नेप्से परिसूचक सोमबार सामान्य अंकले बढेको छ।
सोमबार नेप्से परिसूचक ५.०१ अंक बढेर २९३६.५६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.२८ अंक, फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले बढेको छ।
नेप्से बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा झण्डै ८ अर्बले घटेको छ। सोमबार ३४२ स्टकको १ लाख ५६ हजार ३८१ पटकको कारोबारमा १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार रुपैयाँबराबरको ३ करोड ८० लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार नेप्सेमा २३ अर्ब ५९ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
सोमबार सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत तथा फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको कुमारी बैंकको ६७ करोड २३ लाख रुपैयाँबराबरको कारोबार भयो भने शिवम् सिमेन्ट्सको साढे ६० करोड र नेशनल हाइड्रोपावर कम्पनीको ५७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो।
१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूह, जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढ्दा बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।
प्रकाशित: ९ चैत्र २०८२ १५:२८ सोमबार



