टअप सुरु गर्ने भन्ने विषयमा आफ्नो सोच थप स्पष्ट भएको बताइन्।

उनले भनिन्, ‘स्टार्टअप समिटमा उद्यम दर्ताको कानुनी प्रक्रिया र व्यवसाय सुरु गर्ने आधारभूत विषयमा स्पष्ट जानकारी पाएँ।’ उनले विश्वविद्यालयको पाठ्यक्रममा समावेश स्टार्टअपसम्बन्धी विषयलाई अझ व्यावहारिक बनाउनुपर्ने सुझाव दिँदै नवीन सोच र योजना भए ठुलो लगानीबिनै सफल उद्यमी बन्न सकिने बताइन्। त्यस्तै एमबिए विद्यार्थी सुवेक्षा दासले भविष्यमा सफल उद्यमी बन्ने लक्ष्यसहित समिटमा सहभागी भएको बताइन्। सूचना प्रविधि उद्यम गर्ने योजना रहेको सुनाउँदै उनले समिटबाट नवप्रवर्तन, स्टार्टअप र उद्यमशीलतासम्बन्धी जानकारी प्राप्त गरेको बताइन्।

व्यवस्थापन संकायकी विद्यार्थी सुस्मिता अधिकारीले कृषि क्षेत्रमा आफ्नो नवीन सोचलाई व्यवसायमा कसरी रूपान्तरण गर्ने भन्ने उद्देश्यले समिटमा सहभागी भएको बताइन्। उनले सानैदेखि कृषि कार्य नजिकबाट हेर्दै आएको सुनाउँदै किसानका उत्पादनले उचित बजार मूल्य नपाउँदा पीडा हुने  बताइन्। ‘त्यही समस्यालाई समाधान गर्ने उद्देश्यले डिहाइड्रेटेड फलफूल र तरकारीसम्बन्धी व्यावसायिक अवधारणामा काम गर्ने सोच बनाएकी छु,’ उनले भनिन्।

प्रकाशित: २२ श्रावण २०८३ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App