अर्थ

प्रत्येक नेपालीको थाप्लोमा झण्डै एक लाख ऋण !

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा सरकारको सार्वजनिक ऋणभार २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब रुपैयाँ र बाह्य ऋण १५ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ।

कुल गार्हस्थ उत्पादन (जीडीपी)को आधारमा यस्तो ऋण ४७.१३ प्रतिशत पुगेको देखिन्छ, जसले अर्थतन्त्रमा ऋणको दबाब बढ्दै गएको संकेत गर्छ।

चालु आर्थिक वर्षको सुरुवातमा सरकारको कुल ऋण दायित्व २६ खर्ब ७४ अर्ब रुपैयाँ रहेकोमा पछिल्लो आठ महिनामा मात्रै २ खर्ब ४ अर्ब रुपैयाँले वृद्धि भएको छ।

सरकारले यस आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा फागुनसम्म २ खर्ब ९५ अर्ब रुपैयाँ ऋण उठाइसकेको छ। यस्तै, उक्त अवधिमा २ खर्ब ४२ अर्ब रुपैयाँ ऋण भुक्तानीसमेत गरिसकेको छ।

चालु वर्षभित्रै सरकारले सावा–ब्याज शीर्षकमा ४ खर्ब ११ अर्ब रुपैयाँ तिर्ने लक्ष्य लिएको छ, जसले राजस्व व्यवस्थापनमा थप चुनौती खडा गर्ने देखिन्छ।

नेपालको २०७८ सालको जनसंख्यालाई आधार मान्दा हालको ऋणभार प्रतिव्यक्ति करिब ९८ हजार ६९१ रुपैयाँ पुग्छ, अर्थात् प्रत्येक नेपालीको काँधमा झण्डै एक लाख रुपैयाँ ऋणको भार परेको छ।

प्रकाशित: ३ चैत्र २०८२ १४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App