अर्थ

राजस्व चुहावटको जिम्मेवार कार्यालय प्रमुख: अर्थमन्त्री वाग्ले

कुनै पनि कार्यालयबाट हुने राजस्व चुहावटको जिम्मेवारी सम्बन्धित कार्यालयको हुने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् ।  

आर्थिक नगरी वीरगंजमा शुक्रबार अर्थमन्त्रालय मातहतका कार्यालयका कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै आर्थिक चुहावट रोक्न र राजस्व संकलनमा कार्यालय प्रमुखहरुले जिम्मेवारीपूर्वक लाग्नुपर्ने निर्देशन दिएका छन् । अर्थमन्त्री वाग्लेले पहिलेको जस्तो सरकार नभएको बताउँदै चेतावनीको भाषामा कार्यालय प्रमुखहरुसित भने – जुन कार्यालयबाट राजस्व चुहावट हुन्छ, सोही कार्यालयका कार्यालय प्रमुखले नै जिम्मेवारी लिनुपर्ने हुन्छ ।  

अर्थमन्त्री वाग्लेले वीरगंजस्थित एकीकृत सुरक्षा जाँच चौकीबाट यात्रु शाख संचालन गर्न केही समयमै प्रक्रिया अगाडि बढाइने बताएका छन् । तेस्रो मुलुकका पर्यटकलाई वीरगंजबाटै अध्यागम सेवा दिने व्यवस्था मिलाइने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले तेस्रो मुलुकका पर्यटकलाई एकीृत सुरक्षा जाँच चौकीबाट र भारतीय पर्यटकलाई पुरानै भन्सार नाकाबाट आवागमन गराइने बताएका छन् ।  

अर्थमन्त्री वाग्लेले वीरगंज भन्सारको यार्डमा आयातकर्ताले जाँचपास गराई नलगी थन्किएर बसेका मालवाहक कन्टेनरबारे मन्त्रालयले छिट्टै टुंगो लगाउने पनि बताएका छन् । यसका लागि समिति गठन गरी उपयोगविहीन भएर बसेका कन्टेनरको व्यवस्थापन गरिने उनले जानकारी दिएका छन् ।

त्यसै गरी, भन्सार यार्डमा जाँचपास गराई नलगेका सवारीसाधनबारे पनि मन्त्रालयले छिट्टै निकास दिने अर्थमन्त्री वाग्लेको भनाइ छ । त्यस्ता सवारी साधन प्रक्रिया पूरा गरी आवश्यक सरकारी कार्यालयलाई दिने वा लिलाम प्रक्रियामा लैजाने तयारी भइरहेको अर्थमन्त्रीको भनाइ छ ।

प्रकाशित: २० चैत्र २०८२ २१:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App