अर्थ

सरकार भन्छः विपद्पछिको पर्यटन पूनरुत्थानको बाटोमा

व्यावसायी भन्छन्ः तथ्यांकले देखाएपनि व्यावसायिक लाभ छैन

अन्नपूर्ण आधारशिविर पदमार्गको पदयात्रामा रहेका विदेशी पाहुना। तस्बिरः नागरिक <br>

सन् २०२६ को पछिल्लो सातमहिना (अप्रिल–अक्टोवर) मा ६ लाख ८० हजार २ सय ४ जना विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिए। तीमध्ये सबैभन्दा बढि पाहुना (१ लाख ३२ हजार ८ सय १४) गत अक्टोवरमा भित्रिएका थिए। सन् २०२५ को अप्रिल–अक्टोवर अवधिमा भने नेपालमा ६ लाख ४५ हजार ५ सय ५८ पर्यटक आएका थिए।

पर्यटनमन्त्री खडकराज पौडेल (गनेस)ले सोमबार सामाजिक सञ्जालमार्फत नेपालमा बिपत्का बाबजुत पनि अघिल्लो वर्षको तुलनामा यो पटक विदेशी पर्यटक आगमन बढेको दावि गरेका छन्। सामूहिक प्रयासको परिणाम स्वरुप नेपालको पर्यटन क्षेत्र विपत्तिबाट पुनरुत्थानतर्फ लागेको पौडेलको तर्क छ। उनका अनुसार सन् २०२५ का अप्रिल–अक्टोवरको तुलनामा २०२६ को त्यही अवधिमा भित्रिएका पाहुनाको संख्या ५.३७ प्रतिशतले वृद्धि भएको छ।  

‘मासिक तथ्यांक हेर्दा केही उपलब्धि अझ उत्साहजनक छन्। मे महिनामा अघिल्लो वर्षको तुलनामा १८.५ प्रतिशत र जुनमा १९.५ प्रतिशत वृद्धि भएको छ। सेप्टेम्बरमा १२.१ प्रतिशतको वृद्धि हासिल भएको छ। अक्टोबरको आगमन संख्या २०२६ कै अहिलेसम्मको सबैभन्दा धेरै मासिक आगमन हो,’ पौडेलले भनेका छन्, ‘अघिल्लो वर्षको अक्टोबरको तुलनामा यो पटकको आगमन संख्या ३.४ प्रतिशतले बढी हो। यो वृद्धिमा युरोपेली र अमेरिकी पर्यटकको संख्या अझ प्रेरणादायी छ।’  

मन्त्री पौडेलका भनाईमा विदेशी पर्यटक आगमनको यो वृद्धि सामान्य परिस्थितिमा हासिल भएको होइन। जलवायु परिवर्तनको असरले निम्त्याएको आकस्मिक र भयावह बाढी, त्यसपछिका प्राकृतिक विपत्ति र सामाजिक द्वन्द्वका बाबजुत नेपालको पर्यटन क्षेत्रले पुनरुत्थानको गति समात्दै गरेको संकेत भएको उनले बताएका छन्।  

‘विपत्तिका बेला मात्रै होइन, त्यसपछि प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघीय मञ्चमा भएको सम्बोधनपछि नेपालप्रति अन्तर्राष्ट्रिय रुपमा बढेको चासोलाई पनि हामीले पर्यटन प्रवर्द्धनको अवसरमा बदल्ने प्रयास गर्यौं,’ उनले भनेका छन, ‘यो काम हतारमा वा अनियन्त्रित प्रचार गरेर होइन, संयमित र रणनीतिक ढंगले गर्यौं।’

नेपालबारेका तथ्य, सूचना र सकारात्मक सामग्रीलाई सामाजिक सञ्जाल, सर्च इन्जिन र कृत्रिम बौद्धिकता (एआइई) प्रणालीसम्म सहज रुपमा पुग्ने वातावरण बनाउन काम गरेको उनले बताएका छन्। टिकटक लगायतका अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्मसँग संवाद, सहकार्य र साझेदारी अघि बढाएको पनि मन्त्री पौडेलले बताएका छन्। अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका मञ्चमा आफैं उपस्थित भएर र प्रतिनिधि पठाएर नेपालको वास्तविक पर्यटन सम्भावना विश्वसामु पुर्याउने काम गरेको मन्त्री पौडेलको दावि छ।  

सरकारले बाढीपछि ‘नेपाल कलिङ, आइएमइन नेपाल, नेपाल सेफ’ जस्ता अभियानमार्फत नेपाल खुला छ, नेपाल स्वागत गर्न तयार छ र विपत्तिबाट प्रभावित सीमित क्षेत्रबाहेक देशका अधिकांश पर्यटन गन्तव्य पर्यटकका लागि खुला छन् भन्ने सन्देश विश्वभर पुर्याउन सरकारले प्रयास गरेको पनि उनले बताएका छन्।  

‘पर्यटन पूर्नरुत्थानका लागि सबैभन्दा ठूलो सहयोग निजी क्षेत्रको रह्यो, पर्यटन भातृत्वलाई संवाद, सहकार्य र संमयतापूर्ण प्रवर्द्धन प्रयोग गर्न निजी क्षेत्रले ठूलो कसरत गर्यो,’ उनले भनेका छन, ‘यति ठूलो विपत्तिले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्यटन पनि एक थियो। ट्रेकिङ र हिमाल आरोहणको मुख्य सिजनमै भएको क्षतिका बाबजुत निजी क्षेत्रले धैर्यता, एकता र प्रतिवद्धता देखायो।’  

सरकारले तथ्यांकलाई उपलब्धिको अन्तिम बिन्दुका रुपमा नभई यो क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने प्रेरणाका रुपमा लिएको पनि मन्त्री पौडेलले उल्लेख गरेका छन्  ‘पर्यटन पुनरुत्थानको यात्रा अझै बाँकी छ। हवाई सुरक्षा सुधार, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटकीय पूर्वाधार, गन्तव्यको विविधीकरण, गुणस्तरीय सेवा र प्रभावकारी अन्तर्राष्ट्रिय प्रचारमा हामीले अझ धेरै काम गर्नुपर्नेछ,’ उनले भने, ‘यो पुनरुत्थान कुनै एक व्यक्ति, सरकार वा मन्त्रालयको प्रयासबाट मात्र सम्भव भएको होइन। यो सबैको साझा प्रयासको परिणाम हो।’

पर्यटन मन्त्री पौडेलले तथ्यांकका आधारमा विपद्का बाबजुत पनि नेपालमा यो वर्ष विदेशी पर्यटक आगमन बढेको दावि गरेको भएपनि पर्यटन व्यावसायी भने मन्त्री पौडेलको भनाईसँग सहमत छैनन्। बारम्बारका विपद्का कारण पर्यटक आउन नपाएको, आउन चाहेका पर्यटकले पनि विपद्को त्रासका कारण नेपालसम्मको यात्रा रद्द गरेको वा अन्यत्र मोडिएको, अन्तर्राष्ट्रिय स्तरमा भएका युद्धले गर्दा नेपालसम्मको हवाई यात्रा प्रभावित बनेकोले मन्त्री पौडेलले दावि गरेजस्तो पर्यटनको व्यापार नभएको उनीहरुको भनाई छ।

‘भदौं भन्दा अगाडिको ब्यापार यो वर्ष निकै नै राम्रो थियो। भारतीय र बंगलादेशी पर्यटकका कारण पर्यटन क्षेत्र चलायमान बनेको थियो। तर, त्यसपछि भने पाहुना आगमन सुस्ताएको हो,’ पर्यटन व्यावसायी बासु त्रिपाठी भन्छन, ‘रसुवा–भोटेकोसीको बाढीले गर्दा ९० प्रतिशत पाहुनाले यात्रा रद्द गरेका हुन। पोखरा आउने राजमार्ग पनि लामो समय अवरुद्ध भएको र त्यसले गर्दा पनि पाहुना अगमन प्रभावित भएको हो।’ सरकारले अध्यागमनको तथ्यांकको आधारमा आगमन बढेका वा घटेको दावि गरेपनि व्यावसायिक हिसाबले भदौ पछिको समयमा पर्याप्त लाभ लिन नसकेको उनले सुनाए।  

‘केही महिना मात्र पर्याप्त पर्यटक आएर ब्यापार चल्दैन। पर्यटन चल्नका लागि बाह्रैमास पाहुना भित्रिनुपर्छ। यो अवधिमा पाहुना आएको तथ्यांकले देखाएको भएपनि ब्यापारका हिसाबले अघिल्लो वर्षको जस्तो सुखद् रहेन,’ उनले भने, ‘यस्तो हुनुमा नेपालको विपद्को कारण मात्र पर्याप्त होईन, मध्यपूर्वको युद्धले पनि पर्यटक आगमन प्रभावित भएको हो।’  

रसुवा–भोटेकोसीको बाढीका कारण ठूलो आकारमा पर्यटक योपटक गुमाएकोले पर्यटनमन्त्रीले दावि गरेजस्तो अहिले नै पूनरुत्थान नभएको उनले बताए। ‘बरु भदौ अघिका महिना बंगलादेशी र भारतीय पाहुनाले गर्दा हामीलाई पर्याप्त लाभ मिलेको थियो। रसुवा–भोटेकोसी पछि असोजको बाढीपहिरोले बढि प्रभावित बनाएको हो,’ उनले भने।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा पनि व्यावसायिक दृष्टिकोणले यो वर्ष व्यवासायीले सोचेजस्तो लाभ लिन नसकेको बताउँछन्। सरकारले भनेको तथ्यांकले व्यावसायसँग मेल नखाने पनि उनले बताए। ‘सरकारले तथ्यांक भनेपछि अविश्वास गर्ने कुरै रहेन। तरपनि सोचेजस्तो व्यापार हुन सकेन। सिजनमा जस्तो लाभ लिनुपर्ने हो, त्यो हुन सकेन,’ सापकोटाले भने, ‘सिजनको सुरुवातमै पर्यटकलाई तर्साउनेगरि विपद्का घटना भए। त्यत्ति मात्र नभई बारम्बार राजमार्ग अवरुद्ध हुनेगरि विपद्का घटनाले निरन्तरता पाए। त्यसले गर्दा पनि यो वर्ष व्यावसाय वृद्धि हुन सकेन।’  

व्यावसायिक दृष्टिकोणबाट पनि राज्यले हेर्नुपर्ने उनले बताए। ‘चाँडबाँडका कारण गैर आवासीय नेपाली पनि आएका छन्। उनीहरुबाट पर्यटनमा खासै लाभ पुग्दैन। संख्यात्मक आँकडा देखिन्छ, तर, गैरआवासीय नेपालीबाट हामीलाई फाइदा हुँदैन,’ उनले भने, ‘विपद्बाट पर्यटन क्षेत्र जसोतसो माथि उठ्ने प्रयास गर्दैछ, तर, अहिले नै लाभ लिएको होईन। अहिले नै पुर्नरुत्थान भयो भनेर हामी हौसिने बेला भएको छैन।’

प्रकाशित: ३० कार्तिक २०८३ १५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App