पोखराको अटोवेज प्रालिले यूरो–६ मापदण्डको भोल्भो आइसर बि–६ लक्जरी बस भित्र्याएको छ। बतास कमर्सियल भेईकल्स प्रालिका लागि गण्डकी प्रदेश, धौलागिरी क्षेत्र तथा चितवनको अधिकृत विक्रेताका रुपमा कार्यरत अटोवेजले गण्डकी प्रदेशमा पहिलो पटक भित्र्याएको अत्याधुनिक गाडी पोखराको स्वीफ्ट होलिडेले खरिद समेत गरिसकेको छ।
पोखरा–काठमाडौं–पोखरा तथा पोखराबाट चितवन र लुम्बिनीसम्म यी गाडी चाँडै सञ्चालनमा आउने संचालकले बताएका छन्। कार्यक्रममा अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले स्विफ्ट होलिडेज प्रालिका प्रबन्धक निर्देशक मिलन नेपाललाई साँचो हस्तान्तरण गरे।
यूरो–६ मापदण्डको यस गाडी वातावरणमैत्री रहेको अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए। उनका अनुसार उन्नत इञ्जिन प्रविधि रहेको यस गाडीले कार्वन उत्सर्जन कम गर्न सघाउ पुग्नेछ भने इन्धन खपत कम हुनुका साथै उच्च सुरक्षा सुविधासमेत प्रदान गर्नेछ।
यसले गुणस्तरीय पर्यटनमा टेवा पुग्ने भन्दै उनले भने, ‘अहिले पोखरा–काठमाडौंको यात्रा असुरक्षित महसुस भइरहेको छ। तर यूरो–६ मापदण्डको यस गाडी अझ सुरक्षित हुन्छन। जसले काठमाडौं–पोखराको यात्रा आरामदायी र सुरक्षित बनाउनेछ भन्नेमा हामी विश्वस्त छौं।’ ४० सिटको यस गाडीले पोखरा–काठमाडौंको यात्रा समय घटाउने दाबी उनले गरे। उनका अनुसार ५ घण्टामै पोखराबाट काठमाडौंपुर्याउनेछ।
प्रतिगोटा १ करोड २६ लाख रुपैयाँ मूल्य पर्ने यूरो–६ मापदण्डको ६ वटा गाडी स्वीफ्ट होलिडेजले खरिद गरेर पोखरा–काठमाडौं सञ्चालन गर्न लागेको उनले बताए। नेपाल भित्राउँदा राज्यले २० प्रतिशत कर छुट दिएको अध्यक्ष पौडेलले जानकारी दिए।
‘दश वर्षसम्म अरुलाई बेच्न नदिने शर्तमा हामीलाई छुट दिइएको हो,’ उनले भने। पाएको छुटका आधारमा यात्रुलाई पनि सहुलियत प्रदान गर्न भाडादर सस्तो गरिएको उनको भनाई छ। उनका अनुसार यूरो–६ मापदण्ड अनुसार करिब २ हजार पर्ने भाडालाई सहुलियतमा हाल १ हजार २ सयमा सेवा दिन लागिएको उनले बताए।
स्वीफ्ट होलिडेजका प्रबन्धक निर्देशक मिलन नेपालले यात्रुको सुविधाका लागि यूरो–६ मापदण्डको गाडी भित्र्याएको बताए। ‘यसले यात्रा आरामदायीसँगै सुरक्षित बनाउँछ,’ उनले भने । कम्पनीले चाँडै पोखरा–चितवन, पोखरा–लुम्बिनीमा समेत दीवा तथा रात्रीकालीन सेवा सञ्चालन गर्ने जनाएको छ।
प्रकाशित: १२ फाल्गुन २०८२ १८:३७ मंगलबार