अर्थ

कृषक र उपभोक्ता जोड्दै हाटबजार

गुर्भाकोट नगरपालिका–३ धारापानीकी कमला बुढा हरेक बिहान आफ्नो बारीमा उत्पादन भएको तरकारी डोकोमा बोकेर नजिकैको बोटेचौर बजार पुग्थिन्। तरकारी बिक्री गर्न डोको बोकेर पसल र घर डुल्नुपर्थ्याे। कहिले पानीले भिजाउँथ्यो, कहिले चर्को घामले। ‘डोकोमा पसल–पसल र घर–घर धाउनुपर्दा दुःख धेरै हुन्थ्यो, आफ्नो उत्पादनको मूल्य पनि आफैं गर्न पाइन्नथ्यो’, उनले भनिन्, ‘डोकोमै तरकारी बिक्री गरेर १२ वर्ष बिताएँ।’

आजभोलि कमलाको पिठ्युँबाट डोकोको भारी हटेको छ। नगरपालिकाले तोकिदिएको स्थानमा बसेर तरकारी बिक्री गर्छिन्। ‘पहिले अर्काको घर र पसलमा पुगेर तरकारी बिक्री गर्न जानुपर्थ्याे’, उनले खुसी हुँदै भनिन्, ‘अहिले ग्राहक म बसेकै ठाउँमा आउनुहुन्छ।’

धारापानी क्षेत्र तरकारी र फलफूलका लागि प्रख्यात छ। कमलाले तरकारी बिक्री गरेरै बोटेचौर बजारमा जमिन किनेकी छन्। नगरपालिकाले साप्ताहिक हाटबजार सुरु गरेपछि धारापानीको तरकारी ग्राहकसम्म पुग्न सहज भएको छ। कृषकले आफ्नो उत्पादनको मूल्य आफैं निर्धारण गर्न पाएका छन्।

गुर्भाकोट नगरपालिकाले सातामा चार पटक हाटबजार लगाउने गरेको छ। प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बोटेचौर बजारमा र दोस्रो र चौथो शनिबार मेहलकुना बजारको खैरेनीमा हाटबजार लगाउने गरेको छ।

नगरपालिकाले सुरु गरेको हाटबजारले आफूहरूलाई राहत मिलेको धारापानीका कृषक अम्मरबहादुर पुनले बताए। ‘हाटबजार सुरु भएपछि पहिलो पटक हामीले आफ्नो उत्पादनको मूल्य आफैं गर्न पाएका छौं’, पुनले भने, ‘हामी कृषकका लागि योभन्दा धेरै खुसी के हुन्छ र !’

पुन धारापानी कृषि तथा पशुपालन सहकारी संस्थाका सञ्चालक पनि हुन्। यो सहकारीमा एक सय जना कृषक आवद्ध छन्। हरेक साता सहकारीले कृषकको तरकारी संकलन गरेर हाटबजारसम्म पुर्‍याउँछ। बचेको तरकारी छिन्चु, वीरेन्द्रनगरलगायतका बजारमा पठाउँछ।

‘हाटबजार सञ्चालन हुनुअघि तरकारी संकलन गरेर सिधै मण्डीमा पठाउँथ्यौं तर मूल्य हामीले निर्धारण गर्न पाउँदैनथ्यौं’, उनले भने, ‘अहिले त्यो समस्या छैन्, धेरैजसो तरकारी हाटबजारबाटै बिक्री हुन्छ, बाँकी रहेको मात्रै मण्डीमा पठाउँछौं।’

हाटबजार सुरु भएपछि स्थानीय ग्राहकलाई पनि सहज भएको छ। मेहलकुनाकी लक्ष्मी वलीले हाटबजारमा ताजा र सस्तो तरकारी पाइने बताइन्। ‘मण्डीमा भन्दा सस्तो पाइन्छ, रोजेर ल्याउन पनि पाइन्छ,’ उनले भनिन्, ‘हामीजस्ता ग्राहकलाई हाटबजार लागेपछि सहज भएको छ।’  

गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले स्थानीय उत्पादन र उपभोक्तालाई जोड्नका लागि हाटबजार सुरु गरिएको बताए। उनले कृषकले आफैंले उत्पादन गरेको वस्तुको आफैं मूल्यांकन गर्न पाउने अवस्था सिर्जना गर्न हाटबजार प्रभावकारी भइरहेको बताए। ‘हाटबजार सञ्चालनमा आएपछि डोकोमा बोकेर तरकारी बिक्री गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ’, मेयर पुनले भने, ‘कृषक र ग्राहकबिच प्रत्यक्ष सम्बन्ध जोडिएको छ।’

उनले साताका चार शनिबार दुई ठाउँमा हाटबजार सञ्चालनमा ल्याइएको बताउँदै यसलाई हरेक दिन सञ्चालनमा ल्याउने गरेर तयारी भइरहेको बताए। ‘अहिले मेहलकुना र बोटेचौरमा मात्रै हाटबजार सञ्चालन गरिरहेका छौं’, उनले भने, ‘यसलाई अन्य स्थानीय बजारमा पनि थप्दै जाने तयारी छ ।’ उनले भेडाबारी र गुमीमा चाँडै हाटबजार सञ्चालनमा ल्याइने बताए।

प्रकाशित: ३० कार्तिक २०८३ ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App