अर्थ

काठमाडौंका यी क्षेत्रमा शनिबार र आइतबार ५ घण्टा विद्युत् अवरुद्ध हुने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा आज (शनिबार) र भोलि (आइतबार) विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणले सूचना जारी गर्दै विद्युत् वितरण प्रणालीको नियमित मर्मतसम्भार (प्रिभेन्टिभ मेन्टिनेन्स), ११ केभी एक्सएलपीई केबल जडान तथा चार्जिङ कार्यका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाएको हो।

प्राधिकरणका अनुसार शनिबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म भिमसेनस्थान फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

यस अवधिमा त्रिपुरेश्वर, टेकु, टेकु चोक, त्रिपुरेश्वर चोक, १२ नम्बर वडा कार्यालय, सरस्वती स्कुल, ब्रह्मटोल, प्लान्चोक भगवती, २१ नम्बर वडा कार्यालय, ह्युमत, जैसिदेवल, चिकंमुगः, अकोनारायण र भिमसेनस्थानलगायत आसपासका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

त्यस्तै, आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म अर्को फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् सेवा बन्द हुनेछ।

आइतबार प्रभावित हुने क्षेत्रहरूमा टेकु प्रहरी परिसर, फोहोरमैला क्षेत्र, परोपकार, रामघाट, कालिमाटी, कंकेश्वरी, दमाईटोल, इन्द्रायणी, ताम्सीपाखा, नरदेवी अस्पताल, क्षेत्रपाटी, असन, बालकुमारी, इन्द्रचोक, भेडासिंह, किलागल, मयलवारी, पुष्पलाल पार्क, ढल्कु, कालधारा, धोबीचौर, पकनाजोल, कुस्लेचौर, पिपुल्स कलेज, ठहिटी र कुवाहाललगायत क्षेत्र रहेका छन्।

प्राधिकरणले तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् सेवा सुचारु गरिने जनाएको छ। विद्युत् अवरुद्ध हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

प्रकाशित: ५ मंसिर २०८३ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App