बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डमा यात्रा सहज बनिसकेको छ। पोखरा–मुग्लिनको पोखरादेखि आँबुखैरेनीसम्मको खण्डलाई दुईभागमा बाँडेर बिस्तार गर्न थालिएको थियो। राजमार्ग सहज भएसँगै यात्रा अवधि पनि छोटिएको छ।
पोखरा–आँबुखैरेनी (८० किमि) लाई दुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार गर्न थालिएको थियो। राजमार्गका ठाउँठाउँमा ठुला आकारका पुल बनाउने काम नसकिएपनि यात्रुले निकै नै कम दूरीमा मात्र पुरानो सडकमा यात्रा गर्नुपर्ने अवस्था छ। दुइतर्फी कालोपत्रे नसकिएको केही भागमा एकतर्फी (दुइलेन) कालोपत्रे गरेर भएपनि यात्रालाई सहज बनाउने प्रयास गरिरहेको आयोजनाले बताएको छ।
पूर्वी खण्डको राजमार्ग कालोपत्रे गर्ने काम केही महिना अघि नै सकिएको थियो। पूर्वी खण्डको दमौलीमा ठुलो आकारको पुलको काम मात्र पुरा हुन बाँकी रहेको छ। पश्चिममा पनि धेरैजसो खण्ड कालोपत्रे भइसकेकोले यात्रा सहज बनिसकेको पोखरा–मुग्लिन आयोजनाको पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्ण कुँवरले जानकारी दिए।
पश्चिम खण्डका आयोजना प्रमुख कुँवरका अनुसार २६.५ किलोमिटर खण्ड दुइतर्फी नै कालोपत्रे भएको छ। त्यस्तै १०.३ किलोमिटर खण्डमा एकतर्फी (दुइलेन) कालोपत्रे भएको छ। पश्चिमखण्डको ३९ किलोमिटरमध्ये ३६.८ किलोमिटर खण्डमा अहिले कालोपत्रे सडकमा यात्रा गर्न पाइने कुँवरले जानकारी दिए। ‘पुलको खण्डबाहेक बढीमा १३ सय मिटरमात्र कालोपत्रे हुन बाँकी छ। यात्रुले यात्रामा सहज अनुभूति गरिसकेका छन,’ उनले भने।
कुँवरका अनुसार विजयपुल पुलको खण्ड, लेखनाथको पोखरा विश्वविद्यालयको नजिकैको भाग, डाँडाकोनाक चौकीको खण्डमा मात्र कालोपत्रे गर्न बाँकी छ।
‘यात्रुलाई यात्रामा सहज होस भनेर राजमार्गलाई कालोपत्रे गर्नमा ध्यान दिएका छौ। सडक कालोपत्रे हुनासाथ यात्रुलाई सहज भईहाल्छ,’ उनले भने, ‘हाम्रा लागि अझै धेरै नै काम बाँकी छ। तर, यात्रुका लागि भने सहज भईसकेको छ। यात्रुको गुनासो अब कम हुनेछ।’ सबैगरि ५७ प्रतिशत भौतिक प्रगति भएको पनि उनले बताए।
कुँवरका अनुसार पश्चिमखण्डको काम आगामि पुससम्म सक्नैपर्छ। त्यो बेलासम्म मुख्य सडकको काम सकेर सर्भिस लेन बाँकी रहने उनले बताए। ‘पुससम्म सबै काम पुरा त हुँदैन। तर, मुख्य सडकको काम भने पुरा हुनेछ। अहिले पनि कालोपत्रेको तयारीको काम भईरहेको छ,’ कुँवरले भने। पश्चिम खण्डको ३९ किलोमिटर मध्ये १९ किलोमिटर सडक ६ लेन पर्छ। बाँकी खण्ड मात्र चारलेनको रहनेछ। पश्चिमखण्डको अधिकांश भाग सहरी क्षेत्र पर्ने भएकोले पनि ६ लेनको सडक बन्ने उनले बताए।
‘एकतर्फी भएपनि दुइलेन भएकोले दोहोरो सवारी चलेका छन। त्यसैले पश्चिम खण्डमा यात्रा गर्दा पनि अब बढीमा डेढकिलोमिटर मात्र कालोपत्रे नभएको वा पुरानो सडकमा यात्रा गर्नुपर्छ, यात्रा निकै नै सहज भईसकेको छ,’ कुँवरले भने, ‘यात्रुलाई हिडडुलमा सहज होस भनेर अहिले मुख्यरुपमा कालोपत्रेलाई नै जोड दिइएको छ।’ आगामि पुससम्म सबै खण्डमा कालोपत्रे सक्ने लक्ष्यका साथ काम भईरहेको उनले बताए। पश्चिम खण्डका लागि २०२५ डिसेम्बर ३१ सम्म म्याद रहेकोले त्यो बेलासम्म केही झिनामसिना बाहेक सबै काम सकिने पनि कुँवरले बताए।
पर्यटकीय राजधानी पोखरालाई मुख्य सहरसँग जोड्ने पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड स्तरोन्नतीको क्रममा भत्काएर लथालिंग पारिएको थियो। तिब्रताका साथ काम नहुँदा लथालिंग उक्त सडकको यात्रा सकसपूर्ण बनेको थियो। यात्रुलाई सहजै यात्रा गर्न मिल्नेगरि राजमार्गको कालोपत्रेलाई प्राथमिकता दिएको सडक आयोजनाले बताएका छन्।
भताभुंग हुँदा सडक यात्रा असहज भएको भन्दै निकै नै आलोचना हुने गरेको थियो। राजमार्गको सकसपूर्ण अवस्थाका कारण गण्डकी प्रदेशको पर्यटन क्षेत्रले नोक्सान खेप्नुपरेको पर्यटन क्षेत्रको गुनासो गर्दै आएका थियो। कहिले स्थलगत यात्रा गराउँदै त कहिले ज्ञापनपत्र बुझाउँदै व्यावसायीले सडक निर्माण कम्पनिलाई छिटोगरि काम सक्न दवाव पनि दिँदै आएका थिए। पोखरा–आँबुखैरेनीको करिब तीनघण्टाको यात्रा सडक बिस्तार सुरु भएसँगै दोब्बर समयमा मात्र पुरा हुने अवस्था थियो। तर, राजमार्ग सहज भएसँगै तीनघण्टाको समय अझै छोटिएको छ।
निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीनवर्षभित्र राजमार्ग बिस्तार भईसक्नुपर्ने हो। पूर्विखण्डका लागि २०२१ अप्रिलमा र पश्चिमखण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो।
राजमार्गको पूर्वि खण्ड बिस्तारका लागि चाइना कम्यूनिकेसन कन्स्ट्रक्सन कम्पनिले ठेक्का पाएको थियो। पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनि अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनिले जिम्मा लिएको छ। एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुईलेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो।
१३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भईरहेको छ। आयोजनाका अनुसार पूर्वि खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ। यो रकम सडक बिस्तारका लागि मात्र हो। त्यसबाहेक तनहुँको दमौलीस्थित मादीनदीमाथि पुल बनाउन १ अर्ब २० करोड र पोखरामा सेतीनदीमाथि पुल बनाउन थप १ अर्ब रुपैयाँ लाग्नेछ। सबैगरि १५ अर्ब रुपैयाँ भन्दा बढी रकम राजमार्ग बिस्तारमा खर्च हुँदैछ।
प्राविधिकहरुका अनुसार यो राजमार्गको बजार क्षेत्रमा छ लेनको फराकिलो सडक हुनेछ। बजार खण्ड ४१ देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ चार लेनको हुनेछ। त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुनेछ। दायाँबायाँ नाली र बीचमा तीनमिटरको फराकिलो डिभाइडर पनि यसैमा बनाइने आयोजनाले बताएको छ। डिभाइडरलाई सौन्दर्यकरण पनि गरिनेछ। अहिले गण्डकी प्रदेशलाई राजधानी र तराई जोड्ने पृथ्वी राजमार्ग मुख्य हो।
प्रकाशित: १० भाद्र २०८२ १७:१७ मंगलबार



