अर्थ

कोरला नाकाबारे चिनियाँ चासो

नाका व्यस्थित गरेर वर्षैभरि चलाउने प्रयासः भन्सार

नेपालको तिब्बत जोड्ने मुस्ताङको एकमात्र कोरला नाकाका पूर्वाधार। तस्बिरः नागरिक

भदौ १० गतेको बाढीले क्षतविक्षत गरेपछि रसुवागढी केरुङ नाका पूर्ण रुपमा बन्द छ। उत्तरी चीनतर्फको तातोपानी नाका पनि त्यही बाढीपछि बन्द गरिएको थियो। यतिबेला नेपाललाई उत्तरतर्फ चीनसँगको ब्यापारिक गतिविधि गराउने एकमात्र नाका मुस्ताङको कोरला बनेको छ। रसुवा र तातोपानी नाका बन्द भएपछि पछिल्लो एकमहिनादेखि नेपालको उत्तरतिरको ब्यापार त्यही कोरलासँग निर्भर छ।  

रसुवा र तातोपानी बन्द भएपछि मात्र महत्व पाएको कोरला नाकाबाट हुँदै आएको ब्यापार पनि पछिल्लो एकसातादेखि बाढीपहिरोका कारण अवरुद्ध छ। नाका क्षेत्रमा कुनै समस्या नरहेपछि कालिगण्डकी करिडोर अवरुद्ध हुँदा आयातनिर्यात पूर्ण रुपमा ठप्प छ। तर, करिडोर खुलाउने प्रयास भइरहेको सडक कार्यालयका प्राविधिकले बताएका छन्।

त्यही कोरला नाकालाई पूर्ण रुपमा कसरी संचालन गर्न सकिन्छ भन्ने बुझ्नका लागि नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहितको टोलीले कोरला नाकाको शनिबार अनुगमन पनि गरेको छ। यसअघि चिनियाँ पदाधिकारीले सिन्धुपाल्चोकको तातोपानी नाकाको अनुगमन गरेका थिए। त्यसपछि कोरला नाका अनुगमन गर्न आएका हुन्। तातोपानी र कोरला नाका अवलोकनपछि मात्र कहाँको नाका संचालनमा ल्याउने भन्ने यकिन हुने चिनियाँ अधिकारीले बताएका थिए।  

‘राजदूत सहितको टिम आउनु भएको हो। नेपाल र चीनलाई जोड्ने एकामत्र कोरला नाकालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने हेर्नका लागि चिनियाँ राजदूतसहितको टिम मुस्ताङ आएको हो,’ मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले भने, ‘राजदूत सहितको टिमले नाका क्षेत्र अनुगमन पनि गरेको हो। त्यसबाहेक राजदूतले हालैको बाढीले क्षतविक्षत पारेको कालिगण्डकी करिडोरलाई संचालन गर्नेबारे पनि जानकारी लिनुभएको हो।’  उनका अनुसार कोरला भन्सारलाई व्यवस्थित बनाउने बारेमा चिनियाँ पदाधिकारीले चाँसो दिएका थिए।

 ‘आयातनिर्यातलाई व्यवस्थित बनाउनेबारेमा छलफल पनि भयो। बाढिपहिरोले बिगारेको कालिगण्डकी करिडोरको बारेमा पनि चिनियाँ टोलीको विशेष चाँसो थियो,’ उनले भने।  

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान अहिले धमाधम कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको छ। चालु आर्थिक वर्षको हालसमम मुस्ताङ भन्सार कार्यालयले ६ अर्ब रुपैयाँ राजस्व पनि संकलन गरिसकेको छ। रसुवागढी र तातोपानी नाका बन्द भएपछि त्यहाँ पुगेका सामान सबै कोरलातिर डाइभर्ट गरिएको थियो। दिनमा ५० कन्टेनर हाराहारीमा अहिले कोरलाबाट सामान आयात हुँदै आएको थियो।

भन्सार कार्यालयका प्रमुख बिदुर चुडालले नेपालका लागि चिनियाँ राजदूत सहितको भ्रमण टोली कोरला नाकालाई व्यवस्थित रुपमा कसरी संचालन गर्न सकिन्छ भन्नेमा केन्द्रीत रहेको बताए। ‘वर्षभरि चौबिसैघण्टा कोरला भन्सार नाकालाई व्यवस्थित रुपमा संचालन गर्न सकिने वा नसकिने भन्नेमा उहाँहरु (दूतावास टिम)को चाँसो थियो। पूर्वाधारको अवस्थाबारेमा पनि उनीहरुले चाँसो राखेका थिए,’ चुडालले भने।  

चुडालका अनुसार दूतावासको टिमले कोरला नाका व्यवस्थापन, नाकालाई चौबिसै घण्टा संचालन गर्नका चूनौती, आवश्यक पूर्वाधार बारमो बढि चाँसो राखेका थिए। ‘चिनियाँ क्षेत्रमा कुनै समस्या छैन। जे जति पूर्वाधार आवश्यक पर्ने हो, ती सबै नेपालतिर मात्र छ,’ उनले भने, ‘नृेपालतिर अझैसम्म व्यवस्थित भईसकेको छैन। पूर्वाधार पनि पर्याप्त छैनन। त्यस्तै कोरला नाकासम्मको पहुँच पनि सहज छैन।’  

नेपालतिर पूर्वाधार अभावमा अझैपनि आयातनिर्यात सहज नभएको व्यावसायीले पनि बताउँदै आएका छन्। चिनियाँ खण्डमा पर्याप्त पूर्वाधार बनिसकेको भएपनि नेपालतर्फ भने अझै पनि अपर्याप्त रहँदा आयातनिर्यातमा समस्या रहेको उनीहरुको भनाई छ।

प्रकाशित: १८ आश्विन २०८३ १४:४७ आइतबार

तिब्बतसँगको कोरला नाका मुस्ताङ