धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक २ दशमलव ३१ अङ्कले बढेर २ हजार ५७४ दशमलव ६५ विन्दुमा पुगेको हो।
बजारमा झिनो सुधार देखिए पनि कारोबार रकम भने करिब चार अर्ब नजिक पुगेको छ। बिहीबार विभिन्न कम्पनीका १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ रुपैयाँमा खरिद-बिक्री भएका छन्।
नेप्सेका साथै अन्य प्रमुख सूचकहरू पनि सकारात्मक देखिएका छन्। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ अङ्कले बढेर ४६२ दशमलव ०४ विन्दुमा पुगेको छ।
त्यस्तै, फ्लोट सूचक शून्य दशमलव २२ अङ्कले बढेर १७७ दशमलव ६८ र सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव २९ अङ्कले बढेर १५५ दशमलव ६५ विन्दुमा पुगेको छ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूह घटेका छन्। बजारमा कुल १४० कम्पनीको शेयर मूल्य बढ्दा १२७ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आजको कारोबारमा कुथेली बुखरी स्मल हाइड्रोपावर, स्नो रिभर र लक्ष्मी भ्यालू फन्ड लगायतका लगानीकर्ताले धेरै कमाएका छन्।
अर्कोतर्फ, आरबिबी म्युचुअल फन्ड, घलेम्दी हाइड्रोपावर र मैबुलुङ इनर्जी लगायतका लगानीकर्ताले भने गुमाएका छन्।
प्रकाशित: २२ आश्विन २०८३ १५:५६ बिहीबार