अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का नेपालस्थित कन्ट्री डाइरेक्टर नुमान ओजकान र स्टार्टअप समिट नेपाल–२०२६ की अध्यक्ष शोभा ज्ञवालीबीच भेटवार्ता भएको छ।
आईएलओको नेपालस्थित कार्यालयमा भएको भेटमा नेपालमा स्टार्टअप प्रवर्द्धन, बदलिँदो विश्व श्रम बजार, नेपाली श्रमिकको भविष्य र श्रमलाई उद्यमशीलतासँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो।
भेटका क्रममा कन्ट्री डाइरेक्टर ओजकानले नेपालमा उद्यमशीलता र युवालाई अवसरसँग जोड्ने उद्देश्यले स्टार्टअप समिट नेपालले अघि बढाइरहेको अभियान महत्वपूर्ण रहेको उल्लेख गर्दै यसप्रकारका कार्यक्रम आवश्यक र प्रेरणादायी भएको बताए।

उनले आफ्नो अनुभव र ज्ञान आदान–प्रदान गर्न आफू तत्पर रहेको जनाउँदै स्टार्टअप तथा उद्यमशीलताका क्षेत्रमा काम गरिरहेका अन्य सम्बन्धित संस्था तथा सरोकारवालासँग समेत समिटलाई जोड्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष शोभा ज्ञवालीले नेपालका शिक्षित तथा दक्ष युवामा क्षमता भए पनि स्वदेशमै अवसर सिर्जना गर्ने र उद्यमशीलतामा लाग्ने वातावरण तथा जानकारीको अझै कमी रहेको बताइन्।
यही अवस्थालाई परिवर्तन गर्न स्टार्टअप समिट नेपाल–२०२६ ले सातै प्रदेशका साथै विभिन्न विश्वविद्यालय तथा कलेजसम्म पुगेर युवालाई स्टार्टअप के हो, कसरी सुरु गर्ने, सरकार तथा अन्य निकायबाट के–कस्ता सहयोग र अवसर उपलब्ध छन् र नेपालमै सम्भावना कसरी खोज्ने भन्ने विषयमा प्रत्यक्ष जानकारी दिने अभियान अघि बढाएको र यसको थालनी त्रिभुवन बिस्वबिद्यालयबाट शुरु भैसकेको उनले स्पष्ट पारिन्।

ज्ञवालीले कृषि उत्पादनदेखि प्रविधिसम्म नेपाललाई दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै युवालाई नेपालमै रहेका सम्भावना र अवसरबारे जानकारी दिनुपर्नेमा जोड दिइन्। “नेपालमा पनि अवसर छ भन्ने विश्वास युवामा जगाउन आवश्यक छ,” उनले भनिन्, “स्टार्टअप र उद्यमशीलताबारे जानकारी शहरमा मात्र होइन, तल्लो तहसम्मै पुग्नुपर्छ।”
नेपालबाट ठूलो संख्यामा युवा रोजगारीका लागि विदेशिइरहेको अवस्थामा स्वदेशमै उद्यम, रोजगारी र अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्न यस्ता अभियानको आवश्यकता अझ बढेको ज्ञवालीको भनाइ थियो। उनले स्टार्टअपलाई केवल व्यवसाय सुरु गर्ने विषयका रूपमा नभई युवाको सीप, श्रम र सिर्जनशीलतालाई राष्ट्र निर्माणसँग जोड्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने धारणा राखिन्।
भेटवार्तामा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक तथा स्टार्टअप समिट नेपाल–२०२६ का कीनोट स्पिकर इन्जिनियर उमेशकुमार गुप्ता, स्टार्टअप समिट नेपाल–२०२६ का निर्देशकद्वय बासुदेव न्यौपाने र नारायणप्रसाद ओलीको समेत सहभागिता थियो।
प्रकाशित: १ भाद्र २०८३ १९:१० सोमबार



