मध्यपूर्वमा डेढ सातादेखि जारी तनावका कारण नेपाली बजारमा ग्यास अभाव देखिएको छ। मागअनुसार खाना पकाउने ग्यास नपाएपछि उपभोक्ता घण्टौं लाइनमा बस्न बाध्य छन्। अहिले ग्यास बिक्रेताकहाँ दिनहुँ उपभोक्ताको दिनहुँ लामो लाइन लाग्ने गरेको छ। बिक्रेताले मागका आधारमा ग्यास दिन सकेका छैनन्।
ग्यास नपाइने त्रासमा उपभोक्ताले स्टक गर्न थालेपछि अभाव देखिएको नेपाल आयल निगमको दाबी छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नियमित रूपमा ग्यास आयात भइरहेको बताए पनि उपभोक्ताले मागअनुसार ग्यास पाएका छैनन्। ग्यास लिन घण्टौं लाइनमा बस्नुपरेको वनस्थलीस्थित ग्यास बिक्रेता डिपोमा भेटिएका प्रमोद रिजालले बताए । ‘तीन–चार दिनमा ग्यास लिने पालो आयो,’ उनले भने, ‘बिक्रेतामा आएपछि पनि घण्टौं लाइनमा बस्नुपर्यो।’
अहिले उपत्यकाका ग्यास बिक्रेता डिपोमा लामो लाइन देख्न सकिन्छ। यसले बजारमा ग्यासको हाहाकार भएको संकेत गर्छ। आइओसीबाट ग्यास नियमित आए पनि उपभोक्ताले ग्यासका सिलिन्डर थुपार्न थालेकाले समस्या भएको निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले बताए। ‘आयात घटेको छैन,’ उनले भने, ‘सबैले स्टक राख्न थालेपछि बजारमा माग ह्वात्तै बढ्दा अभाव देखियो।’
निगमको व्यवस्थापकीय कमजोरीले ग्यास अभाव भएको उपभोक्ता अधिकारकर्मीको आरोप छ। निगमको कमजोरीले बजारमा सप्लाई चेन बिग्रिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए। ‘मध्यपूर्वमा समस्यादेखि पनि निगमले बजारमा हस्तक्षेप गरेर वितरण प्रणाली व्यवस्थित बनाउन सकेन,’ उनले भने।
अभावको मौका छोपेर ग्यास उद्योगीले गुणस्तरहीन सिलिन्डर बजारमा पठाउन थालेको तिमल्सिनाले बताए। ‘उद्योगीले हाइड्रोलिक टेस्ट परीक्षण नगरेका सिलिन्डर पनि बजारमा पठाउन थालेका छन्,’ उनले भने, ‘गुणस्तरमा पनि प्रश्न उठेको छ।’
निगमका अनुसार सामान्य अवस्थामा जस्तै अहिले पनि आइओसीबाट सरदर दैनिक एक सय बुलेट ग्यास आइओसीमा लोड भएर आयात भइरहेको छ। आइओसीबाट ल्याएको ग्यास यहाँका उद्योगले रिफ्युल गरेर बजारमा पठाउने गरेका छन्। बजारमा दैनिक एक लाख सिलिन्डर गएको निगम एलपिजी विभागका प्रमुख विनीतमणि उपाध्यायले बताए। ‘सामान्य अवस्थामा जाने जति सिलिन्डर उद्योगले बजारमा पठाएका छन्,’ उपाध्ययाले भने, ‘तर बजारमा अभाव देखियो।’
बजारमा लाइन बढ्न थालेपछि निगमले आधा सिलिन्डर पठाउने निर्णय गरेको छ। नेपालमा ५९ वटा ग्यास उद्योगले आइओसीबाट ल्याएको ग्यास रिफ्युलिङ गरेर बजारमा पठाउने गरेका छन्। अहिले बजारमा करिब एक करोड ४४ लाख सिलिन्डर छन्। प्रतिसिलिन्डरमा १४.२ किलो ग्यास हुन्छ। अब उद्योगीले ७.१ किलो ग्यास भरेर बजारमा पठाउने भएका छन्। प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ९१० रुपैयाँ थियो। अब आधा सिलिन्डर भर्ने भएपछि नौ सय ५५ रुपैयाँमा बिक्री गर्नुपर्छ।
निगमले एलपी ग्यास आधा सिलिन्डर मात्रै उपलब्ध गराउने भएको छ। निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शुक्रबारदेखि आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको हो।
निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार ग्हयास आपूर्तिमा समस्या नभए पनि उपभोक्ताले आवश्यकताभन्दा बढी परिमाणमा ग्यास सिलिन्डर भण्डारण गर्न थालेका कारण यसो गर्नुपरेको हो। ‘एलपी ग्यास अभाव नै हुने गरी आपूर्ति घटेको छैन तर मध्यपूर्वमा उत्पन्न संकटका कारण उपभोक्तताले यहाँ पनि ग्यास अभाव हुने हो कि भनेर भण्डारण गर्न चाहेको देखिन्छ,’ उनले भने।
आधा सिलिन्डर ग्यास वितरण गर्ने निर्णय शुक्रबारदेखि नै लागु हुने र अर्काे सूचना जारी नभएसम्म यही प्रक्रिया चलिरहने भट्टले बताए।
भट्टले आइओसीले आपूर्ति घटाइएको भनेर औपचारिक रूपमा जानकारी नगराएको बताए। निगमले आइओसीमार्फत एलपी ग्यास र पोट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ। ‘कुनै दिन थोरै बुलेट ग्यास आउँदा अर्काे दिन थप बुलेट आउने गरेका छन्,’ भट्टले भने।
उनका अनुसार नेपालको दैनिक माग धान्न हरेक दिन ९५ बुलेट ग्यास आउनुपर्छ र नेपाली बजारमा प्रतिदिन एक लाख १० हजार ग्यास सिलिन्डरको माग हुने गरेको छ। यसअघि २०७२ सालमा भारतले लगाएको नाकाबन्दीका बेला पनि निगमले उपभोक्तलाई आधा सिलिन्डर ग्यास वितरण गरेको थियो।
यसैबिच भारतका केही विश्वविद्यालयले इन्धनको सीमित उपलब्धतालाई ध्यानमा राखेर छात्रावासका भान्छाघरमा परिकार घटाइएको सूचना जारी गरेका छन्। विश्वविद्यालयहरूले विद्यार्थीलाई पठाएको सूचनामा छात्रावासका भान्छामा भुटेतारेका खानाका परिकार निषेध गरिएको जानकारी गराएका छन् तर खानाको पोषणमा कुनै सम्झौता नहुने ती विश्वविद्यालयले जनाएका छन्।
प्रकाशित: २९ फाल्गुन २०८२ ०७:१९ शुक्रबार



