अर्थ

२५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार कञ्चनपुरका एक उपभोक्ताले जितेका छन्। 

कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन्। 

शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिमा आयोजित कार्यक्रममा विभागले उपहार योजनाको नतिजा सार्वजनिक गरेको हो। विभागका अनुसार विजेताले साउन ७ गते उक्त स्टोरबाट सामान खरिद गरेका थिए। विजेताको कुपन नम्बर ००७३१५२५४४९३ रहेको छ। 

उपहार रकममा प्रचलित कानुनअनुसार २५ प्रतिशत कर कट्टी हुने भएकाले विजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।  विभागका महानिर्देशक भीष्मराज भूसालका अनुसार करदाताको गोपनीयता कायम राख्न बम्पर उपहार विजेताको नाम सार्वजनिक गरिएको छैन। 

साथै, साउन १ देखि १५ गतेसम्मको कारोबारका आधारमा अन्य १५ जना उपभोक्ताले पनि कर कट्टीपछि एक–एक लाख रुपैयाँ नगद उपहार जितेका छन्। उनीहरूको परिचय पनि गोपनीयताका कारण खुलाइएको छैन।  

प्रकाशित: २२ श्रावण २०८३ १०:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App