नेपालबाट गत आर्थिक वर्षमा साढे १२ अर्ब रुपैयाँको अलैंची निर्यात भएको छ। यो अहिलेसम्मकै बढी हो। पूर्वी नेपालका पहाडी जिल्लामा अलैंची खेती र उत्पादन धेरै हुन्छ। उत्पादित अलैंची सबैजसो मेची भन्सार कार्यालय भएर निर्यात हुन्छ।
मेची भन्सार कार्यालयका अनुसार आव २०८२/८३ मा १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार रुपैयाँको (६३ लाख ८५ हजार ८७० किलो) अलैंची निर्यात भएको हो।
यो मूल्य आर्थिक वर्ष २०८१/८२ को तुलनामा चार अर्ब ९६ करोड २९ लाख ३३ हजार रुपैयाँ अर्थात् ३९.२७ प्रतिशतले बढी हो। आव २०८१/८२ मा सात अर्ब ६७ करोड ४० लाख ३७ हजार रुपैयाँको (४२ लाख ९४ हजार ५५० किलो) अलैंची निर्यात भएको थियो।
कुन जिल्लाबाट कति अलैंची निर्यात भयो भन्ने यकिन तथ्यांक भने छैन। इलाम उद्योग वाणिज्य संघका इलामबाट अढाइ अर्ब रुपैयाँको अलैंची निकासी भएको अनुमान छ। संघका अध्यक्ष चेतनाथ पौडेलले जिल्ला-जिल्लाको तथ्यांक छुट्याउन जटिल हुने बताए।
प्रायः कोसी प्रदेशका पहाडी जिल्लामा उत्पादन भएको सबै अलैंची झापाको बिर्तामोडमा संकलन भई मेची भन्सारबाट बाहिरिने गरेको व्यापारी बताउँछन्।
गत आवमा उत्पादन र मूल्य दुवै बढेका कारण अलैंचीले ठुलो आकारमा विदेशी मुद्रा आर्जन गरेको हो। नेपाल अलैंची व्यवसायी संघका अनुसार किसानले पनि राम्रो मूल्य पाएका छन्।
‘अहिले अलैंचीको मूल्य पारदर्शी छ, बिर्तामोडको मूल्य मोबाइल एसएमएसमा जसले पनि थाहा पाउने अवस्था छ’, संघका अध्यक्ष दीपक नेपालले भने, ‘त्यसैले किसानले पनि अलैंचीको राम्रो मूल्य पाएका हुन्।’
अघिल्लो आर्थिक वर्ष इलाममा औसतमा प्रतिमन (४० किलो) अलैंची ७० देखि ८० हजार रुपैयाँमा बिक्री भएकोमा गत आव २०८२/८३ मा एक लाख ६ हजार रुपैयाँसम्ममा बिक्री भएको थियो। किसानले अन्य बाली मासेर पनि अलैंची लगाउन थालेपछि उत्पादन बढ्दो क्रममा छ।
नेपालमा भार्लाङ, रामसाई, चिवे, गोलसाई, जिर्मले लगायत जातको अलैंची खेती हुन्छ। इलामका केही किसानले लाखौं रुपैयाँ बराबरका अलैंची बिरुवासमेत बेचेका छन्। धेरै जिल्लामा इलामबाट अलैंचीका बिरुवा लगिएको छ।
प्रकाशित: २८ श्रावण २०८३ ०७:३८ बिहीबार